द्वन्द्वकालमा विस्थापित छोटी भन्सार अझै सञ्चालनमा आएन

नरैनापुर छोटी भन्सार कार्यालय। तस्बिरः कुमार श्रेष्ठ/देश सञ्चार

नेपालगञ्ज – नेपालगञ्जको नरैनापुर गाउँपालिकामा भन्सार कार्यालयको आवश्यकता खड्किएको छ। ४० हजारभन्दा बढीको बसोबास रहेको सो क्षेत्रका बासिन्दाको सम्पूर्ण कारोबार सीमावर्ती भारतीय बजारमा हुने गर्छ। नरैनापुरमा रहेको छोटी भन्सार कार्यालय द्वन्द्वकालमा विस्थापित भएपछि जिल्लाको चलनचल्तीको पूर्वी नाका भन्सारविहीन भएको छ।

नरैनापुरका स्थानीयले भन्सारको माग पनि गरेका छन्। पहिलो पटक नरैनापुर पुगेका नेपालगञ्ज भन्सार कार्यालयका प्रमुख शान्तिराम निरौलाले नरैनापुरमा भन्सारको आवश्यकता महसुस भएको बताए। ‘जनताले पनि माग गरेका छन्, मैले पनि त्यहाँ भन्सारको आवश्यकता रहेको महसुस गरेँ,’ भर्खरै नेपालगञ्ज भन्सारमा आएका निरौलाले भने, ‘छोटी भन्सार सञ्चालनका लागि म प्रक्रिया अगाडि बढाउँछु।’

नरैनापुरमा अझै पनि भन्सारको जीर्ण भवन रहेको छ। तर, यो अन्तिम नाका कटकुइयाभन्दा धेरै टाढा छ। भन्सार कार्यालयका प्रमुख निरौलाले अब भन्सार कार्यालय राख्दा सीमा नजिक प्रहरी चौकीसँगै राख्ने बताए।

हुन त, बाँकेमा नरैनापुरजस्ता सात वटा छोटी भन्सार बन्द अवस्थामा रहेका छन्। सबै छोटी भन्सार कार्यालय द्वन्द्वकालमा बन्द भएका छन्। द्वन्द्वकालमा कर्मचारीहरु डराएर विस्थापित भएपछि अहिलेसम्म छोटी भन्सार बन्द नै रहेको छ।

विगतमा जिल्लाको नरैनापुर, साइगाउँ, भगवानपुर, भंघोट्ना, खडैचा, उदयपुर र सुइयाबघौडामा छोटी भन्सार थिए। बेलाबेलामा छोटी भन्सार सञ्चालन गर्ने चर्चा भएपनि अहिलेसम्म बन्द नै रहेको छ।

राप्तीपारी नरैनापुरमा छोटी भन्सारको आवश्यकता रहेको सांसद महेश्वर गहतराज, प्रमुख जिल्ला अधिकारी मदन भुजेल, गाउँपालिकाका प्रमुख मो. इस्तियाक अहमद साहले बताइरहेका छन्।

नेपालगञ्जमा वडा प्रहरी कार्यालयले दुई दिनअघि दुई वटा ट्याक्टरबाट आयातीत १२ हजार किलो हरियो केराउ नियन्त्रणमा लियो। त्यो केराउ नरैनापुर लैजादै थिए। नरैनापुरमा १२ हजार किलो केराउ खपत हुन्छ त? भन्ने आशंकाले प्रहरीले नियन्त्रणमा लिएर आन्तरिक राजश्व कार्यालय पठाइदिएको छ। स्रोतका अनुसार नरैनापुर भनेर केराउ लैजाने र विस्तारै भारततिर पास गर्ने योजना थियो। यो घटनाले पनि नरैनापुरमा छोटी भन्सारको आवश्यकता खड्किएको छ। यतिमात्रै होइन, नरैनापुरमा सबै सामान भारतबाट आउँछन्। अहिलेसम्म जसले जति सामान ल्याएपनि राजश्व तिर्नु पर्दैन।

एउटा छोटी भन्सार सञ्चालनका लागि कम्तीमा एक जना जाँचकी र दुई जना सहयोगी चाहिन्छ। सात वटा सञ्चालन गर्दा २१ जना थप कर्मचारी चाहिन्छ। नेपालगञ्ज भन्सारमा त्यतिका कर्मचारी छैनन्। सरकारले छोटी भन्सार सञ्चालन गर्ने भएपनि कर्मचारी पनि पठाइदिनु पर्छ। यसले गर्दा सबै छोटी भन्सार सञ्चालन हुने सम्भावना देखिँदैन। कार्यालय प्रमुख निरौलाले नरैनापुरमा छोटी भन्सार सञ्चालनका लागि प्रक्रिया अघि बढाउने बताए।

अर्थ मन्त्रालयले कति भन्सार छन्। कुन–कुन, कसको मातहतमा छन् भन्ने हालै राजपत्रमा निकालेको छ। त्यो हेरेर केहीले चाहिँ बाँकेका छोटी भन्सार सञ्चालन हुन थालेको प्रचार–प्रसार गरेका थिए। भन्सार कार्यालय प्रमुख निरौलाले राजपत्रमा छोटी भन्सार सञ्चालन गर्ने नभए कुन–कुन छन्, त्यो कसको मातहतमा छन् भन्ने राजपत्रमा निस्केको बताए।

मंसिर १४, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्