आजका मुख्‍य खबरहरु: अवज्ञापछि हट्‍यो जोर-विजोर प्रणाली, निर्मलाको पोस्टर टाँस्‍ने पक्राउ

कञ्चनपुरकी बालिका निर्मला पन्तको न्यायका निम्ति सरकारलाई दबाब दिने उद्देश्यले पोस्टर टाँस्दै हिँडेका १२ जनालाई प्रहरीले पक्राउ गरेको छ। सामाजिक अभियन्ता प्रितम सुवेदीसहित भावना राउत, सिर्जना विश्वकर्मा, छवि पंगेनी लगायतलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

व्यापक आलोचना र अवज्ञापछि सरकारले काठमाडौँ उपत्यकामा लागू गरेको जोर विजोर प्रणाली हटाएको छ। एसिया प्यासिफिक समिटका लागि भन्‍दै गृह मन्त्रालयले आवागमन व्यवस्थित बनाउन काठमाडौँमा चल्‍ने सवारी साधनहरुमा चार दिन जोर-विजोर प्रणाली लागू गर्न ट्राफिक प्रहरीलाई निर्देशन दिएको थियो। साथै जोर-विजोर प्रणालीको अवज्ञा गरेको भन्दै काठमाडौँमा युथ कांग्रेसले निकालेको मोटरसाइकल र्‍यालीमा प्रहरीले हस्तक्षेप गरी सहभागी आठ जनालाई प्रहरीले पक्राउ गरेको छ।

राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपालको औपचारिक भ्रमणमा रहेकी म्यान्मारका स्टेट काउन्सिलर आङ सान सु कीले भेटवार्ता गरेकी छन्। राष्ट्रपति कार्यालय शीतल निवासमा शुक्रबार बिहान भएको सो भेटमा द्विपक्षीय आपसी हितका विविध विषयमा कुराकानी भएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालको औपचारिक भ्रमणमा रहेकी म्यान्माका स्टेट काउन्सिलर आङ सान सु कीले शुक्रबार भेटवार्ता गरेकी छन्। सो अवसरमा दुवैजनाबीचमा द्विपक्षीय हित र आपसी सम्बन्धका विविध विषयमा कुराकानी भएको जनाइएको छ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले काठमाडौँ–तराई मधेश द्रूतमार्ग निर्माणको विषयमा आफूले कुनै जवाफ दिन नसक्ने बताएका छन्। उनले द्रूतमार्ग निर्माणको जिम्मा आफू मातहत नरहेको प्रष्ट पारेका छन्। बहुप्रतिक्षित राष्ट्रिय गौरवको आयोजना काठमाडौँ तराई–मधेश द्रूतमार्ग निर्माणका विषयमा उठेका प्रश्नहरुका बारेमा संसदको विकास समितिमा प्रष्टीकरण दिँदै मन्त्री महासेठले द्रूतमार्गका विषयमा आफूलाई केही जानकारी नै नभएको जवाफ दिएका थिए।

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिमा शुक्रबार दश जना केन्द्रीय सदस्यहरुले प्रस्तावमाथि बोलेका छन्। केन्द्रीय सदस्यहरुले पार्टीलाई जीवन्त बनाउन विधानलाई समय अनुकुल बनाउनुपर्ने धारणा राखे। प्रस्तावित विधानमा पदाधिकारीको संख्या नबढाउने, केन्द्रीय सदस्यको संख्या एक सय ४१ बनाउने, एकै किसिमको पार्टी सदस्यता कायम गर्नुपर्ने जस्ता प्रस्ताव गरिएको छ।

नेपाल शिक्षक महासंघले आफूहरुको माग सरकारले सम्बोधन नगरेको भन्‍दै आन्दोलनमा उत्रिएका छन्। शुक्रबार १६ बुँदे मागसहित उनीहरु भृकुटीमण्डपमा आन्दोलनमा उत्रिए।

मिस नेपाल श्रृंखला खतिवडा मिस वर्ल्ड २०१८ प्रतियोगिताको एउटा विधामा टप २० मा छानिएकी छिन्। शुक्रबार आयोजित ‘हेड टु हेड च्यालेञ्ज’ मा उनले प्रश्‍नको सही उत्तर दिँदै टप २० मा छानिएकी हुन्। श्रृंखला वरियताक्रम अनुसार १३ नम्बरमा छानिएकी छिन्।

मंसिर १४, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्