मन्त्री बास्कोटाले बचाउ गरे सरकारका निर्णय

‘सरकारका प्रवक्तालाई रेविज लागेको छ?’

सञ्चारमन्त्री गोकुल बास्कोटा।

काठमाडौँ— सरकारले तीनअघि सञ्चालनमा ल्याएका योगदानमा आधारित सामाजिक सुरक्षा योजनाको प्रचारप्रसार भड्किलो भएको भन्दै तीव्र आलोचना भइरहेका बेला सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले त्यसको बचाउ गरेका छन्।

उनले उक्त योजना ठूलै भएकाले खर्च पनि धेरै गर्नु परेको भन्दै त्यसको आलोचनाको कुनै तुक नभएको टिप्पणी गरेका हुन्। मंसिर १० को मन्त्रीपरिषद् बैठकको निर्णय सुनाउन विभिन्न मन्त्रालयहरुका प्रवक्ता सहित आफ्नै कार्यस्थलमा पत्रकार सम्मेलन गरेका मन्त्री बास्कोटाले योगदानमा आधारित सामाजिक सुरक्षा योजना लागु गर्न सरकारले ६६/६७ लाख मात्रै खर्च गरेको भन्दै त्यसमा आपत्ति जनाउनुको कुनै अर्थ नभएको बताए।

‘कोकाकोला कम्पनीले फागुन लागेपछि सबै सञ्चारमाध्यमलाई ज्याकेट विज्ञापन दिन्छ कि दिन्न? त्यो आउँछ कि आउँदैन सबैमा? तपाईहरुले छाप्नु हुन्छ कि हुन्न, अब हेरौँला? त्यसपछि पनि के के आउँछ त्यो पनि सबै हेरौँला’, मन्त्री बास्कोटाले सञ्चारमाध्यमलाई लक्षित गर्दै प्रश्न गरे ,‘पोस्टर पनि छाप्न नहुने ? जसले कामको सुरुवात गरेको छ त्यसले प्रचार गर्न नपाउने?’

नयाँ कार्यक्रमको सकारात्मक पक्षको विश्लेषण हुन जरुरी भएको भन्दै उनले थपे, ‘पहिलै नै यो कार्यक्रम ल्याएको भए कति खर्वको बजेट बन्थ्यो होला? हिजो आफ्नो गाउँ आफै बनाउँ भन्ने कार्यक्रमको आलोचना गरियो। नागरिक लगानी कोष ४७ तिर सुरु भएको होइन ? अहिले विमान किन्नु पर्‍याे भने कहाँबाट पैसा लिने? राम्रोलाई राम्रो भन्न सिक्नु पर्छ कि पर्दैन ?

एशिया प्यासिफिक समिटको नेपाल सहआयोजक होइन

मन्त्री बास्कोटाको आक्रोश त्यत्तिमा सीमित भएन। शुक्रबारदेखि राजधानीमा सुरु हुने एशिया प्यासिफिक समिटको नेपाल सरकार सह—आयोजक बन्न लागेको भन्दै पछिल्लो समय भएको आलोचनाको पनि उनले खण्डन गरे।

कसैको आलोचनाबाट उक्त समिटको सरकार सहआयोजक बन्नबाट पछि नहटेको भन्दै उनले सुरुदेखिनै नेपाल सहआयोजक बन्ने योजना सरकारसँग नभएको बताए। समिट आयोजक संस्थामा सबै एशियाली मुलुकका प्रमुख राजनीति दलका नेताहरु सामेल भएको भन्दै उनले त्यसले कुनै विशेष दर्शन र विचार नबोकेको बताए।

अन्तर्राष्ट्रियरुपमै महत्वपूर्ण मानिएको कार्यक्रम नेपालमा हुन लागेको र त्यो कार्यक्रममा सरकारले सुरक्षा लगायत क्षेत्रमा मात्रै ५५ लाख खर्च गरेको उनको भनाइ छ।

अन्तर्राष्ट्रिय सम्बन्ध प्रभावकारी बनाउने सरकारको नियमित काम भएको भन्दै उनले त्यो काम गर्दा आपत्ती जनाएर संर्किणता साँचेको उनले आरोप लगाए। ‘एउटा राज्यको प्रतिनिधित्व गर्दै आउने सरकार प्रमुख या विशिष्ट व्यक्तिहरु देशमा आउँछ भने उनीहरुलाई सरकारले सुरक्षा दिनु दायित्व हुन्छ की हुन्न? एउटा सामान्य नागरिकको त सुरक्षा दिनु पर्छ।’

निर्मला बलात्कार र हत्याको समाचारको प्रसंग फेरि

मन्त्री बास्कोटाले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षिया बालिका निर्मला पन्तको समाचार सरकारी सञ्चारमाध्यममा प्रकाशन तथा प्रसारणमा रोक लगाएको भन्ने समाचारहरुको फेरी कटाक्ष व्यक्त गरे।

उनले वास्तविकता एकातिर र निर्मलाको समाचार अर्कोतिर आएको भन्दै सञ्चारमाध्यमको जिम्मेवारमाथि प्रश्न उठाए।

‘असत्य कुरा कति दिन टिक्छ ? जुन दिन त्यो उदाङगिन थाल्छ त्यो दिन अभिव्यक्ति स्वतन्त्रता पनि खतरामा पर्छ,’ उनले भने, ‘मन्त्री बास्कोटाले आफुलाई मुछेर भ्रामक समाचार प्रकाशन तथा प्रसारण गर्न थालेको भन्दै उनले प्रश्न सोधे, ‘एक जना छोरी मान्छे त्यो पनि भर्खर नागरिक मारिँदा सरकारको के दुस्मनी छ र त्यस विषयका समाचार रोक्नुपर्ने? सरकारको प्रवक्तालाई रेविज लागेको छ भन्ठान्नु भएको छ?’

मंसिर १० को मन्त्रीपरिषद् बैठकको निर्णय सुनाउदै मन्त्री गोकुल बास्कोटा ।

मंसिर १३, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्