नियम कडा छ!

बालुवा ओसार्दा पक्की सडकमा पानी चुहाउने टिपरलाई यस्तो कारबाही

फाइल तस्बिर

दाङ – पक्की सडकमा पानी चुहाउदै बालुवा बोक्ने टिपरलाई ट्राफिक प्रहरीले निगरानी बढाएको छ। पक्की सडकमा पानी चुहाउदै बालुवा ओसारपसार गर्दा सडकको अवस्था कमजोर हुने भएकाले त्यस्ता सवारी साधनमाथि निगरानी बढाएको अस्थायी ट्राफिक प्रहरी पोस्ट लमहीका प्रमुख विष्णुबहादुर केसीले जानकारी दिएका हुन्।

शुक्रबार पानी चुहाउदै बालुवा बोक्ने टिपरहरुलाई कारबाही स्वरुप पानी निथारेर मात्रै अघि बढ्न दिइएको छ। ‘टिपर तथा ट्रकहहरुलाई लिखित सम्झौता गराएका छौँ, यस्तो काम गर्दैनौँ भनेका छन्, तर उनीहरुले आफूले गरेको प्रतिवद्धता विपरीत काम गरेकाले निगरानी बढाएका हौँ,’ ट्राफिक प्रहरी प्रमुख केसीले भने, ‘ओभरलोड बोकेका, पानी चुहाउदै बालुवा बोक्ने टिपरलाई कारबाही गर्ने गरेका छौँ।’

राप्ती नदीको किनारमा खुलेका क्रसर उद्योगहरुबाट पानी चुहाउदै बालुवा लोड गरेर ओसारपसार गर्दा सडकको अवस्था झनै कमजोर बन्दै गएको छ। पूर्वमा कालाकाटे क्षेत्रमा बालुवा ओसारपसार भइरहँदा त्यस तर्फ ट्राफिक प्रहरीले कडाई गरेको पाइएको छैन।

मंसिर १४, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्