ब्रान्जेलिना सन्तानबारे कुरा मिल्यो

ब्राड पिट र एन्जेलिना जोली पुगे सौहार्द सहमतिमा

हलिवुड सुपरस्टार ब्राड पिट र एन्जेलिना जोली ६ सन्तानको ‘कस्टडी’ को विषयमा सौहार्दपूर्ण सहमतिमा पुगेको अमेरिकी सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

उनीहरुले कस्टडीका बारेमा हुने सार्वजनिक सुनुवाई हुने अवस्था आउन नदिनका लागि ब्राड र एन्जेलिनाले आपसमा मिलेर सौहार्द सहमति गरेको अमेरिकी सञ्चार माध्यमलाई उद्धृत गर्दै समाचार संस्था एएफपीले जनाएको छ ।

ब्राड र जोलीले सन् २०१६ को सेप्टेम्बरमा आफूहरु छुट्टिएको बताएका थिए । उनीहरुले १३ वर्ष साथमा बिताए । साथमा रहेको ११ वर्षपछि उनीहरुले सन् २०१४ मा विवाह गरेका थिए । ६ सन्तान मध्ये तीन उनीहरुले जन्माएका हुन् भने तीन सन्तान एडप्ट गरेका हुन् ।

एन्जेलिनाका वकिल सामन्था ब्लेयी डीजेनले भनेकी छन्, ‘सन्तानको कस्टडी सम्बन्धी सहमति दुई हप्ताअघि भएको हो । सहमतिमा ब्राड र एन्जेलिनासँगै न्यायाधीशले पनि हस्ताक्षर गरेका छन् ।

वकिल सामन्थाको वक्तव्यसहितको खबर सेलिब्रेटी सम्बन्धी न्युज ब्रेक गर्दै आएको अमेरिकी संचार संस्था टिएमजेले प्रकाशित गरेको छ । चाइल्ड कस्टडी इभ्यालुएटरको सिफारिसमा सहमति भएको उनले बताएकी छन् ।

सन्तानको पालनपोषणको जिम्मेवारीका बारेमा ब्राड र एन्जेलिना डिसेम्बर ४ मा अदालत जानु पर्ने थियो, किनकी त्यो दिनका लागि सुनुवाई तोकिएको थियो । तर सहमति बनेसँगै अब उनीहरु अदालत जानु पर्ने छैन ।

एन्जेलिनाले सन्तानको पालनपोषण आफूले मात्रै गर्न पाउनु पर्ने माग गर्दै आएकी थिइन् भने ब्राडले मिलेर सन्तान हुर्काउने प्रस्ताव गरेका थिए ।

सहमतिका आधार र शर्तहरु गोप्य राखिएको छ । ब्राड र एन्जेलिना अझै पनि आफूहरुको सम्बन्ध विच्छेदका बाँकी प्रक्रियामाथिको छलफलमा रहेको पनि वकिलले बताएकी छन् ।

मंसिर १५, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्