राष्ट्रपति जर्ज एचडब्लु बुसको बिदाईमा उनको पाल्तु सली पनि सरिक हुने

अमेरिकी पूर्व राष्ट्रपति जर्ज एचडब्लु बुसको अन्तिम श्रद्धाञ्जली तथा औपचारिक फ्युनेरल राजकीय सम्मानका साथ राजधानी वासिङ्गटन डिसीमा हुँदैछ ।

बुधबार हुने औपचारिक फ्युनेरलका लागि गएको शुक्रबार अबेर (नेपाली समय अनुसार शनिबार बिहान) निधन भएका बुसको पार्थिव शरीर सोमबार अबेर टेक्सासको ह्युस्टनबाट प्रेसिडेन्सियल प्लेन मार्फत वासिङ्गटन लैजाने तयारी छ ।

बुसको पार्थिव शरीर राखिएको कफिनसँगै उनको प्रिय कुकुर सली एचडब्लु बुस पनि वासिङ्गन जाने तय भएको स्रोतलाई उद्धृत गर्दै सिएनएनले जनाएको छ । तालिम प्राप्त एल्लो ल्याब्राडर कुकुर सली एचडब्लु बुस जर्ज एचडब्लु बुसको कफिन राखिएको ठाउँमा बस्दै आएको तस्बिर पोस्ट गरेर बुसका प्रवक्ता जिम म्याकग्राथले त्यसको क्याप्सन ‘मिसन कम्पिल्ट’ लेखेका छन् ।

सलीको नाम पूर्व पाइलट चेल्सी बी, सली सलेनबर्गर तेस्रोको नाममा राखिएको हो । उनले सन् २००९ मा बिग्रिएको यात्रु विमान हड्नस रिभरमा ल्याण्ड गरेर १५५ यात्रु र चालकदलका सदस्यको ज्यान जोगाएका थिए ।

उच्च तालिम प्राप्त कुकुर सली अब फेरि काममा फर्किने भएको छ । उसले अरु भेट्रानहरुलाई सहयोग गर्ने बताइएको छ । सली अब वाल्टर रीड नेशनल मिलिटरी मेडिकल सेन्टर जाने पूर्व राष्ट्रपति जर्ज डब्लु बुसले जानकारी दिएका छन् । जर्ज डब्लु बुस पूर्व अमेरिकी राष्ट्रपति जर्ज एचडब्लु बुसका छोरा हुन् ।

उनले इनस्टाग्राममा लेखेका छन्, ‘हाम्रो परिवारले सलीलाई जहिले सम्झिरहने छ, उसले आफनो नयाँ घरमा पनि अहिलेजस्तै सहजता सिर्जना गर्नेमा ढुक्क छौँ ।’

सलीले दुई पेज लामो निर्देशनको काम गर्न सक्छ । उसले टेलिफोनमा कुराकानी गर्ने तथा भनेको सामान खोजेर ल्याउनेसहितका काम पनि गर्ने गरेको छ । सलीलाई अमेरिकाज भेटडग्जले तालिम दिएको हो । सलीको इनस्टाग्राममा झण्डै ७७ हजार फलोअर्स छन् ।

सात महिनाअघि पूर्व प्रथम महिला बारबरा बुसको निधन भएपछि सली जर्ज एचडब्लु बुसलाई सहयोग गर्न गएको थियो ।

मंसिर १७, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्