दौरा–सुरुवालमा प्रसिद्ध हलिउड अभिनेता मोर्गन फ्रीम्यान

नेपाली पोसाकमा सजिएका मोर्गन फ्रीम्यान। तस्बिरः काठमाडौँस्थित अमेरिकी दूताबास

काठमाडौँ– केही दिनदेखि नेपालमा रहेका हलिउडका चर्चित अभिनेता मोर्गन फ्रीम्यान नेपाली भेषमा देखिएका छन्। ‘द स्टोरी अफ दी गड’ टेलिश्रृंखलाको छायांकनका लागि फ्रीम्यान काठमाडौँ आएका हुन्।

फ्रीम्यान दौरासुरुवाल, पाल्पाली ढाकाको अस्कोट र खैरो रंगको कोटमा देखिएका छन्। ८१ वर्षका फ्रीम्यान इन्भिक्टस चलचित्रमा दक्षिण अफ्रिकी नेता नेल्सन मण्डेलाको भूमिकामा देखिएका थिए।

उनले खेलेका थुप्रै चलचित्रहरुमध्ये ‘मिलियन डलर बेबी’मा फ्रीम्यानको पात्रले ओस्करमा अवार्ड जितेको थियो। उनको कार्यक्रम कति दिनको हुने भन्ने जानकारी दिइएको छैन।

सोही विषयमा जानकारी दिँदै काठमाडौँस्थित नेपालका लागि अमेरिकी दूताबासले आधिकारिक फेसबुक पेजमा लेखेको छ, ‘हाम्रा सांस्कृतिक सम्पदा संरक्षणसम्बन्धी परियोजनाहरुको क्रममा हामीलाई सधैँ सोधिनेमध्ये एक प्रश्न हो, सम्पदा संरक्षण किन महत्वपूर्ण छ? धेरैमध्ये एक उत्तर यो हो कि भविष्यका आउने पुस्ताहरुसँगै हलिउडका महान कलाकार मोर्गन फ्रीम्यानजस्ता कयौँ पर्यटकहरुका लागि तिनलाई जोगाउन। उहाँलाई नेपाली दौरा सुरुवाल लगाएर काठमाडौँका सांस्कृतिक स्थलहरुमा घुम्दा गजब सुहाएको छ, छैन त?’

मंसिर १८, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्