समझदार र असल भन्दा मिल्न नसक्नेहरुको कमाई राम्रो, तर कसरी ?

हामीले प्रायः सुन्ने गरेका छौँ, ‘सबैसँग राम्रो बन्न खोज्यो भने आफू नै पछि परिन्छ ।’ सच्चा र असल व्यक्तिले यसलाई प्रायः होइन जस्तो गर्छन् । तर पछिल्लो अनुसन्धानले बुढापाकाले भन्ने गरेको ‘सबैसँग र सबै ठाउँमा राम्रो बन्न सकिँदैन वा हुँदैन’ भन्ने भनाईको पक्ष बलियो रहेको देखाएको छ ।
शिक्षित र आफ्नो व्यवसायीक क्षेत्रमा सफल रहेका ४० वर्षमाथिका व्यक्तिमा गरिएको अनुसन्धानमा सबै अवस्थामा असल वा सत्य बन्नुको साटो आवश्यकता अनुसार व्यवहार परिवर्तन गर्न सक्ने व्यक्ति नै बढी सफल रहेको देखिएको छ ।
राम्रो बन्दा आफैलाई नोक्सानी हुन सक्छ
मानौँ, लगभग उही समयमा उस्तै पारिवारिक परिवेशमा दुई बच्चा (छोरा) जन्मिएका छन् । उनीहरुको आइक्यू र रुचि वा लक्ष्य पनि उस्तै छ । तर उनीहरुको व्यक्तित्व भने फरक पाइन्छ ।
एउटा सबैसँग मिलनसार छ र अरुलाई सहयोग गर्न तत्पर छ भने अर्को आफ्नो ख्याल गर्छ, अरुप्रति रिस पनि छ । जब यी दुई बच्चा हुर्किन्छन् र आफ्नो क्षेत्रमा लाग्छन्, उनीहरुको व्यक्तित्वले उनीहरुको व्यवसायीक जीवनमा प्रभाव पार्न थाल्छ ।
तर कसरी ?
यसको उत्तर खोज्नका लागि कोपनहेगन विश्वविद्यालयका अर्थशास्त्री मेरियम जेनसोवस्कीले अहिले आफ्नो कार्यक्षेत्रमा रहेका युवाको तथ्यांक संकलन गरेर अध्ययन गरेकी छन् ।
लेबर इकोनोमिक्समा प्रकाशित भएको उनको पछिल्लो अध्ययनमा उनले अमेरिकाको क्यालिफोर्नियाका १८ देखि ७५ वर्षसम्मका १००० भन्दा बढी पुरुषको तथ्यांक संकलन गरिन् । उनीहरुको आइक्यु १४० भन्दा बढी थियो । मेरियमले उनीहरुको आर्थिक–सामाजिकदेखि मनोवैज्ञानिक पक्षको पनि अध्ययन गरेकी छन् ।
अध्ययन गरिएका सबैको पारिवारिक, शैक्षिक तथा सामाजिक परिवेश लगभग उस्तै छ तर आय भिन्न, यसको प्रमुख कारण व्यक्तित्व रहेको पाइएको उनले बताएकी छन् । कम मात्रै महिला कामका लागि जाने समयको पनि तथ्यांक रहेकाले व्यक्तित्वले महिलाको कामकाजी जीवनमा कस्तो असर गर्छ भन्ने निष्कर्ष निकाल्न भने नसकिएको अनुसन्धानकर्ता मेरियमले बताएकी छन् ।
अरुले भर गर्न लायक, मेहनती भन्दा अरुको कुरामा झट्ट सहमत नहुने, कम मधुर वा सहयोगी व्यक्तिले जीवनमा बढी आय गरेको र पछि उसले नेतृत्वको सम्हालेको पनि देखिएको छ ।
लागेको कुरा भन्ने मेहनतीसँगै झट्ट सहमत नहुने र अनावश्यक रुपमा उदार नबन्ने व्यक्तिले आफ्नो व्यवसायीक जीवनमा ४० देखि ६० वर्षको बिचमा राम्रो सफलता पाउने गरेको देखिएको छ ।
उनीहरुको तुलनामा सहयोगी, मिलनसार पुरुषहरुको आय कम रहेको देखिएको छ । यस्ता व्यक्तिले अघिल्लो वर्गका व्यक्तिले भन्दा जीवनकालमा झण्डै दुई लाख ७० हजार अमेरिकी डलर कम आए गर्ने देखिएको छ ।
समझदार व्यक्ति विशेष गरी पुरुषहरु नेतृत्वदायी भूमिकामा कम पुग्ने गरेको पनि देखिएको छ । यस्ता व्यक्ति पनि नेतृत्व तहमा पुगेको देखिएको छ । तर आफ्नो व्यवसायीक जीवनको उर्जाशिल समयमै नेतृत्वमा पुग्न चाहनेका लागि भने मिलनशार र समझदार हुनु घातक बन्न सक्छ ।