जी–२० सम्मेलनमा साउदी क्राउन प्रिन्स

साउदी युवराज र पुटिनको ‘हाइ–भाइप’ र जोक्स, फ्रेन्च राष्ट्रपति म्याक्रोनको चिन्ता

अर्जेन्टिनाको राजधानीमा जारी जी–२० सम्मेलनका लागि भेला भएका विश्वका विकसित तथा आर्थिक गतिविधि उच्च रहेका देशका नेताहरुको चासो साउदी अरेबियाका शक्तिशाली युवराज (क्राउन प्रिन्स) मोहम्मद बिन सलमानमा परेको छ ।

क्राउन प्रिन्स मोहम्मद बिन सलमान (एमबिएस) सम्मेलनमा सहभागी हुन पुगेका बेला विभिन्न देशका नेताहरुले भेटी पत्रकार जमाल खाशोग्गीको हत्याका बारेमा चासो व्यक्त गरेका छन् ।

अमेरिकी पत्रिका द वासिङ्गटन पोस्टमा लेख्दै आएका पत्रकार खाशोग्गीको गएको अक्टोबर २ मा टर्कीको स्थानबुलस्थित साउदी कन्सुलर कार्यालयमा हत्या भएको हो । उनको हत्यामा संलग्नहरुको पहिचान अहिलेसम्म भएको छैन भने शवको अवस्थाबारे पनि थाहा भएको छैन ।

विशेष गरी क्राउन प्रिन्स एमबिएसको कडा आलोचक रहेका खाशोग्गीको हत्या एमबिएसकै निर्देशनमा भएको आशंका गरिँदै आएको छ । तर साउदी अरेबियाले भने पत्रकार खाशोग्गीको हत्यामा क्राउन प्रिन्स एमबिएससँगै राज परिवारका कुनै पनि सदस्यको कुनै पनि किसिमले संलग्नता नरहेको स्पष्ट पार्दै आएको छ ।

खाशोग्गीको हत्याका सम्बन्धमा अहिले अनुसन्धान भइरहेको छ । अमेरिका, टर्की तथा साउदी अरेबियाले भिन्दा भिन्दै रुपमा अनुसन्धान गरेका छन् । अमेरिकी गुप्तचर निकाय सिआइएले गरेको अनुसन्धानमा घटनामा क्राउन प्रिन्स एमबिएसको संलग्नता पुष्टि हुने खालको प्रमाण जुटेको दाबीसहितका खबर आएका थिए । जुन कुरा अमेरिकी विदेश मन्त्रालय र राष्ट्रपति ट्रम्पले अस्वीकार गरे ।

अहिले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, बेलायती प्रधानमन्त्री टिरेजा मे, फ्रान्सका राष्ट्रपछि इम्यानुएल म्याक्रोन, रुसका राष्ट्रपति भ्लादिमिर पुटिन, साउदी अरेबियका क्राउन प्रिन्स एमबिएससहितका नेता तथा २० देशको बैंकका प्रमुखहरु अर्जेन्टिनामा छन् ।

यहि क्रममा साउदी युवराज एमबिएससँग भेटेर फ्रान्सका राष्ट्रपति म्याक्रोनले खाशोग्गी हत्याका बारेमा चासो व्यक्त गरेका हुन् । सम्मेलनको साइडलाइनमा भएको अनौपचारिक भेटको क्रममा म्याक्रोनले आफू चिन्तित रहेको बताएको र क्राउन प्रिन्स एमबिएसले ‘डन्ट वरी’ भनेको बेलायती पत्रिका द गार्जियनले जनाएको छ ।

यस्तै सम्मेलनकै क्रममा बेलायती प्रधानमन्त्री मे ले पनि साउदी क्राउन प्रिन्स एमबिएससँग भेटेकी छन् । मे ले साउदी अरेबियाद्वारा यमनमा भएको भनिएको युद्ध अपराध तथा खाशोग्गी हत्याका बारेमा चासो व्यक्त गरिन् । उनले साउदी क्राउन प्रिन्सलाई खाशोग्गी हत्याका सम्बन्धमा भइरहेको अनुसन्धानमा सहयोग गर्न सुझाव दिएकी छन् ।

 

तर रुसी राष्ट्रपति र क्राउन प्रिन्स एमबिएसबिचको भेट भने निकै ‘क्याजुअल’ देखियो । उनीहरुले दुई अभिन्न मित्र भेटिए जसरी ‘हाइ–भाइप’ गरे । उनीहरुले एकअर्कालाई हँसाएको पनि देखिएको छ ।

मंसिर १५, २०७५ मा प्रकाशित