पानी चुहाउदै बालुवा बोक्ने टिपर र ट्याक्टर धमाधम नियन्त्रणमा

दाङ – कालोपत्रे सडकमा पानी चुहाउदै बालुवा बोक्ने टिपर र ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ। वडा प्रहरी कार्यालय लमही र अस्थायी ट्राफिक प्रहरी पोस्ट लमहीको पक्की सडकमा पानी चुहाउदै बालुवा बोक्ने टिपरलाई पक्राउ गरेर पानी निथारेर जरिवाना गरेर कारबाही गरिएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी प्रमुख अरुणकुमार सिंहले जानकारी दिएका छन्।
‘पानी चुहाउदै टिपर गुड्दा पक्की सडक कमजोर हुन्छ। त्यही पानीमा चिप्लिएर दुर्घटनाको जोखिम उच्च हुन्छ। त्यही भएर हामीले यसमा चासो दिएर यस्ता सवारीसाधनलाई नियन्त्रणमा लिएका हौँ,’ प्रहरी प्रमुख सिंहले भने, ‘पानी निथारेर मात्रै जरिवाना गरेर छाड्छौँ। फेरि दोहोरिएर कारबाही गर्छौं।’
गत शुक्रबारदेखि आइतबारसम्म ८ वटा पानीसहितको बालुवा बोक्ने टिपर, एक वटा ट्याक्टर र नियम उल्लंघन गरेर बजार क्षेत्रबाट आवतजावत गर्ने एक वटा टिपरलाई पक्राउ गरिएको अस्थायी ट्राफिक प्रहरी पोष्ट लमहीका प्रमुख विष्णुबहादुर केसीले बताए।
‘बालुवा बोक्ने टिपरका चालकहरुलाई लिखित सम्झौता गराएका छौँ, आइन्दा यस्तो गर्दैनौँ भनेका थिए। तर, उनीहरुले गल्ती गरेपछि कारबाही थलोका हौँ,’ अस्थायी ट्राफिक प्रहरी पोस्टका प्रमुख केसीले भने, ‘कडाईका साथ सवारी जाँचलाई अघि बढाएका छौँ।’
लमही बजार क्षेत्रमा ठूला सवारीसाधनलाई प्रवेश निषेध गरिएको छ। सडक डिभिजन कार्यालय दाङले पानी चुहाउदै बालुवा बोक्दा सडकको अवस्था कमजोर हुने भन्दै आवश्यक कारबाहीका लागि जिल्ला प्रशासन, जिल्ला प्रहरी र जिल्ला ट्राफिक प्रहरीलाई लिखित अनुरोध गरेपछि प्रहरी तातेको हो।
बिहान ९ बजेदेखि ११ बजेसम्म र दिउसो ३ बजेदेखि बेलुका ५ बजेसम्म ठूला सवारीसाधनलाई प्रवेशमा रोक लगाइएको हो। नियम उल्लंघन गर्नेलाई प्रहरीले कारबाही गर्न थालेको हो। गत १२ गते लमही नगरपालिका, वडा अध्यक्ष, उद्योग वाणिज्य संघ, प्रहरीबीच भएको छलफलले निर्णय गरेको हो।