सत्ता र संघर्ष

शक्तिशाली युवराजलाई हटाउने भीषण खेल र साउदी राजपरिवारको आन्तरिक संघर्षको विवरण

साउदी अरेबियाको राज परिवारमा आन्तरिक गुट बिस्तार हुँदै गएको छ । भित्रभित्र नै शक्तिशाली क्राउन प्रिन्स (युवराज) मोहम्मद बिन सलमान (एमबिएस) लाई पदबाट हटाउने प्रयास भइरहेका छन् ।

राज दरबारसँग नजिक रहेका स्रोतहरुका अनुसार राज परिवारका केही सदस्यहरुले बनाएको प्रभावशाली गुट एमबिएसलाई हटाएर अरु कोहीलाई ८२ वर्षका राजा सलामनको उत्तराधिकारी बनाउने चाहन्छ ।

तर राजा सलमान आफ्ना प्रिय पुत्र एमबिएसलाई अपदस्त गर्न तयार छैनन् । यहि कारण एमबिएस विरोधी गुट राजा सलमान रहन्जेल शान्त हुने मनसायमा छन् ।

गुटसँग नजिक रहेको एक स्रोतले भनेको छ कि राजा सलमानका एक मात्र जीवित सहोदर भाइ राजकुरमा अहमदलाई राज परिवारका केही सदस्य, सुरक्षा एजेन्सी र केही पश्चिमी देशहरुको समर्थन छ ।

सन् १९५३ देखि ६ दाजुभाइ ले विश्वको अन्तिम र एकमात्र पूर्णतः राजतन्त्रीय शासन व्यवस्था रहेको साउदी अरेबियाको सत्ता सम्हाल्दै आएका छन् ।

यी सबै ६ भाइ आधुनिक साउदी अरेबियाका संस्थापक अब्दुल अजीज अल–ए साउदका छोरा हुन् । यिनीहरुकै शासन कालमा साउदी अरेबियामा पश्चिमी देशका कम्पनीहरुले व्यापक रुपमा तेलको उत्खनन् सुरु गरेका हुन् ।

अमेरिका–साउदी अरेबिया सम्बन्ध


अब्दुल अजीज अल–इ साउदले सन् १९४५ मा रेड सागरमा एक अमेरिकी युद्धपोतमा तत्कालीन अमेरिकी राष्ट्रपति फ्र्यांकलिन रुजवेल्टसँग भेटवार्ता गरेका थिए ।

योसँगै साउदी अरेबिया र अमेरिकाको मित्रताको सिलसिला सुरु भएको हो र अहिले पनि जारी छ ।

साउदी अरेबियाले अमेरिकालाई तेलको तथा अमेरिकाले साउदी अरेबियालाई बिना हस्तक्षेप विपक्षीहरुबाट सुरक्षाको ग्यारेन्टी दिने गरेको छ ।
अब्दुल अजीजका ६४ छोरा र ५५ छोरी थिए । उनको निधनपछि ६४ मध्ये ६ छोराले साउदी अरेबियामा सत्ता चलाए ।

अहिलेसम्म राजा रहेको भाइको निधन भएपछि अर्को भाइले सत्ताको बागडोर सम्हाल्ने परम्परा थियो । तर राजा सलमानले एमबिएसलाई क्राउन प्रिन्स बनाएपछि त्यो क्रम भंग हुने देखिएको छ ।

साउदी अरेबियामा ‘सात सुदेरी’ (राजा अब्दुल अजीजकी एक श्रीमती हस्सा सुदेरीका सन्तान) नामको एक गुट निकै प्रभावशाली मानिन्छ । यिनीहरु नै राज परिवारमा प्रभावशाली सदस्य रहे ।

पछि पारिवारिक झगडाका कारण तुर्की बिन अब्दुल अजीजलाई खानदानबाट हटाइएपछि ६ भाइ यो गुटमा रहे । सन् २०१६ मा तुर्की बिनको निधन भयो । ६ भाइ मध्ये फहद र सलमान राजा बने ।

तुर्की बिनले अहिलेको साउदी राज परिवारको अवस्था इरानका शासक सद्दाम हुसेनको जस्तो हुने बताएका थिए ।

सन् २०१५ मा अब्दुल्लाहको निधन भएपछि उनका भाइ सलमान राजा बने । उनले परम्परालाई तोड्दै आफ्ना कान्छा भाई अहमदको ठाउँमा भाइका छोरा मोहम्मद बिन नईफलाई क्राउन प्रिन्स र ३० वर्षका आफ्ना प्रिय पुत्र मोहम्मद बिन सलमानलाई डेपुटी क्राउन प्रिन्स बनाए ।

त्यसको केही समयपछि मोहम्मद बिन नईफले आफू एमबिएसप्रति सदा जिम्मेवार रहने कसम खाँदै क्राउन प्रिन्सको पद छोडे । यसरी राजा सलमानले परम्परालाई तोड्दै आफ्ना छोरा एमबिएसलाई क्राउन प्रिन्स नियुक्त गरे ।

यो क्रममा उनले आफ्ना प्रतिनिधिमण्डलसँग सल्लाह गरेनन् । यो प्रतिनिधि मण्डलमा साउदी अरेबियाको राजा तथा युवराजको नियुक्ति गर्ने जिम्मेवारी हुन्छ ।

समाचार संस्था रोयटर्सका अनुसार यो प्रतिनिधि मण्डलमा रहेका ३४ सदस्य मध्ये एक प्रिन्स अहमद एमबिएसलाई क्राउन प्रिन्स बनाएको विपक्षमा छन् ।

सन् २०१७ मा सात सुदेरी मध्ये एक राजकुमार अब्दुल रहमानको निधन भयो । यसपछि प्रिन्स अहमद मात्रै सुदेरी तथा राजा अब्दुल अजीजका बाँकी जीवित पुत्र बने राजा सलमान बाहेक ।

राजा सलमान ८२ वर्षका भए भने राजकुरमा अहमद ७६ वर्षका छन् ।

अब अब्दुल अजीजका सन्तान मध्ये राजा सलमान र प्रिन्स अहमदको निधनपछि साउदी राज परिवारमा जो कोहीले पनि सत्ताका लागि आफ्नो अधिकारको दाबी गर्ने छन् ।

तर सत्तामा सुदेरी गुटको प्रभावलाई हेर्दा यहि परिवारको कुनै सदस्य गद्दीमा बस्नेछन् । सन् २००५ मा अब्दुल्ला राजा बनेपछिका सबै क्राउन प्रिन्स सुदेरी परिवारबाट नै छन् । राजा सलमान पनि आफ्नो निधनपछि यहि परिवारले सत्ता चलाओस् भन्ने चाहना छ ।

पत्रकार जमाल खाशोग्गीको हत्यापछिको अवस्था


साउदी राज परिवार, विशेष गरी क्राउन प्रिन्स एमबिएसका कडा आलोचक पत्रकार जमाल खाशोग्गीको अक्टोबरमा भएको हत्यामा एमबिएसको संलग्नता रहेको आरोपका बिच विरोधी गुटहरु सक्रिय भएका छन् ।

टर्कीस्थित साउदी कन्सुलर कार्यालयमा हत्या भएका पत्रकार खाशोग्गीले अमेरिकी पत्रिका द वासिङ्गटन पोस्टमा लेख्दै आएका थिए । उनको हत्या एमबिएसको निर्देशनमा भएको दाबी गरिन्छ । तर साउदी अरेबियाले स्पष्ट रुपमा हत्यामा एमबिएससहित राज परिवारका कुनै पनि सदस्यको संलग्नता नरहेको बताउँदै आएको छ ।

खाशोग्गी हत्या प्रकरणका कारण एमबिएसमाथि बढ्दै गएको अन्तर्राष्ट्रिय दबाबलाई राजकुमार अहमदले आफू राजा बन्ने राम्रो मौकाका रुपमा लिएका छन् । उनले ४० वर्षसम्म गृह मन्त्रालयमा उपमन्त्रीको रुपमा काम गरेका थिए र अमेरिकाको समर्थन पनि छ ।

साउदी राज परिवारमा मुख्य गरी १५ सदस्य छन्, तर झण्डै दुई हजार जना यस्ता छन् जोसँग सत्ता, सम्पती र निर्णय लिने अधिकार छ ।
युवा अवस्थामै क्राउन प्रिन्स बनेका एमबिएसले सुधारको अभियान चलाउँदै आएका छन् ।

यसमा महिलालाई गाडी चलाउन अनुमति दिनु प्रमुख रहेको छ । सूचना तथा सुरक्षा संयन्त्रको नियन्त्रण आफ्नो हातमा आएपछि एमबिएसले खानदानका वरिष्ठ सदस्यलाई रिझाउन सकेका छैनन् ।

एमबिएसले प्रभावशाली गृहमन्त्री मोहम्मद बिन नाईफलाई पदबाट हटाए भने राष्ट्रिय गार्डका कमाण्डर मतब बिन अब्दुल्लाहलाई आर्थिक हिनामिनाको आरोपमा नियन्त्रणमा लिएर दुवै पद आफूमा सुरक्षित गरे ।

मतब बिन अब्दुल्लाह, अब्दुल्लाहका एक छोरा हुन् । उनी सन् १९९६ मा राष्ट्रिय गार्डको कमाण्डर बनेका थिए र उनलाई भविष्यमा सत्तामा जान सक्ने रुपमा हेरिएको थियो ।

राजाको सन्देश


खाशोग्गी हत्यापछि साउदी अरेबियामाथि परेको अन्तर्राष्ट्रिय दबाब र राज परिवारका केही सदस्यको गुनासोका बाबजुद राजा सलमानले नोभेम्बर १९ मा भएको सल्लाहकार समितिको बैठकमा आफ्नो बयानको क्रममा विवादका बारेमा केही बताएनन् ।

उनले आफ्नो न्यायपालिकाको प्रशंसा भने गरे । उनले एमबिएसमाथिको समर्थनलाई जोड दिँदै देशका युवालाई सबै तरिकाले योग्य बनाउन ध्यान दिन भने ।

राजा सलमान खाशोग्गी हत्याको राज खुलेपछि चुकाउने पर्ने मूल्यका लागि तयार रहेको तर एमबिएसमाथिको समर्थनबाट पछि नहट्ने मनसायमा देखिएका छन् ।

साउदी अरेबियाका शक्तिशाली युवराज (क्राउन प्रिन्स) मोहम्मद बिन सलमान
मंसिर १३, २०७५ मा प्रकाशित