माथिल्लो तामाकोशी निर्माण कम्पनीलाई सात दिनभित्र खाका बुझाउन मन्त्री पुनको निर्देशन

काठमाडौं– उर्जा, जलस्रोत तथा सिँचाईमन्त्री वर्षमान पुनले ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत आयोजनालाई द्रूत गतिमा अघि बढाउन पहल थालेका छन्।

यसअघि मन्त्री पुनले आयोजना प्रमुख विज्ञान श्रेष्ठ, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र मन्त्रालयका सचिव अनुपकुमार उपाध्यायलाई राखेर मन्त्रालयमा आयोजनालाई युद्धस्तरमा अघि बढाउने विषयमा छलफल गरेका हुन्।

सिंहदरबारस्थित उर्जामन्त्रालयमा सोमबार मन्त्री पुनले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, परियोजनका प्रमुख विज्ञान श्रेष्ठ, परामर्शदाता कम्पनीका प्रतिनिधि टेक्सम्याको रेलवे इन्जिनियरीङलाई राखेर आयोजनामा देखिएको समस्यालाई हल गर्ने विषयमा छलफल गरेका हुन्।

पुनले आयोजनामा देखिएको समस्यालाई हल गर्न यसअघि उहाले अनौपचारीक रुपमा बैठक गरेका थिए। सोमबार भएको छलफलमा मन्त्री पुनले कामको गति बढाउन निर्देशन दिनुका साथै निर्माण कम्पनीलाई सात दिनभित्र काम अघि बढाउने स्पष्ट खाकासहित प्रस्तुत हुन निर्देशन दिए।

‘अब समयमा सम्झौता हुँदैन,गुणस्तरमा पनि हामी सम्झौता गर्दैनौँ, आयोजनाको काम कहाँ कसरी र कहिले सक्ने हो त्यसको स्पष्ट खाकासहित सात दिनभित्र जवाफसहित प्रस्तुत हुनुहोस्,’ मन्त्री पुनले छलफलमा भने।

समयमा काम अघि नढाइएको खण्डमा र खाका प्रस्तुत नगरे ठेक्का तोडेर भए पनि प्रक्रिया अघि बढाउने चेतावनी मन्त्री पुनले दिएका छन्।

उर्जामन्त्री पुन यसअघि आयोजनाको प्रगतीको बारेमा जानकारी लिन प्रधानमन्त्री केपी शर्मा ओलीसहित दोलखा पुगेका थिए। उनले आयोजनामा देखिएको समस्या हल गर्न सम्बन्धित पक्षलाई पटक–पटक निर्देशन दिँदै आएका छन् ।

टेक्सम्याको कम्पनीले काम छिटोभन्दा छिटो अघि बढाउने र समयसिमाभित्रै खाका बुझाउने प्रतिवद्धता जनाएको छ।

मंसिर १७, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्