सुन्धारामा अनियन्त्रित कार सडकपेटीमा जोत्तियो, विदेशीसहित १३ जना घाइते

काठमाडौँ – काठमाडौँ सुन्धारामा भएको सडक दुर्घटनामा एक जना विदेशीसहित १३ जना घाइते भएका छन्। यीमध्ये दुई जनाको अवस्था चिन्ताजनक रहेको छ।

फिलिपिन्सकी किसिया नाम गरेकी महिला र काठमाडौँको कपन बस्ने २७ वर्षीया गंगामाया राईको चिन्ताजनक अवस्थामा उपचार भइरहेको छ।

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता होमेन्द्र बोगटीका अनुसार दिउसो सवा ३ बजे भएको दुर्घटनामा परी घाइतेहरुको ट्रमा सेन्टरमा उपचार भइरहेको छ।

बा१८च ४८७३ नम्बरको कार अनियन्त्रित भएर ठक्कर दिँदा पैदल यात्रु घाइते भएका हुन्। भक्तपुरको पेप्सीकोला घर भएका चालक भेषराज पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको छ।

‘कार अनियन्त्रित भएर दुर्घटना भएको देखिन्छ, चालक ओभरस्ट्रेस रहेको वा ब्रेक भनेर एक्सिलेटर दबाउँदा पनि कार अनियन्त्रित भएर सडकपेटीतर्फ आएको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट देखिएको छ,’ बोगटीले भने, ‘थप अनुसन्धान हुँदैछ।’

मंसिर १३, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्