बालक अपहरणपछि हत्या: अभियुक्त भन्छन्- १० रुपैयाँको चकलेट किनिदिएर फकाएँ अनि नागार्जुन जंगल पुर्‍याएर मारेँ

प्रयास कुँवर।

काठमाडौँ– काठमाडौँको मित्रनगरबाट ३ दिनअघि बेपत्ता भएका ८ वर्षीय बालक प्रयास कुँवरको अपहरणको १ घन्टामै हत्या भएको खुलेको छ। अपहरणकारी भनिएका महेन्द्र सार्कीले मृतक बालकलाई सुरुमा १० रुपैयाँको चकलेट किनिदिएर फकाएको र त्यसपछि घुम्न जाने भन्दै नागार्जुनतिर लगेको बताएका छन्।

‘नागार्जुन जंगलभित्र लगेपछि गाडीभित्रै प्रयासलाई घाँटी थिचेर मारेँ र फर्कँदा बाटामा जेब्रा झोला किनेर त्यसैभित्र शवलाई पोको बनाएँ’, २२ वर्षीय महेन्द्रको प्रारम्भिक बयान छ।

मित्रनगरस्थित स्वस्तिक त्रिवेणी गेस्ट हाउस सन्चालन गर्दै आएका पर्वतका प्रविण कुँवरका एकमात्र सन्तान प्रयासको सोही गेस्ट हाउसमा काम गर्ने ड्राइभर महेन्द्रले हत्या गरेको खुलेको छ।

स्याङ्जाको भिरकोट घर भएका २२ वर्षीय महेन्द्रले गेस्ट हाउसमा अभिभावक कोही नभएको समयमा मंगलबार साँझ ६ बजे प्रयासलाई गाडीमा राखेर लगेका थिए। प्रयासका बाबु आमा त्यतिबेला मेडिकल गएको र घरमा तीन जनामात्र कामदार रहेको अवस्थामा उनको अपहरण भएको थियो। बालकलाई अपहरण गरेको एक घन्टामै महेन्द्र उक्त गेस्ट हाउस फर्किएका थिए। महेन्द्रमाथि लामो अनुसन्धानपछि प्रहरीले हत्यारा पत्ता लगाएको हो।

प्रयासलाई मारेर फालेको ठाउँ बिहीबार महेन्द्रले नै देखाएका थिए। महेन्द्रले एक महिनाअघिमात्र उक्त गेस्ट हाउसमा काम गर्न थालेको महानगरीय प्रहरी अपराध महाशाखाले जनाएको छ। लामो समय भारत बसेका महेन्द्र एक वर्षअघि मात्र नेपाल आएका हुन्। उनी श्रीमतीसहित बालाजुमा बस्दै आएका थिए। हत्याको कारण प्रहरीले अझै पत्ता लगाउन सकेको छैन।

तर प्रारम्भिक अनुसन्धान अनुसार एक साता अघि प्रयासका बुवा र महेन्द्रबीच विवाद भएको र त्यसक्रममा महेन्द्रलाई कामबाट निकालिदिने धम्की आएको खुलेको छ। ‘महेन्द्रले हत्या स्विकारेका छन्। तर किन हत्या गरेका थिए भन्नेबारे केही खुल्न सकेको छैन’, महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंहले भने।

महाशाखाका डीएसपी रुगम कुँवरको नेतृत्वको टोलीले अनुसन्धान गरि हत्यारा पत्ता लगाएको हो। प्रयास स्थानीय बेलमन्ड इन्टरनेशनल एकेडेमीमा एक कक्षामा अध्ययनरत थिए।

 

 

मंसिर १३, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्