राजेश हमाल लेख्छन्, ‘कुनै समय मलाई सलाम गर्ने विल्सनबिक्रम अहिले मभन्दा हिट’

काठमाडौँ – करिब दुई दशकअघिको कुरा हो। महानायक राजेश हमाल र नायिका करिश्मा मानन्धर अभिनित फिल्म ‘साथी’को सुटिङ चलिरहेको थियो। त्यति बेला फिल्मको सुटिङ भनेपछि हेर्न जानेको लर्को लामै हुन्थ्यो।

त्यो लाइनमा युवा थिए। बृद्धबृद्धा थिए, अनि बालबालिका पनि थिए। झापा–इलाममा सुटिङ भएको फिल्मको सुटिङ हेर्न जाने शिलशिलामा एक जना बालकले त खेल्न अवसर नै पाए। उनी हुन् –विल्सनबिक्रम राई।

फिल्ममा बालकको भूमिकामा रहेका विल्सनविक्रम अहिलेका चर्चित हास्य कलाकार हुन्। त्यति बेलै हो विल्सनविक्रमले महानायक राजेश हमालको संगत गर्न पाएको। र, फिल्ममा इन्ट्री पनि ख्यालख्यालमै भयो।

त्यति विगत सम्झँदै राजेश हमालले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘मेरो छेउमा उभिएको क्यापवाला सानो केटा अहिलेको विल्सनबिक्रम राई (तक्मेबुढा) हो। ऊ बेला झापा–इलाममा ‘साथी’ फिल्मको सुटिङ हुँदा दिनभर मेरो छेउमा बसेर बेलुका भएपछि सलाम गरेर जान्थे भाइ!’ अहिले त मभन्दा पनि हिट छन्। संगतगुनाको फल भनेको यही हो।’

हो पनि। अहिले विल्सनबिक्रमको उचाई चुलिएको छ कलाकारिताको क्षेत्रमा। बालकको भूमिकाबाट नेपाली रजतपटमा प्रवेश गरेका विल्सनविक्रम अहिलेचाहिँ बृद्ध अर्थात् तोक्मेबुढाको भूमिकाले चर्चित छन्।

उनले भूमिका निर्वाह गरेका चलचित्र तथा टेलिश्रृंखला चर्चित छन्। विल्सनविक्रमलाई देश विदेशमा हुने स्टेज कार्यक्रममा भ्याइनभ्याइ छ।

मंसिर १७, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्