मौलिक कला संस्कृति

सिड्नीमा उधौलीको उल्लास

सिड्नी – किराँत सोसाइटी अफ न्यू साउथ वेल्सको आयोजनामा किराँतीहरूको पर्व उधौली सिड्नीको अर्लउडस्थित गफ ह्विटलम पार्कमा धुमधामका साथ मनाइएको छ।

उक्त अवसरमा नेपाली जनजातिका विभिन्न सांस्कृतिक नृत्यहरू साकेवा, साकेन्वा, सिमेभूमे, केलाङ आदि प्रदर्शन गरिनुका साथै परम्परागत किराँती खानेकुराका परिकारहरू पनि राखिएको थियो।

कार्यक्रममा साकेला पूजा, चासोक पूजाका अलावा छेलो हान्ने प्रतियोगिता पनि आयोजना गरिएको थियो।

छेलो प्रतियोगितामा अन्दाज राई प्रथम, धन थेबे द्वितीय तथा अमर लिम्बू तृतीय भएका थिए। कार्यक्रममा बालबालिकाहरूका लागि जम्पिङ क्यासलका अलावा विविध मनोरञ्जनात्मक प्रस्तुतिहरू पेश गरिएको थियो।

कार्यक्रमका संयोजक राम सिप्तुङ्गखा राईले प्रकृति तथा पितृपुजक किराँतीहरूले आफ्नो संस्कृति र परम्परा जगेर्ना गर्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको बताए।

राईले देशसञ्चारसँग भने, ‘आफ्नो विशिष्ट पहिचान र संस्कृति बोकेको किराँती समुदायमा उधौली पर्व जाडो महिनाको शुरुवातसँगै मनाउने प्रचलन रहेको छ, देश छाडेर विश्वको जुनसुकै कुनाकाप्चामा रहे पनि आफ्नो कला, संस्कृति र मौलिक पहिचानलाई बिर्सन हुँदैन।’

आगामी पुस्ता तथा समुदायका अन्य सदस्यहरूले किराँती परम्परा र संस्कृतिबारेमा जानकारी प्राप्त गरून् र यो पर्वको हर्षोल्लासमा सहभागी होउन् भन्ने उद्देश्यले यो पर्व मनाउँदै आएका उनले बताएका छन्।

कार्यक्रममा समुदायका अगुवाहरू डा. नारायण प्रधान, इन्द्रा वन, गणेश तामाङ, पदम शाक्य, महेन्द्र श्रेष्ठ, अरुण तामाङ, अनिल थापामगर, महेश प्रसाई, जितमान लिम्बू, शशी सुब्बा, शशीचन्द्र राई लगायतका सिड्नीबासी नेपालीहरूको बाक्लो उपस्थिति रहेको थियो।

मंसिर १६, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्