म, गुरुजिएफ र वाह उस्ताद!

जाकिर हुसैन। फाइल तस्बिर

भगवान विष्णुले नारदलाई रहस्य उद्घाटन गर्दै कहिं कतै भन्नु भएको छ, विपुल संस्कृत साहित्यमा–

न अहम वसामि बैकुण्ठे योगीनाम हृदयम न च,
मम भक्ता यत्र गायन्ति तिष्ठामि तत्र नारद।

संसारभरिका संगीत साधक, संगीत प्रेमी, संगीत व्यवसायी के तपाइँलाई लाग्दैन, संगीतको ‘मार्केटिङ्ग’मा यो भन्दा राम्रो अन्य केही विज्ञापन जिंगल भेट्टाउन शायदै सम्भव होला।

भगवान विष्णुले नारदजीसँग गरेको ‘कमिटमेन्ट’ अझै निर्वाह गरिराख्नु भएको छ वा यो पनि ओशोले आफ्ना ‘फलोअर्स’हरुसँग गरेको मस्ती वा मजाककै माफिक थियो, नारद वा तपाईँ हामी कसैसँग पनि यो बुझ्ने सामर्थ्य छैन।

संगीतबारे तपाइँहरुलाई यस पंक्तिकारले केही बुझाइराख्नु किमार्थ पनि पर्दैन । र, एउटा सामान्य संगीतश्रोता हुनुबाहेक मसँग संगीत विषयक कुनै ज्ञान पनि छैन।

जमानामा कहिं कतै पढेको थिएँ, संगीत ब्रम्हाण्डको आत्मा हो। ब्रम्हाण्ड र आत्माको भेउ न मलाई त्यो बेला थियो, न अहिले नै छ र बाँचुन्जेल हुन्छ भन्ने पनि किंचित विश्वास छैन।

हो, आज आएर यत्ति थाहा पाएको छु ब्रम्हाण्ड अनन्त छ, तपाइँ हाम्रो बुझाइ र अनुमानको अनन्त भन्दा पनि अनन्त, घात अनन्त। हिन्दु प्रज्ञाले आत्मालाई पनि अनन्त र अविनाशी भनेर व्याख्या गरेका अनेकौं शास्त्र उपलव्ध छन्।

तसर्थ ब्रम्हाण्डको आत्मा संगीत हो भने संगीत पनि अनन्त! के संगीतलाई अनन्तसम्म परिभाषित गर्ने कुनै उपाय छ। कलाको(संगीत)को कुनै सिमाना हुँदैन यस्ता आदि आदि ‘स्लोगन’ महज कुटिल राजनीतिक अभिव्यक्ति मात्र हुन्। यस्ता राजनीतिक ‘स्लोगन’हरु स्वाङ मात्र हुन्छन्। स्वाङलाई सहज भाषामा ‘डिप्लोमेसी’ भनी बुझ्नुस् जसमा विवेक र तर्कको कुनै स्थान हुँदैन।

के संगीत विश्वव्यापी वा माथि भनिए झैं अनन्त हुनसक्छ? ‘बिग बैंग थ्योरी’ र ‘स्ट्रिङ्ग थ्योरी’ को आलोकमा सामञ्जस्य गरी विश्लेषण गर्ने हो भने संगीत विश्वव्यापी र अनन्तमात्र होइन, सृष्टिको मूल कारण पनि हो भनि सत्यापित गर्न धेरै कसरत गरिराख्नु पर्दैन।

युवावस्थामा कतै पढेको थिएँ, शायद उपनिषदकालीन साहित्यमा –एक जना ऋषिको उद्घोष थियो, विश्वको उत्पत्तिको मूलकारण ध्वनि हो। नाद महिमा बारे तपाईँहरुले पनि सुनेकै हुनुपर्छ। नाद ध्वनि नै हो। ध्वनिको सुक्ष्मतम रुप। आधुनिक ‘स्ट्रिङ्ग थ्योरी’ बारे बुझेका व्यक्तिलाई हिन्दुहरुको जगत उत्पत्ति सम्बन्धी ‘नाद अवधारणा’ स्वीकार गर्न किञ्चित पनि समस्या हुन्न।

विश्व ब्रम्हाण्डको रचना नै तरंग, लहर वा ‘स्ट्रिङ्ग’बाट भएको हो। ‘स्ट्रिङ्ग थ्योरी’को पूर्ण विवेचनाले त हिन्दुहरुको अनेक लोक, अनेक ब्रम्हाण्डको अवधारणामा पनि सहीछाप गरेको छ। ‘मल्टीभर्स थ्योरी’ र ‘प्यारेलल युनिभर्स’ अब ‘योग वशिष्ठ’ ग्रन्थका स्वैर कल्पनामा सीमित रहेनन्।

संगीत विषयक यस आलेखमा विज्ञानको गहनता समावेश गरेर यसलाई जटिल बनाउने प्रयोजन नभएकोले प्रसङ्गवश विज्ञान विषयी चर्चा आउन गएपनि त्यसको विशद् व्याख्या यहाँ अप्रासंगिक हुनेछ।

विश्व ब्रम्हाण्डको रचना नै तरंग, लहर वा ‘स्ट्रिङ्ग’बाट भएको हो। ‘स्ट्रिङ्ग थ्योरी’को पूर्ण विवेचनाले त हिन्दुहरुको अनेक लोक, अनेक ब्रम्हाण्डको अवधारणामा पनि सहीछाप गरेको छ। ‘मल्टीभर्स थ्योरी’ र ‘प्यारेलल युनिभर्स’ अब ‘योग वशिष्ठ’ ग्रन्थका स्वैर कल्पनामा सीमित रहेनन्।

संगीत के हो? तबलामा थाप वा गिटारको एउटा ‘स्ट्रिङ्ग’ चलाउनुस्। उत्पन्न भएको तरंग, लहर वा ‘भाइब्रेसन’लाइ समुचित ‘सिक्वेंश’मा समायोजन गरिएको ‘कन्टिन्युटी’नै संगीत हो। स्मरण रहोस्, हाम्रो मस्तिष्कले शरीरका विभिन्न अंगबाट प्राप्त हुने संदेश बुझ्ने भाषा भने मूलरुपमा तरंग नै हो। चाहे श्रवण होस, दृष्य होस, गन्ध होस कि स्पर्श अथवा स्वाद । यी सबै तरंगमा ‘कन्भर्ट’ भएर मस्तिष्क सम्म पुग्छन्।

‘ओह नो’ मैले त आफ्नै लागि ‘वेलकम’ फिल्मका नाना पाटेकरले बारम्बार भनेको डायलग ‘कन्ट्रोल उदय कन्ट्रोल’ सम्झेर लेख्नमा ‘कन्ट्रोल’ गर्ने मनस्थितिमा पुगें। कारण लेख्दालेख्दै सम्झना गुरुजिएफको आइदियो।

विश्वचर्चित पुस्तकहरु लेखेका अति प्रसिद्ध विद्वान पि.डि. आसपेन्सकी गुरुजिएफलाई गुरु थाप्ने उद्देश्यले पुगे। उनको ख्याति गुरुजिएफसम्म पनि पुगिसकेको थियो। गुरुजिएफले उनलाई कापी र पेन दिँदै भने, ‘तिमीलाई जे जे थाहा छ, ती सबै कुरा यस कापीमा लेख, जे तिमीलाई थाहा छैन, त्यो म तिमीलाई सिकाई दिन्छु। तिमीलाई थाहा भएको कुरा पुनः तिमीलाई भनी राख्नुको के अर्थ?

आसपेन्सकीले रातभरी मन्थन गरे तर कापीमा केही लेख्न सकेनन्। भोलिपल्ट गुरुजिएफलाइ उनले भने, ‘मैले रातभरि चिन्तन गरें, तर मलाई लाग्दैन मलाई केही पनि थाहा छ। तसर्थ केही लेख्न सकिन।’

गुरुजिएफले हाँस्दै भने, ‘तिमी परीक्षामा उतीर्ण भयौ। अब तिमी मसँग बस्न सक्छौ। केही पनि लेखेको भए तिमीले यहाँबाट आजै फर्किनुपर्थ्यो।’

माथि कतै उल्लेख भयो, तबलाको थाप र गिटारको तारको कम्पनबाट निःसृत तरंग नै संगीत हो। तर के मैले जति थाप हाने पनि, गिटारका तार जति झंकृत गरेपनि त्यहाँ संगीत जन्मिन सक्छ? के प्रत्येक ‘भाइब्रेसन’लाई तपाईँको मस्तिष्कले संगीत भनी परिभाषित गर्छ? सबै ‘भाइब्रेसन’ संगीत हुन सक्दैनन्। त्यसो भए त ‘स्ट्रिङ्ग थ्योरी’का व्याख्याकारहरुसंग ‘डिस्कस’ गर्न सकिन्छ, प्रत्येक लहरको आपसी संयोजनले यस ब्रम्हाण्ड जस्तै अर्को ब्रम्हाण्डको श्रृजना हुनु अपरिहार्य त छैन।

लहर वा कम्पनको निश्चित संयोजन र तत्सम्बन्धी ‘कन्टिन्यूटी’ले ‘सेन्ट्रीफ्युगल फोर्स’ जस्तै एउटा ‘फोर्स’ उद्दीपन गर्छ। त्यसलाइ संगीत भन्नुस, संगीतको आत्मा भन्नुस्। संगीत अथवा संगीतरुपी आत्मा जुनसुकै कम्पनबाट पनि स्वरुपमा आउने सम्भावना सँधै र सर्वत्र विद्यमान रहन्छ। तर, तर सबै कम्पन वा ‘भाइब्रेसन’ संगीत बन्न सक्छन् भन्ने कुनै अपरिहार्यता छैन।

गुर्जिएफ।

निश्चय पनि यस आलेखमा गुरुजिएफको स्मरण निष्प्रयोजन होइन। गुरुजिएफ भन्ने गर्थे, सबै मानिससँग आत्मा हुन्छ भन्ने विश्वास गर्नु निरर्थक हो। हो, सबै मानिसमा आत्मा आकारमा आउन सक्ने सम्भावना निहीत रहन्छ। तर यो सम्भावनालाई मूर्तरुप दिन सबैले सक्दैन।
मानवताको इतिहासमा शायद गुरुजिएफ मात्रै एक्लो व्यक्ति हुन् जसले सबै मानिसमा आत्मा हुने कुरा अस्वीकार गरे। नास्तिक भएर होइन। आस्तिक दृष्किोणबाट उनले सबैसँग आत्मा हुन्छ भन्ने अस्वीकार गरे। हो, आत्मा जन्माउने सम्भावना सबैसँग हुन्छ। आजसम्मको आफ्नो मूल्यांकन गर्दा स्पष्ट भन्न सक्छु न मभित्र संगीत जन्मियो न आत्मा नै।

भारतीय राजदूतावासको आयोजन तथा अभिषेक दुबेको निमन्त्रणामा केही दिन पहिला जाकिर हुसैनलाई ‘लाइभ’ सुन्न पाएँ। जाकिरको तबलावादनसँग मेरा कैयन व्यक्तिगत अनुभवहरु छन्। तर, खेदपूर्वक भन्नुपर्छ जाकिर मैले तपाईँको ‘तीनताल’, ‘झपताल’, ‘कहरवा’, ‘दादरा’ आदिलाई संगीतको रुपमा श्रवण गरेको होइन। म कहिल्यै संगीतको प्रेमी वा पारखी छँदै थिइन। मैले तपाईँको श्रृजनाको उपयोग ‘प्रोटेक्टर’का रुपमा गरेको छु। तपाईँको संगीत मेरा लागि सुरक्षा कवच मात्रै रह्यो। जाकिर तपाईँलाई ‘लाइभ’ सुन्दै गर्दा/प्रोजेक्टरमा हेर्दै गर्दा मेरो मनसमा एउटा बडो ‘अनसाइन्टिफिकल’ विचार आयो। यही विचार अभिव्यक्त गर्न यो आलेखको रुपरेखा कोर्नुपर्‍यो।

मेडिकल साइन्सले अनेकौं तवरले ‘प्रुभ’ गरिसकेकै कुरा हो, हामीसँग हाम्रा सबै गतिविधि सञ्चालन गर्न एउटा मस्तिष्क छ। समस्त इन्द्रियले मस्तिष्कलाई ‘इन्फरमेसन’ पठाउने कार्य गर्छन्। र, सारा शरीर एवं समस्त इन्द्रिय मस्तिष्कबाटै सञ्चालित छन्। शरीरका विभिन्न अंगबाट मस्तिष्कलाई सन्देश पुग्न कति समय लाग्छ त्यसको पनि मोटामोटी विवेचन भइसकेको छ। माइक्रोसेकेण्ड भएपनि त्यहाँ समय लाग्छ, यो बेग्लै कुरा हो, हाम्रो प्रतिदिनको व्यवहारिक जीवनमा हामी माइक्रोसेकेण्डको अन्तराल बुझ्न समर्थ छैनौं। र, हामीलाई यो आवश्यक पनि छैन।

प्रोजेक्टरमा जाकिरले तबलामाथि औंला र हत्केलाकोे ‘मुभमेण्ट’ स्पष्ट देखियो। साहित्यमा यस गतिलाई अभूतपूर्व भनेर मैले ‘वाह उस्ताद’ लेखिदिए कुरा सकिन्थ्यो। जाकिरप्रति मेरो लेखकीय निसाफ त पूरा हुन्थ्यो यो लेखिदिँदा तर गुरुजिएफले भनेझैं ‘मभित्र रहेको आत्मा जन्मिने सम्भावना’ प्रति निसाफ हुन्नथ्यो।

प्रबुद्ध पाठक जस्तो कि तपाइँ सबैलाइ विदित छ हाम्रो शरीरको सबैभन्दा सानो इकाइ कोशिका आफैंमा सम्पूर्ण जीवन हो। कोशिकामा जीवन छ, चेतना छ, ‘मेमोरी’ छ, जन्मदायिनी शक्ति छ।

तबलामाथि औंला र हत्केलाको अद्भूत सामञ्जस्य र गति हेर्दा मैले सारा विज्ञान बिर्सें। मलाई लाग्यो, मस्तिष्कले निर्देशन दिएर यो सम्भव हुन सक्दैन। जाकिरले औंला–औंलामा र हत्केलामा नै मस्तिष्कको विकास गरेका छन्। प्रत्येक औंला आफैंमा मस्तिष्क बनेको छ।

शरीर विज्ञान एउटा मात्र मस्तिष्क रहेको भन्छ, अनेक मस्तिष्कको कुरा हास्यास्पद हो। तर विज्ञानलाई शरीरबारे कति नै थाहा छ? एक डेढ वर्ष पहिला मात्रै विज्ञानले शरीरमा रहेका तीनवटा अंगबारे जानकारी पाएको थियो। भोलि विज्ञानले प्रत्येक कोशिकामा मस्तिष्कीय क्षमता हुन्छ र यसको विकास गरेर कुनै पनि अंगका कोशिकाले त्यस अंगमा मस्तिष्क विकशित गर्न सक्छन पनि त भन्न सक्छ।

अन्तमा ‘वाह उस्ताद’ नभनी कलमले विराम लिन मानेन।

२०१७
लेखक ज्ञान मित्र।
मंसिर १७, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्