जहाँ स्मार्टफोनकै मूल्यमा पाइन्छ एके–४७ राइफल, प्रहरी गए जीवित फर्किंदैनन्

पेशावरको ग्रामीण इलाकाको बन्दुक पसल। तस्बिरः एजेन्सी

पेशावर – लाखौँ मूल्य पर्ने राइफल पनि औसत मूल्यको स्मार्टफोनकै मूल्यमा। अपत्यारिलो लाग्न सक्छ। तर, संसारमा यस्तो अपत्यारिलो ठाउँ पनि छ, जुन ठाउँमा स्मार्टफोनको मूल्यमै अत्याधुनिक राइफल पाइन्छ।

पाकिस्तानको पेशावर शहरमा अत्याधुनिक राइफलहरु खुलेआम बिक्री वितरण हुन्छ। जहाँ पाकिस्तानका सरकारी सुरक्षाकर्मी पनि जान डराउँछन्। जानेहरु कानूनी कारबाही गर्दैनन्। कानूनी कारबाही गर्न खोजे फेरि फर्किएर आउँदैनन्।

पाकिस्तानको पेशावरको ग्रामीण इलाकाको वास्तविकता हो यो। दर्रा आदमखेल गाउँमा स्थानीय व्यापारीले खुलेआम हातहतियार बिक्रीवितरण गर्छन्।

सुरक्षा मामिलाका जानकारहरुका अनुसार एउटा राम्रो पेस्तोल किन्न नै १–२ लाख रुपैयाँ पर्छ। तर, दर्रा आदमखेलमा १ लाखमा एके–४७ नै ३–४ वटा किन्न पाइन्छ। प्रयोग गर्नका लागि अन्यत्र लाइसेन्स लिनुपरे पनि दर्रा आदमखेलमा आवश्यक पर्दैन।

क्लाशनिकोव अर्थात् एके–४७, एमपी सबमेशिनगन जस्ता अटोमेटिक हतियार स्मार्टफोनकै मूल्यमा पाइन्छ।

पेशावर शहरबाट ३५ किलोमिटरको दूरीमा रहेको उक्त इलाकामा सामान्यदेखि अत्याधुनिकसम्मका हतियारको मण्डी लाग्ने स्थानीयलाई उदृधत गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।

सामान्य पेस्तोल ४५ सयदेखि १४ हजारसम्ममा पाइन्छ। रुसमा निर्मित एके–४७ राइफल वा बुल्गेरियामा निर्मित एमपी–५ राइफल १४ हजारमै पाइन्छ। साथै बिक्रेताहरुले एकवर्षको ग्यारेन्टी पनि दिने गरेका छन्।

मंसिर १३, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्