पत्रकार जमाल खाशोग्गी हत्या प्रकरण

साउदी युवराजलाई खाशोग्गीले ‘पशु’ भन्ने गरेको खुलासा

टर्कीको स्थानबुलस्थित साउदी अरेबियाको कन्सुलर कार्यालयमा गएको अक्टोबर २ मा हत्या भएका पत्रकार जमाल खाशोग्गी साउदी अरेबिया र क्राउन प्रिन्स (युवराज) मोहम्मद बिन सलमान (एमबिएस) का तीव्र आलोचक हुन्, यो सर्वत्र जानकारी भएकै हो ।

तर खाशोग्गी व्यक्तिगत संवादमा पनि क्राउन प्रिन्स एमबिएसप्रति कडा रुपमा प्रस्तुत हुने गरेको खुलेको छ । अमेरिकी सञ्चार संस्था सिएनएनले खाशोग्गीका ४०० भन्दा बढी ह्वाट्सएपका म्यासज प्राप्त भएको र त्यसमा उनी एमबिएसप्रति कडा रुपमा प्रस्तुत हुने गरेको पाइएको उल्लेख गरेको छ ।

साउदी अरेबियाबाट निर्वासनमा रहेका आफ्ना साथीलाई खाशोग्गीले हत्या हुनु भन्दा अघि एक वर्षको अवधिमा पठाएका म्यासेजमा क्राउन प्रिन्स एमबिएसलाई ‘पशु’ वा ‘पाशविक’ भन्ने गरेको खबरमा उल्लेख गरिएको छ । खाशोग्गीले एमबिएसलाई आफ्नो मार्गमा आउने सबैलाई ‘निल्ने’, ‘प्याक–म्यान’ पनि भन्ने गरेको खुलेको छ ।

ओमार अब्दुलाजिज

खाशोग्गीका म्यासेजहरु मोट्रियलमा बस्दै आएका अधिकारकर्मी ओमार अब्दुलाजिजले म्यासेजहरु सार्वजनिक गरेका हुन् । उनले रेकर्ड गरिएका आवाज, तस्बिर तथा भिडियो सार्वजनिक गरेका हुन् ।

खाशोग्गीले गएको मे मा पठाएको एउटा म्यासेजमा क्राउन प्रिन्स एमबिएसका बारेमा भनेका छन्, ‘जतिलाई उसले खाँदै जान्छ, उती उसको भोक बढ्दै जान्छ ।’ एमबिएस आफ्नै सहयोगीहरुलाई पनि सखाप पार्न पछि नपर्ने खाशोग्गीको म्यासेजमा उल्लेख छ ।

खाशोग्गी र अब्दुलाजिजले अनलाईन युथ मुभमेन्टको तयारी गरेका थिए, साउदी सत्तालाई उत्तरदायी बनाउनका लागि । जमालले साउदी अरेबियाका लागि एमबिएस नै समस्या रहेको र उनी रोकिनु पर्ने बताउने गरोके अब्दुलाजिजले सिएनएनसँगको अन्तर्वार्तामा भनेका छन् ।

हत्याको दुई महिनाअघि खाशोग्गीले म्यासेजमा ‘गड हेल्प अस’ लेखेका थिए । त्यसको दुई महिनापछि उनको हत्या भयो । अब्दुलाजिजले आइतबार एक इजरायली कम्पनीविरुद्ध मुद्दा दायर गरेका छन् । त्यो कम्पनीले आफ्नो फोन ह्याक गर्न प्रयोग गरिएको सफ्टवेयर निर्माण गरेको अब्दुलाजिजको आरोप छ ।

खाशोग्गीको हत्यामा आफ्नो फोन ह्याक गरिनु प्रमुख रहेको अब्दुलाजिजको भनाई छ । यो अपराधबोधले आफूलाई जिउँदै मारिरहेको अब्दुलाजिजले बताएका छन् ।

अब्दुलाजिजले क्यानडामा अध्ययन गरिरहेकै बेलादेखि साउदी सत्ता विरुद्ध बोल्न थालेका थिए । क्यानडाले सन् २०१४ मा उनलाई आश्रय दिएको थियो र सन् २०१७ मा उनलाई स्थायी बासिन्दाको मान्यता दिएको थियो ।

मंसिर १७, २०७५ मा प्रकाशित