खर्च विवरण नबुझाउने स्थानीय तहको दोस्रो किस्ताको निकासा रोकियो

धनगढी- कैलालीका स्थानीय तहहरुले चालू आर्थिक बर्षको पहिलो त्रैमासिक खर्चको विवरण कोष तथा लेखा नियन्त्रक कार्यालयलाई नबुझाउँदा दोस्रो किस्ताको निकासा रोकिएको छ।

स्थानीय तहहरुले पहिलो तीन महिनाका लागि निकासा भएको खर्च विवरण समयमै नबुझाउदा दोस्रो किस्ता बाफतको बजेट निकासा कोष तथा लेखा नियन्त्रक कार्यालयले रोकिदिएको जनाएको छ।

पहिलो किस्ताको खर्च विवरण प्राप्त भएपछि मात्रै दोस्रो किस्ताका लागि रकम निकासा गरिने प्रमुख कोष नियन्त्रक लक्ष्मीराज जोशीले बताए ।
पहिलो त्रैमासिक खर्चको विवरण कात्तिकको १ गते सम्म बुझाइसक्नुपर्ने प्रावधान भएपनि १० स्थानीय तहले हालसम्म पनि खर्च विवरण बुझाएका छैनन्।

कोष तथा लेखा नियन्त्रक कार्यालय धनगढीका कोष नियन्त्रक मदनराज पाण्डेयका अनुसार धनगढी उपमहानगरपालिका, भजनी नगरपालिका र जोशीपुर गाउँपालिकाले मात्रै खर्चको फाँटवारी विवरण बुझाएका छन्।

उनीहरुले समेत ढिलो गरी खर्च विवरण बुझाएका हुन्। धनगढी उपमहानगरपालिकाले कात्तिकको अन्तिम हप्तातिर र अन्य दुई स्थानीय तहले मंसिरको पहिलो हप्ता खर्च विवरण बुझाएका हुन्।

कार्यालयले समयमै खर्च विवरण बुझाउन स्थानीय तहलाई ताकेता गर्दै आएको छ। तर, कर्मचारी अभाव लगायतका कारण देखाउँदै जिल्लाका १३ मध्ये १० स्थानीय तहले पहिलो त्रैमासिक खर्चको विवरण बुझाएका छैनन्।

मंसिर १२, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्