हिंसाविरुद्धको अभियानमा जुट्न मन्त्री पुनको आह्वान

मानवअधिकार हनन् बढ्दो, एक वर्षमै ५ सय ३६ वटा घटना

पोखरा – गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवी पुनले हिंसाविरुद्धको अभियानमा सबै जुटेर अघि बढ्न सके न्यूनिकरण हुन सक्ने बताएकी छिन्।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले कास्कीेले पोखरामाआयोजना गरेको गण्डकी प्रदेशको मानवअधिकार अवस्था विषयक अन्तरक्रिया कार्यक्रममा पुनले कुनै हिंसाले समाजको आर्थिक प्रगति सामाजिक अवस्थामा खलल पुर्याउने भएकाले यसविरुद्ध सभ्य नागरिहरुले एकसाथ अघि बढ्नु पर्ने धारणा राखेकी छिन्।

मन्त्री पुनले हिंसाको मूल जडको रुपमा बेरोजगारी र कमजोर आर्थिक अवस्था नै कारण देखिएकाले प्रदेश सरकारले आर्थिक सशक्तीकरणका कार्यक्रमलाई जोड दिएको जानकारी दिइन्।

आर्थिक सशक्तीकरणसँगै नैतिक शिक्षा र कानुनको पालनाले मात्रै समानता ल्याएर मानवअधिकार मैत्री समाज निर्माण हुने बताउँदै राष्ट्र विकास राज्यको दायित्व सँगसँगै नागरिकको कर्तव्य भएकाले सरकारलाई साथ दिनु नागरिकको कर्तव्य भएको बताइन्।

कार्यक्रममा गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्ता राजेन्द्र घिमिरेले इन्सेकले प्रस्तुत गरेको प्रतिवेदनले प्रदेश सरकारलाई योजना निर्माणका लागि मार्ग निर्देशन गर्ने बताउँदै हाल प्रदेशका समस्याको तत्काल सुनुवाई गर्न प्रदेश सरकारले ‘हेलो मुख्यमन्त्री’ कार्यक्रम सञ्चालन गरिरहेको बताए।

कार्यक्रममार्फत् आफ्ना समस्या सिधै टेलिफोनमार्फत् गण्डकी प्रदेशका मुख्यमन्त्रीलाई जानकारी गराउन सकिने जानकारी दिँदै घिमिरेले प्रदेश सरकार मानवअधिकारको सम्मान, संरक्षण र परिपालनाका लागि प्रतिबद्ध रहेको दाबी गरे।

कार्यक्रममा इन्सेक गण्डकी प्रदेश कार्यालय पोखराका संयोजक शिव खकुरेलले गत जनवरीदेखि हालसम्म गण्डकी प्रदेशको मानवअधिकारको अवस्थासम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका थिए।

जनवरी २०१८ देखि हालसम्म इन्सेक पोखरा कार्यालयले गण्डकी प्रदेश अन्तर्गत भएका मानवअधिकार हनन् तथा ज्यादतीसम्बन्धी ५ सय ३६ ओटा घटना अभिलेख गरेको जानकारी दिए।

यस अवधिमा राज्य पक्षबाट भएका घटनामा ७२ जना र गैरराज्य पक्षबाट भएका घटनामा ५ सय ४० जना गरी कुल ६ सय १२ व्यक्ति पीडित भएको बताए। जनवरी २०१८ देखिहालसम्म राज्य पक्षबाट ४ जना महिला तथा ३४ जना पुरुष गरी ३८ जना व्यक्ति गिरफ्तार भएको र कुटपिटका घटनामा सात जना महिला र २७ जनापुरूष गरी ३४ जना व्यक्ति पीडित भएको खकुरेलले जानकारी दिए।

पछिल्लो समय महिला तथा बालिकामाथि हिंसा हुने क्रम बढेको बताउँदै खकुरेलले यस अवधिमा गैरराज्य पक्षबाट भएका बलात्कारका घटनामा १ सय ५ जना र बलात्कार प्रयास र यौन दुर्व्यवहारका घटनामा ५३ जना गरी १ सय ५८ जना महिला तथा बालिका यौनजन्य हिंसाका घटनामा पीडित भएको इन्सेक पोखराले अभिलेख गरेको जानकारी दिए।

कार्यक्रममा गण्डकी प्रदेशको मानवअधिकारको अवस्था विषयक स्थितिसूचक सार्वजनिक गरी नेपाल मानव अधिकार वर्ष पुस्तक २०१९ का लागि इन्सेक गण्डकी प्रदेशले अभिलेख गरेको मानवअधिकार तथा ज्यादतीसम्बन्धी घटनाका बारेमा छलफल गरिएको थियो।

मंसिर १४, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्