जलवायु परिवर्तन

महत्वपूर्ण सम्मेलनअघि विज्ञको चेतावनी, ‘क्रसरोड’ मा पृथ्वी

विश्वव्यापी रुपमा भइरहेको जलवायु परिवर्तनलाई सीमित गर्न भइरहेको प्रयासका थालनीकर्ता मध्येका चार वरिष्ठ व्यक्तित्वले अहिले पृथ्वी ‘क्रसरोड’ मा रहेको चेतावनी दिएका छन् । अर्थात पृथ्वी नै जलवायु परिवर्तनका कारण जोखिममा रहेको उनीहरुले चेतावनी दिएका हुन्।

पोल्याण्डमा सुरु हुन लागेकाे जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलनअघि उनीहरुको भनाई आएको हो । पोल्याण्डको कातोविसमा सोमबार अपरान्हदेखि कोप २४ सम्मेलन सुरु हुँदैछ ।

जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्रसंघीय प्रयासका चार पूर्व अध्यक्षले पृथ्वी जोगाउनका लागि तत्काल निर्णायक र परिणाममुखी प्रयास थाल्न आग्रह गरेका छन् ।

सन् २०१५ मा फ्रान्सको पेरिसमा भएको जवायु परिवर्तन सम्बन्धी सम्मेलन र त्यसले तय गरेको जलवायु परिवर्तन सम्झौतापछिको ठूलो र महत्वपूर्ण सम्मेलनअघि विशेषज्ञले ठोस कदमका लागि आग्रह गरेका हुन् ।

पेरिस सम्झौताको उद्देश्य पूरा गर्नका लागि कार्बन उत्सर्जनमा भारी कटौती गर्नु पर्ने उनीहरुले बताएका छन् । कोप–२४ सुरु हुनु भन्दाअघि नै त्यसका मध्यस्थकर्ता रहेका विशेषज्ञले संयुक्त भनाई जारी गरेका हुन्, ताकी विश्वभरका नेतालाई दबाब परोस् ।

यसैबिच विश्व बैंकले जलवायु परिवर्तनविरुद्ध काम गर्दै आएका देशलाई २०० बिलियन अमेरिकी डलरको सहयोग गर्ने घोषणा गरेको छ । यो सहयोग पाँच वर्षको अवधिमा प्रदान गरिने विश्व बैंकले जनाएको छ ।

कोप–२४ आर्थत कन्फ्रेन्स अफ द पार्टिज (कोप) को सम्मेलन इन्टरगभरमेन्टल प्यानल अन क्लाइमेट चेन्ज (आइपिसिसी) ले गएको अक्टोबरमा जारी गरेको विश्वव्यापी तापमान बृद्धि १.५ डिग्रीमा सीमित गर्ने सम्बन्धको अवस्था बारेको प्रतिवेदनपछि हुन लागेको महत्वपूर्ण सम्मेलन हो ।

तापमान बृद्धि १.५ डिग्रीमा सीमित गर्नका लागि सन् २०३० सम्ममा ग्रिनहाउस ग्यासको उत्सर्जन ४५ प्रतिशतले कटौती गर्नु पर्ने आइपिसिसीले उल्लेख गरेको छ । तर पछिल्लो प्रतिवेदन अनुसार सन् २०१७ मा कार्बन उत्सर्जनको मात्रा त्यसअघिका चार वर्षको भन्दा उच्च रहेको देखिएको छ ।

संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्बन्धी पहलका चार अध्यक्षले कोप २४ सम्मेलनअघि महत्वपूर्ण कदम चाल्दै तत्काल कार्यात्मक पहलको अपिल गरेका हुन् । उनीहरुले भनेका छन्, ‘अबको दुई वर्षभित्र हुने प्रयासहरु निकै महत्वपूर्ण हुने छन् ।’

फिजीका फ्र्यांक बाइनिमारामा, मोरक्कोका सालहेद्दिन मेजुउर, फ्रान्सका लेरेन बासिउस र पेरुका म्यानुएल पुल्गर भिडालले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘कातोविसमा हुने कोपा–२४ मा मन्त्रीहरु तथा अरु नेताले बोल्ने र गर्ने कामले भावी दिनका प्रयासहरु निर्धारण गर्न सहयोग गर्नेछ, जसले पेरिस जलवायु सम्झौताका उद्देश्य पूरा गर्न सहयोग मिल्छ । सबैभन्दा जोखिममा रहेकाहरुको रक्षाका लागि यो सम्मेलन महत्वपूर्ण वा असरकार साबित हुन सक्छ ।’

उनीहरुको वक्तव्यमा अघि भनिएको छ, ‘प्रयासमा हुने थप ढिलाईले भविष्यको बाटो थप अप्ठ्यारो बनाउने छ र जलवायु परिवर्तनविरुद्धको प्रयास खर्चिलो हुनेछ सबै हिसाबले ।’

अहिले जलवायु परितर्वनका लागि विभिन्न देशहरुले गरिरहेको प्रयास र आवश्यक प्रयासका बिचको फरक बढी रहेको देखिएको अवस्थामा उनीहरुको यो वक्तव्य अर्थपूर्ण हुने विश्लेषण गरिएको छ ।

तस्बिरहरु : रोयटर्स, गेट्टी इमेज, एपी र एएफपी

मंसिर १७, २०७५ मा प्रकाशित