अंधेरी नगरी चौपट राजाः दुषित राजनीतिमाथि कटाक्ष

काठमाडौँ – भर्खरै बसेका दर्शक, शान्त छन्। अँध्यारो छ, कही–कतैबाट खस्याक–खुसुक्कको आवाज अलिअलि सुनिन्छ। स्टेजको दायाँतर्फ माथिबाट परेको हल्का निलो लाइटको तलबाट गीतार, सारंगी मिश्रीत धून कानमा ठोकिन्छ, जुन कुनै–कुनै बेला ठूलो हुन्छ।

विस्तारै गीत र गीतारको धुन सानो हुँदै जान्छ र पछाडिबाट बुट र लौरोको गड्याम्–गड्याम् आवाज आउँछ। पछाडिबाट धिमा पहेलो लाइट बल्छ। र त्यसैलाई पछ्याउँदै दुई जना सिपाही अगाडि स्टेजसम्म पुग्छन्। हातको लौरो र गोडाका बुटकोजस्तै उनीहरुको निर्देशन पनि ठूलै निस्किन्छ।

अंधेरी नगरका यी सिपाहीले नगरको नियम बताउँछन्, अर्थात् नाटक चलिरहँदा दर्शकले गर्न मिल्ने र नमिल्ने नियम बताउँछन्, आफ्नै शैलीमा। अनि सुरु हुन्छ नाटक –अंधेरी नगरी चौपट राजा।

अनामनगरको मण्डला नाटकघरमा अहिले यो नाटक मञ्चन भइरहेको छ। नाटक अगाडि बढ्दै जान्छ, शान्त दर्शक खित्का छोड्दै हाँस्न सुरु गर्छन्। त्यो हाँसो नाटकको अन्त्यसम्म नै जारी रहन्छ।

नाटकको प्रारम्भ

‘हजुर छिमेकीको पर्खाल ढलेर मेरो बाख्राको पाठो मर्यो’ एक नगरबासी राजाको दरबारमा रुँदै आउछन्। मदिराको चुस्की लिदै राजगद्धीमा विराजमान राजा छेउँमा रहेका आफ्ना मन्त्रीतिर पुलुक्क हेर्छन्। र, न्यायको आश्वासन ती नगरबासीले पाउछन्।

राजाको आदेशमा मन्त्रीले सिपाहीलाई छिमेकीलाई उपस्थित गराउन आदेश दिन्छन्। छिमेकी र उनको पर्खाल बनाउने सबै जनालाई एक–एक गरी दरबारमा हाजिर गराइन्छ। नाटकको कहानी यही एक नगरबासीलाई न्याय दिने विवेकहीन राजाको वरिपरि घुमेको छ।

अँधेरी नगरी चौपट राजा नाटककाे एक दृश्य

के ती नगरबासीले न्याय पाउछन्? राजाको नाम किन चौपट रह्यो? अनि नगरको नाम किन अंधेरी रह्यो? त्यसका लागि भारतीय नाटककार भारतेन्दु हरिशचन्द्रले सन् १८५६ मा लेखेको नाटक ‘अंधेरी नगरी चौपट राजा’ हेर्नुपर्ने हुन्छ।

कथावस्तु

न्याय प्रणाली र राज्य व्यवस्था मुलुक सञ्चालनका लागि महत्वपूर्ण हुन्छ। तर, ‘अंधेरी नगरी चौपट राजा’मा न त शासकीय प्रणाली नै छ। न न्याय पद्धति नै छ। जे छन् राजा छन्, अनि उनको हठी स्वभाव। आफ्ना नगरबासीलाई न्याय दिन उनले गर्ने हर्कतहरुको संयोजन हो यो नाटक।

नाटकको अन्त्य शानदार छ, विवेकहीन राजाले निर्दोष व्यक्तिलाई सजाए दिन गरेको असफल प्रयासलाई उल्ट्याएर एक चलाख साँधुले राज्य नै उलटपुलट पारिदिन्छन्। जुन घटनाक्रमले नाटकलाई अत्यन्तै सशक्त बनाएको छ।

‘अंधेरी नगरी चौपट राजा’को सन्देश

सरकार भनेको देशको शासन व्यवस्था सञ्चालन गर्ने र जनतालाई अधिकार सम्पन्न बनाउने हो। राज्यबाट नागरिकले पाउने भनेको नै सुरक्षाको प्रत्याभूति, जिउधनको सुरक्षा र स्वतन्त्र भएर बाँच्न पाउनु हो।

तर, अंधेरी नगरीमा परिवेश अलग छ। त्यहाँ न्यायको आश गर्नु बेकार छ। बरु उनीहरुले दुःख पाउछन्। तत्कालीन राजनीतिक परिवेशमाथि भारतीय नाटककार भारतेन्दु हरिशचन्द्रले लेखेको नाटकको सन्देश पात्र बदलिने र प्रवृति नबदलिने व्यवस्थामाथि व्यङ्ग्य हो।

हास्यरसमा आधारित नाटक भएपनि यसले कुत्सित राजनीतिक वर्तमानलाई गिज्याएको छ। परिस्थिति चिन्न नसक्ने शासकहरुलाई चटारो हानेको छ।

अंधेरी नगरी चौपट राजाको निर्देशन संगीत सापकोटा र आशिष घिमिरेले गरेका हुन्। उनीहरुले गहन विषयलाई सरल तरिकाले प्रस्तुत गरेका छन्। सरल कथा प्रस्तुति, समसामयिक परिवेश, भारी ब्यङ्ग्य र गहन सन्देश नाटकले बोकेको छ।

निर्देशकद्वयले अंधेरी नगरी चौपट राजालाई गीति नाटकका रुपमा प्रस्तुत गरेका छन्। स्टेजमा आउने फरक पात्र, पात्रको चाल र त्यही अनुसारको गीत र संगीतको प्रस्तुत नाटकलाई सफल बनाउने कडीकै रुपमा छ।

पहिलो, अंधेरी नगरको परिचय, नगरमा कडा शासन छ भन्ने छनक सुरुमा आउने २ सिपाहीले दिइसकेका हुन्छन्। नगरका प्रत्येक पात्र हाम्रै समाजका नेता–कार्यकर्ताजस्तै भएकाले पनि नाटकका हरेक दृश्यमा दर्शक हाँस्छन्। नेपाली समाजको अहिलेको परिवेशसँग नाटक कथा केही हदसम्म मिल्छ।

दोस्रो, राजाको शासन होइन, आसन मात्रै गर्छन्। विवेकहीन छन्, मदिराका शौखिन छन्। चौपट राजाको सबै काम मन्त्री र सेवकबाटै निर्देशित छ।

नवोदित कलाकारको दमदार प्रस्तुति

एक घण्टाभन्दा लामो नाटकमा सबैको भूमिका उत्तिकै महत्वपूर्ण छ, ओजपूर्ण पनि। कलाकारले पात्रलाई न्याय दिएका छन्। राजाको भूमिकामा प्रकु पाण्डे छन्। मन्त्रीको भूमिकामा पुस्कर कार्की र सेवकको भूमिकामा सागर दाहाल रहेका छन्।

‘क्या मैले ढाट्या’ भन्दै झर्रो जुम्लीभाषामा बोल्दै नाटकको मध्यभागमा आउने फुर्कमान रोकाय बनेका दीपेन्द्र शाहीको जोशले होस् वा सागर दाहालले सुरुमै तेस्रोलिंगी चुरा व्यापारी भएर छम् छम् छम् गर्दै गरेको प्रवेश, अधिकांश समय दर्शक हसिनमुद्रामै हुन्छन्।

हरेक कलाकारको डायलगमा उर्जा छ। चौपट राजा बनेका प्रकु पाण्डेले अभिनय मात्रै होइन अनुहारको भावले पनि उनले दर्शकलाई हसाउछन्।

साथै जीवन भट्टराई, वारात लिम्बु, आर्जेस रेग्मी, सञ्जित मल्ल, स्मिल जीवन, पुष्कर कार्की, श्रवण रानालगायतले अभिनय गरेका छन्।

सुधार्नु गर्ने पक्ष

नाटकमा पात्रले दोहोरिएका छन्। जसकारण कलाकारहरुले सही मात्रामा आफूलाई प्रस्तुत गर्न नसकेको देखिन्छ। एउटै कलाकारले अनेक भूमिका निभाउँदा निखार आउन सक्दैन।

नाटक सरल छ। तर, केही पात्रको अभिनय अलि भारी छ। सुरुमा व्यापार गर्ने पात्रहरुको प्रवेश र साधुको पछि लाग्ने दुई शिष्यको स्पिडमा धेरै अन्तर छ। राजालाई कायर र लहडी व्यवहार गर्ने बनाउनु तथा साधुले सहजै राज्य लिने स्थिति अलि अस्वाभाविक छ।

मंसिर १५, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्