देखाएनन् सौहार्दता, स्वागत गरेनन् नयाँ युगको

रोनाल्डो र मेस्सीले अस्वीकार गरेको निम्तो

विश्व फुटबलको व्यक्तिगत तर्फको सबैभन्दा माथिल्लो अवार्डमा विगत एक दशकदेखिको दुई खेलाडीको हालिमुहालीको क्रम भंग भएको छ । क्रोएसियाका लुका मोड्रिकले यो वर्षको बालोन डी’ओर अवार्ड जितेका छन् ।

फ्रेन्च फुटबल म्यागजिनले प्रदान गर्दै आएको अवार्डको घोषणा सोमबार राति फ्रान्सको राजधानी पेरिसमा भएको औपचारिक समारोहका बिच अवार्ड प्रदान गरिएको हो ।

रियल मड्रिड तथा क्रोएसियाका मिडफिल्डर लुका मोड्रिकले सन् २००८ देखि अवार्डमा रहँदै आएको क्रिष्टियानो रोनाल्डो तथा लियोनल मेस्सीको दबदबा भंग गरे ।

यसअघि उनले विश्व फुटबलको प्रशासकीय निकाय फिफाले हरेक वर्ष प्रदान गर्ने उत्कृष्ट वर्ष फुटबलरको अवार्ड पनि लुकाले नै पाएका थिए । सन् २००७ पछि विश्वले रोनाल्डो वा मेस्सी बाहेको उत्कृष्ट फुटबलर अवार्ड पाउने खेलाडीको रुपमा लुकालाई पाएको छ ।

सन् २००७ मा काकाले बालोन डी’ओर अवार्ड जितेयता रोनाल्डो र मेस्सीले अवार्ड जित्दै आएका थिए । पछिल्ला दुई वर्ष रोनाल्डो वर्षका उत्कृष्ट फुटबलर थिए ।

फिफा वर्ष खेलाडी र बालोन डी’ओर दुवैमा लुकाले रोनाल्डोलाई पछि पारे । मेस्सी फिफा वर्ष खेलाडीमा अन्तिम तीनमा परेका थिएनन् भने बालोन डी’ओरमा पाँचौँ स्थानमा रहे ।

पछिल्लो १० वर्षदेखि विश्वको उत्कृष्ट फुटबलरका अवार्ड आलोपालो जस्तै गरी उचाल्दै आएका रोनाल्डो र मेस्सीले भने विश्वले पाएको नयाँ अवार्ड विजेतालाई सजिलै स्वीकार नगरेको देखियो ।

गएको असोजमा भएको फिफा वर्ष खेलाडी अवार्ड समारोहमा जस्तै सोमबार राति भएको बालोन डी’ओर अवार्ड समारोहमा रोनाल्डो र मेस्सी दुवै उपस्थित भएनन् ।

अरु खेलाडी उपस्थित भएकोमा रोनाल्डो र मेस्सीले यसपटकको अवार्ड समारोहमा सौहार्दता देखाएनन् । उनीहरुले समारोहलाई बेवास्ता गरे ।

आफ्नो जित्ने सम्भावना हुँदा दुवै खेलाडी ठाँडिएर आउने गरेका थिए, तर यो पटक न रोनाल्डो पुगे न मेस्सी देखिए । यसले रोनाल्डो र मेस्सी नयाँ प्रतिभाव वा विजेताप्रति सौहार्द नभएको वा बेवास्ता गरेको देखियो ।

मेस्सीले आफ्नो परिवारसँग समय बिताए भने रोनाल्डो पनि समारोहमा आएनन् । मेस्सी र रोनाल्डो दुवैले समारोहको निम्तो स्वीकार गरेनन् । उनीहरुले आफ्नो युग समाप्त भएको र नयाँ युग आएको हेर्न चाहेनन् वा सकेनन् ।

मंसिर १८, २०७५ मा प्रकाशित