हामी गोरखालीहरु सामाजिक सञ्जालमा पनि खुकुरी नचाउँछौँ

केही महिनापहिले सिड्नीको एक नर्सिङ होममा नेपाली युवाले त्यहाँ रहेका एक वृद्धलाई दुर्व्यवहार गरेको समाचार बाहिर आयो। त्यो घटना बाहिर आउनबित्तिकै सामाजिक सञ्जालमा धेरै टिकाटिप्पणीहरू भए। त्यस्तै केही दिनअघि सिड्नीमा भएको नेपाल फेस्टिभलमा ‘हटी होइन डटी लड्ने नेपालीको बानी हुन्छ’ बोलको गीत गाउँदा गायक विवादमा तानिएका खबरहरू बाहिर आए। यस विषयमा पनि सामाजिक सञ्जालमा निकै टिकाटिप्पणीहरू भए। त्यसैगरी नेपालमा राष्ट्रपतिका लागि किनिएको गाडी होस् या प्रधानमन्त्रीले लागू गरेको सामाजिक सुरक्षा प्रणालीको विज्ञापन नै किन नहोस्, हरेक सार्वजनिक चासोको विषयमा सामाजिक सञ्जालमा टिप्पणीहरू भए र हुन्छन्। यी घटनाहरू त केवल प्रतिनिधि घटनाहरू मात्र हुन्।

नेपालीका लागि कुनै पनि चासोका विषय वा घटना आउँदा मानिसहरूले सामाजिक सञ्जालमार्फत् टिकाटिप्पणीहरू गर्छन्। सामान्य नै मान्नुपर्छ, मानिसहरूले चासो भएको विषय, प्रसङ्ग वा घटनाका बारेमा आफ्नो धारणा राख्नु वा बोल्न पाउनु नैसर्गिक अधिकार पनि हो। लोकतान्त्रिक पद्दतिमा मान्छेले आफ्नो मनमा लागेको धारणा राख्नका लागि सामाजिक सञ्जालको प्रयोग गरेर स्पष्ट अभिव्यक्ति दिनु बिल्कुल सही कार्य हो।

सामाजिक सञ्जालमा कुनै विषय उठान हुन्छ। स्वभाविकै हो कि मानिसहरू त्यस विषयको पक्ष वा विपक्षमा हुन्छन्। समाज त्यसैगरी निर्माण भएको हुन्छ। समुन्नत समाजमा त्यस उठान भएको विषयमा छलफल, विमर्श अनि वादविवाद हुन्छ । त्यसपछि निष्कर्ष निस्कन्छ। निष्कर्ष सबैलाई भन्दा पनि धेरैलाई ग्राह्य हुने किसिमको हुन्छ। संविधानले दिएको अधिकारभित्र रहेर नोट अफ डिसेन्ट राख्न, त्यसको विरोध गर्न वा बेखुशी जनाउन समृद्ध समाजमा सबैलाई उत्तिकै अधिकार हुन्छ। तर ती बेखुशी पनि तार्किक हुन्छन्, श्लील भाषामा हुन्छन् अनि सबैले सुन्न मिल्ने खालका हुन्छन्।

तर, आजकल जबजब म सामाजिक सञ्जालहरू हेर्छु तब म निकै अचम्मित हुन्छु किनकि आजकल मान्छे सञ्जालमा तर्क, विचार वा आफ्ना मनका भावना राख्न रुचाउँदैन। ऊ त हुकुम, आदेश वा नसिहत पेश गर्छ मानौं ऊ नै त्यस सञ्जालको वरिष्ठ न्यायाधीश हो। उसको आदेशलाई नकार्नु वा त्यस आदेशको विपक्षमा उभिनु ठूलो अपराध हो। अनि उसले त्यही आदेशमार्फत् सबै विपक्षीहरूलाई महामूर्ख भएको घोषणा गर्छ मानौं कि ऊ नै त्यस सञ्जालको महाज्ञानी हो, सर्वेसर्वा हो। त्यसैगरी उसले सञ्जाललाई विपक्षीमाथि आक्रोश पोख्नका खातिर सराप्न थाल्छ मानौं ऊ नै त्यो सञ्जालको एकमात्र सर्वाधिकारी हो।

अनि तिनै हुकुम प्रमाङ्गी दिनेको पछि होमा हो मिलाउन मात्र मान्छे उद्दत देखिन्छ। यस्तो लाग्छ, मानिसहरू नुरेम्बर्गको मैदानमा हिटलरको भाषण सुनेर तरङ्गित हुँदैछन् र दङ्ग पर्दै दाहिने हात उठाएर ‘हायल हिटलर’ भन्दै हिटलरको जयजयकार गरिरहेछन्। अनि, यस्तो लाग्छ कि मानिसहरूको हुलभित्र तिनीहरू कराउँदै त्यसलाई काट्, मार्, हिर्का आदिआदि भन्दै तिनै उग्र आवाजधारीहरूलाई उक्साइरहेछन्। त्यस्तो सञ्जालमा विचार राख्न पनि हानिकारक हुन्छ किनकि उसको दम्भले अरूको तर्कलाई गल्ती ठहराइसकेको हुन्छ जसरी मातेको मानिसले आफू नमातेको र जगत मातेको भन्छ । त्यसो गर्न मानिसलाई सजिलो पनि हुन्छ किनभने उसँग आफ्नो कुनै तर्क छैन, विचार छैन। तर्क, विचार र तथ्य खोज्न समय लाग्छ, अध्ययन चाहिन्छ, छलफल अनि विचार विमर्श चाहिन्छ जुन बाटो कठिन हुन्छ।

मान्छेले कुनै पनि विषय वा तर्कलाई गहिराइमा बुझ्नका लागि आफ्नो दिमागलाई खुला राख्न सक्नुपर्छ। तर, लाग्दैछ यिनीहरूको टाउकोको दिमाग भन्ने भाँडोमा मेमोरी फुल भइसकेको छ र विपक्षीहरूको कुरालाई त्यस टाउकोभित्र राख्न खोज्यो भने सिस्टम एरर भन्ने सूचना आएर पूरै मान्छे ध्वस्त हुन्छ।

यी त केही नमूना मात्र हुन्। यस्ता आक्रोश, भँडास र कुण्ठा त कति आउँछन् आउँछन् सामाजिक सञ्जालमा आजकल। मलाई लाग्छ यी सञ्जालका आचरणले हाम्रो सामाजिक चरित्रको पनि प्रतिनिधित्व गरिरहेको छ। हामी युद्ध मैदानका वीर गोरखालीहरू सामाजिक सञ्जालमा पनि त्यही खुकुरी नचाउन उद्दत छौं। मान्छेलाई विचारले होइन गाली गरेर, थर्काएर, सरापेर अनि धारे हात लगाएर आफ्नो कुरा ठीक प्रमाणित गर्नतिर लागिरहेछौं।

तर्क, विचार र तथ्य खोज्न समय लाग्छ, अध्ययन चाहिन्छ, छलफल अनि विचार विमर्श चाहिन्छ जुन बाटो कठिन हुन्छ। मान्छेले कुनै पनि विषय वा तर्कलाई गहिराइमा बुझ्नका लागि आफ्नो दिमागलाई खुला राख्न सक्नुपर्छ। तर, लाग्दैछ यिनीहरूको टाउकोको दिमाग भन्ने भाँडोमा मेमोरी फुल भइसकेको छ र विपक्षीहरूको कुरालाई त्यस टाउकोभित्र राख्न खोज्यो भने सिस्टम एरर भन्ने सूचना आएर पूरै मान्छे ध्वस्त हुन्छ।

केही दिनअघि एक मित्रलाई मैले एउटा विवादित विषयमा तपाईंको विचार के छ, यसो सामाजिक सञ्जालमा राख्नुस् न भनेर अनुरोध गरेको थिएँ। उनले प्रष्टसँग नकारे। उनको तर्क थियो– ‘सामाजिक सञ्जाल निकै असामाजिक भैसकेको छ। यस्ता विषयमा हामी नेपाली छलफल, विचार अनि विमर्श गर्नै सक्दैनौं विपक्षीका कुरा सुन्न सक्ने, मनन गर्न सक्ने अनि स्वच्छ बहस गर्न सक्ने हाम्रो क्षमतामा धेरै ह्रास भैसकेको छ। शायद हामी युद्ध, भोक, मृत्यु अनि रीसरागको छायाँबाट अझै मुक्त हुन सकेका छैनौं। यसका लागि अझ समय लाग्छ। हाम्रो दिमागमा देशले भोगेको सकसको खाटा अझै आलै छ। त्यो खाटा कमसेकम यो पुस्ता रहँदासम्म हराउँछजस्तो मलाई लाग्दैन।’

म स्कुलमा छँदा पढ्न अलि अल्छी लाग्दा एउटा साथीले ‘पढेर को ठूलो भाछ र, हात्ती पढेर ठूलो भाको हो र ?’ भन्ने तर्क गर्थ्यो। त्यही कुरा मैले धेरैपछि एक विश्वविद्यालयमा अनुसन्धान गरिरहेको मेरो एक मित्रलाई ठट्यौली पारामा सुनाएको थिएँ। उसले हाँस्दै भनेको थियो– ‘त्यस्ताखाले तर्क तैले कहिल्यै पढेलेखेको मान्छेले गरेको देखेको वा सुनेको छस्। पढ्न अल्छी लाग्ने वा नसक्नेहरूले गर्ने त्यो तर्क भनेको फ्याउराले अंगुर खान नपाएपछि अंगुर त अमिलो छ भन्ने निष्कर्ष निकालेजस्तै हो।’ अनि मलाई लाग्यो आजकल शायद मान्छे सञ्जालमा तर्क, विचार, विमर्श तथा सोधखोज गर्न अल्छी लागेर वा नसकेर त्यही जान्नेबुझ्ने विपक्षीलाई सिधै गाली गर्दै महामूर्ख घोषणा गरेर जित्ने कोशिश त गरेको होइन।

केही वर्षपहिले म सिड्नीस्थित एक कार्यालयमा काम गर्दा इथोपियाबाट बसाइ सरेर आएको एक मित्र ‘आबिए अहमद’सित सँगसँगै काम गर्दथें। कुराकानी र मित्रता बढ्दै जाँदा एकअर्काको देशको कुरा हुँदा म उनलाई भन्ने गर्थें – “म त सगरमाथा अर्थात् माउन्ट एभरेष्ट भएको देशबाट आएको मान्छे। अनि म बुद्ध जन्मेको देशबाट आएको मान्छे।” यस्तैयस्तै उदाहरण दिएर म उनका सामु नेपाल त महान् राष्ट्र हो भन्ने सन्देश दिन खोज्दथें।
प्रत्युत्तरमा आबिएले पनि इथियोपियाको संस्कृति संसारका प्राचीन सभ्यतामध्ये पर्ने संस्कृति हो भनेर सुनाउथे। इथियोपियाको सभ्यता र इथियोपिया किन अरू राष्ट्रभन्दा महान् हो त भनेर मलाई बुझाउने प्रयत्न गर्दथे। उनलाई उनको तर्क नै ठीक लाग्थ्यो भने मलाई मेरै तर्क।

मैले इथियोपियोको सभ्यता बुझ्नका लागि नेपालको भूगोल र दायरालाई तोडेर हेर्नुपर्थ्यो अनि उसले पनि नेपालको इतिहास बुझ्नका लागि इथियोपियोको भूगोल र दायरालाई तोड्नुपर्थ्यो। अर्थात् हामी दुवैले विपक्षीको कुरा पनि गहिराइमा सुन्न सक्नुपर्थ्यो र विपक्षीको तर्कलाई पनि उही हैसियतमा अध्ययन गर्न जरुरी थियो जुन गर्न हामी दुवै असमर्थ थियौँ। अझ अरू केही राष्ट्रका इतिहास र सभ्यतालाई पनि मिहिन रूपमा अध्ययन गरेको भए मात्र हामीले हाम्रो देशको इतिहास र सभ्यताको वास्तविक धरातल के रहेछ भनेर मूल्याङ्न गर्न र केलाउन सक्थ्यौं।  त्यसो नगरिनु केवल ‘मेरो गोरूको बाह्रै टक्का’ भन्नुबाहेक अरू केही हुन सक्दैन।

अकबर निरक्षर थिए तर उनले आफ्नो दरबारमा एकसेएक विद्वान र ज्ञानीहरूलाई स्थान दिन्थे। सबका कुरा सुन्थे। हिन्दूका पनि सुन्थे, मुस्लिमका पनि सुन्थे साथै अन्य धर्मका पनि उत्तिकै महत्वका साथ कुराहरू सुन्थे। यो त धेरै समयअघिको कुरा भयो। अहिलेको समुन्नत समाजमा विपक्षीका कुराले पनि धेरै महत्व राख्छन्, सुनिन्छन् र उचित स्थान पाउँछन् भलै ती कुराहरू अक्षरश: लागू नहुन्। लागू हुनैपर्छ भन्ने होइन कुरा राख्न पाउनु र सुनिनु पनि लोकतन्त्रको बलियो आधार स्तम्भ हो।

सामाजिक सञ्जालको भूमिका पनि आजको आधुनिक युगमा निकै बलियो छ। यो हरेक मान्छेको आवाज उठाउने माध्यम बनिरहेको छ तर खै किन हो मान्छेले यो माध्यमको उपयोग गर्नेभन्दा पनि आफ्नो दम्भ, रीस र विपक्षीलाई दबाउनका खातिर मात्रै प्रयोग गरिरहेको त छैन। यसबारे सोच्नुपर्ने बेला आइसकेको छ।

मंसिर १४, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्