एक यात्री, एक अध्ययेता

नेपालबाट जीवन र जगत बुझ्दै एक विदेशी

केही अपरिचितहरु उनीहरुका व्यवहारबाट अरु अपरिचित भन्दा फरक लाग्ने गर्छन् । ती मध्ये केही परिचितहरु भन्दा बढी आकर्षक पनि बन्न सक्छन् ।

पाटन दरबार स्क्वायरको एक छेउमा रहेको नेवारी रेस्टुरेन्ट ‘होनचा’ मा एक साँझ यस्तै पात्र भेटिए, जसले आफ्ना अनुभवहरुको यात्रा गराए ।

टेवल नम्बर चारको कुनामा रातो रंगको कभर युक्त पुस्तकमा लिन युवक भेटिए । टेबलमा केही खाली प्लेटहरु, एक छेउको प्लेटमा बाँकी केही चनाका दानाहरु । घरीघरी ती युवा चनाका दानामा मुखका हाल्छन्, तर हातको पुस्तकमै केन्द्रित रहन्छन् उनका आँखा ।

साँझको बेला, भिडभाड । खाली टेबुलहरु सफा भइसकेका थिएनन् । हामी बस्ने ठाउँ खोज्दै पुग्यौँ, संयोगले ती युवा बसेको टेबुल अघि । पुस्तकबाट क्षणभरलाई आँखा हटाए । हामीतिर हेरेर बस्ने संकेत गरे । उनी फेरि आफ्नै धुनमा फर्किए ।

तर हाम्रा कुराकानीबाट उनको ध्यान भंग भयो कि ! हाम्रो वार्तालापमा उनी मिसिए । पहल उनैको थियो ।

अलिबेरको बोलचालपछि बल्ल भयो औपचारिक परिचय, हामी केहीहदसम्म पहिले नै परिचित जस्ता लाग्न थालेका थियौँ ।

नाम मिका लेमोस्टर्स्, अमेरिकाको इन्डियानामा जन्मी हुर्केका । ३७ वर्षका भए । हल्का खैरो रंगो दाह्री–जुँगा गोरो अनुहारमा । उस्तै खैरो रंगको लामो कपाल । जाडो छल्न लगाएको ऊनको टोपी । उनको हुलिया यस्तै थियो ।

आलु–तामाले जोडेको बातचित


नेवारी खानाको स्वाद लिन पुगेका हाम्रो अडर आइपुग्यो । मिकाले नयाँ चिज देखेछन् । कचौरामा रहेको ‘आलु–तामा–बोडी’ तर्फ इसार गर्दै उनले सोधे ?

हामीले आलु–तामाको ‘रेसिपी’ बारे थोरबहुत बतायौँ । र चाख्न आग्रह ग¥यौँ । उनी माने, स्वाद लिए र भने, ‘मिठो र बिल्कुल फरक मेरा लागि । तर सायद म यो धेरै खान सक्दिन होला । अलिक ‘स्पाइसी’ रहेछ’, उनले अंग्रेजीमा दिएको प्रतिक्रियाको नेपाली भावात्मक रुप ।

त्यसपछि थप रमाइलोसँग उनी कुरकानीमा ‘इनभल्व’ भए । आफ्नो बारेमा बताए । नेपाली संस्कृति, भूगोल र जनजीविका बारे आफूले बुझ्दै गरेका कुराहरु सुनाउँदै गए ।

खासमा उनी मात्र यात्री रहेछन् । ३२ वर्षको हुँदा अर्थात आज भन्दा पाँच वर्षअघि मिकाले यात्राका लागि आफ्नो केही सम्पत्ति बेचबाच पारेर झोला भिरेका रहेछन् । पाँच वर्षअघि सुरु गरेको यात्रा जारी छ र अहिले पनि अन्तिम गन्तव्य थाहा पाएका छैनन् । उनी आफूलाई मात्रै यात्री बताउँछन् । फरक परिवेश, संस्कृति, भूगोल र मानिसहरुको अध्ययेता ।

आलु–तामापछि झोलसहितको बाराको स्वाद लिने क्रमसम्म आइपुग्दा उनले आफ्नो नेपाल बसाईबारे केही बताइसकेका थिए । उनलाई ललितपुरको पाटन आफूले घुमेका र पुगेका ठाउँहरुमा सबैभन्दा मन परेको रहेछ ।

पाटन वेक्स–अप सो ग्रेसफुल्ली


पाटनको एक गल्लीमा मिकाले यो तस्बिर खिचेका हुन् । उनलाई कामसँगै फोनमा व्यस्त यी काम–काजीको छवी सुरक्षित गर्न मन लागेको हो ।

अनवरत रुपमा घुमिरहेका मिकाको यो दोस्रो नेपाल भ्रमण रहेछ । १५० दिनको भिजामा आएका । हामीसँग भेट्दाको दिन (सोमबार मंसिर १० गते) उनको नेपाल बसाईको १४५ औँ दिन थियो र बाँकी बसाई पाँच दिन मात्र ।

उनलाई छोड्न मन रहेनछ । पाटनमा उनको मन बसेको अनि नेपालीहरुको अनुहारमा फूल्ने मुस्कान र आँखामा देखिने विश्वासले यहिँ ठहरिने मन बनाइदिएको ।

‘सो स्याड, अब पाँच दिन मात्रै बाँकी छ । त्यसपछि अर्को गन्तव्यमा लाग्नु पर्छ । यहाँको बसाई मलाई पाँच वर्षको अवधिमा घुमेका भन्दा बिलकुल फरक र आत्मिय लागेको छ ।’ उनले भन्दै गए, ‘अब जान्छु तर चाँडै फर्किन्छु ।’

पाटनको बिहान मिकालाई सबैभन्दा मन पर्ने । बिहानै बज्ने घण्टहरु, हरेक मठ–मन्दिरमा बत्ति बाल्दै, ढोग्दै हिँड्ने आमा–दिदीबहिनी र बुवाहरु ।

साँघुरा गल्लीहरु छिचोल्दै निस्कने श्रमिकहरु ।

तिनै गल्लीका चरहरुबाट छिर्ने घामका किरणहरुले मिकालाई रोमाञ्चित बनाउने रहेछ । उनले भने, ‘पाटन वेक्स–अप सो ग्रेसफुल्ली ।’

सानो भूगोलमा फराकिलो विविधता


चोकती गाउँका एक युवा किसानसँगको भेटले मिकालाई काठमाडौँको भन्दा फरक अनुभव दिलायो ।

पाटनको बसाई र यहाँको दैनिकीबारे बताउँदा बताउँदै उनी तराई पुगे । पोखरा पुगे । र पछि पुगे माथिल्लो पहाडसम्म । उनी पोखरा एक्लै पुगेका रहेछन्, अघिल्लो पटकको नेपाल बसाईको क्रममा ।

पोखराबारे उनले सारै रहर लाग्दो रुपमा बताए । भने, ‘यु डन्ट निड टू वाक, पोखरा क्यारिज् यु’ अर्थात पोखराले हरेक यात्रीलाई आफूसँगै हिँडाउँछ र हरेक चिजले रोमाञ्चित पार्छ ।

मिकालाई नेपाल आउनुअघि यो देशका बारेमा लागेको थियो, पहाड र हिमालहरुले ढाकेको एउटा देश, हिउँहरुले छोपिएको ।

तर आएपछि थाहा पाएछन् उत्तर–दक्षिणको झण्डै २०० किलोमिटरको बिचमा समुद्र सतहबाट ७० मिटरदेखि विश्वको सर्वोच्च शिखरसम्म अटाएको रहेछ । यसले उनलाई अचम्ममा पार्‍यो ।

अहिले मिका नेपालको संस्कृति र भूगोलको बारेमा अध्ययन गरिरहेका छन् । उनलाई संस्कृतिले रोमाञ्चित बनाएको छ भने भूगोलले अचम्मित । यति सानो क्षेत्रमा यति विशाल विविधता ! परिवेशहरु छोटो दूरीमै फरक देखिनु उनका लागि अझ उत्साहप्रद छ ।

केही समयअघि बाह्रबिसेबाट केही माथिको गाउँ चोकती गएका रहेछन् । त्यहाँ उनी बास बसेको घरका बृद्ध बुवा रातिमा सुत्नका लागि केही माथि जाने थाहा पाए । घरका अरु सदस्यलाई सोधे किन भनेर ।

कारण जान्दा उनी थप छक्क परे । मुश्किलले ७५–१०० सय घरधुरीको बसोबास रहेको ठाउँमा रात बिताउन ती बुवालाई कोलाहाल पूर्ण लाग्दो रहेछ । त्यसैले उनी गाउँबाट झण्डै साढे दुई सय मिटर माथि रहेको छाप्रोमा सुत्न जाने रहेछन् ।

‘धेरै पर होइन काठमाडौँबाट झण्डै ७५ देखि १०० किलोमिटर परको गाउँ हो । त्यो गाउँ आफैमा शान्त छ । काठमाडौँ भन्दा पूर्णरुपले फरक । र पनि ती बुवालाई अझ शान्त चाहिएर माथि छाप्रोमा जानु पर्ने । यस्तो विभिन्नता हाम्रोमा पाईँदैन ।’

मृत्यु र जीवनसँगको नजिकको साक्षात्कार


पाटनको गल्लीमा घाम परेतिर बसेर जाडो छल्ने प्रयासमा रहेकी यी महिलाको तस्बिर उनलाई मन पर्छ, किनकी यसमा मिकाले यहाँको मौसम र जीविका देख्न सक्छन् ।

पाँचवर्षदेखि नरोकिइ जारी यात्राको क्रममा उनी माडागास्कर, सेनेगल, फ्रान्स, थाइल्याण्ड, आइयरल्याण्ड, चेक गणतन्त्र, श्रीलंका, भारतसहितका धेरै देश पुगेका छन् ।

नेपाल भन्दा पहिले मिका भारतको भ्रमणमा थिए । उनले बनारसमा मृत्युलाई नजिकबाट महसुस गरेको बताए । उनको भनाईको अर्थ थियो, बनारसमा मानिसहरु पवित्र मृत्युका लागि पुग्दा रहेछन् ।

उनले मात्रै १० मिनेट सडकमा बिताउँदा केही शवहरु घाट लैजाँदै गरेको देखे, र पछि मानिस धुवाँ र खरानी हुँदै गरेको पनि । यसले उनलाई जीवनको अन्तिम सत्य मृत्यसँग साँचो अर्थमा परिचित गरायो ।

त्यसपछि उनी नेपाल छिरेका रहेछन् । झट्ट हेर्दा नेपाल भारतजस्तै लागेछ । किनकी परिवेश र संस्कृति लगभग उस्तै । तर केही दिनको बसाई पछि मिका नेपालसँग प्रेममा परे । उनकै भाषा उनलाई नेपाल भारत जस्तै त लाग्यो । तर पछि निष्कर्ष फेरे ‘नेपाल इज बेटर भर्सन अफ इन्डिया ।’

मिकालाई यहाँका मानिसको अनुहारको मुस्कान र आँखामा देखिएको विश्वास अति मन परेको छ । किनकी उनी यात्रालाई फरक परिवेश र भूगोल–संस्कृतिसँगै मुस्कानको अर्थ र आँखाहरुमा देखिने विश्वासको अध्ययन मान्छन् ।

मिकाले यहाँ पशुपति र त्यहाँका केही घाटहरुको यात्रा पनि गरेका रहेछन् । बनारसमा मृत्युलाई नजिकबाट देखेका उनले नेपालमा जीवनलाई उस्तै नजिकबाट चिनेको बताउँछन् । मिकालाई फेरि नेपाल आउने र जीवनलाई थप बिस्तारमा बुझ्ने मन छ । भन्छन्, ‘अबको बसाईमा नेपाली सिक्ने छु ।’

यति भनेर हामी छुट्टिएका थियौँ । मिकाको जीवन र मृत्युलाई अर्थ दिने यात्राका कुराहरु सुनेर । उनी अर्को चोटी नेपाल आउँदा तराईसँगै सुदूर पूर्व र सुदूर पश्चिम पुग्ने कुरा सुनाए ।

मिल्यो भने सँगै तराईको यात्रामा जाने अनिश्चित वाचा र निश्चित मित्रतासहित बिदा भयौँ पंक्तिकार र पंक्तिकारकी दिदी (मिथिला प्याकुरेल । मिका सुरुको जस्तै आफ्नो पेय र पुस्तकमा तल्लिन भए ।

मंसिर १५, २०७५ मा प्रकाशित