अब नेपाल-बंगलादेश बीच पनि अन्तरदेशीय प्रसारण लाइन

माथिल्लो कर्णालीको विद्युत् बंगलादेश लैजान मार्ग प्रशस्त

काठमाडौँ-माथिल्लो कर्णाली जलविद्युत् आयोजनाबाट ५०० मेगावाट विद्युत् लैजान बङ्गलादेशलाई मार्ग प्रशस्त भएको छ।  सो आयोजनाको प्रवद्र्धन भारतीय कम्पनी ग्रान्धी माल्लिकार्जुन राव(जिएमआर)ले गरिरहेको छ। मंगलबार सम्पन्‍न नेपाल र बङ्गालदेशका ऊर्जा संयन्त्रको बैठकले माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको विद्युत् निर्यातसम्बन्धी सम्झौतालाई अनुमोदन गरेको छ।

गत भदौमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले गरेको बङ्गलादेश भ्रमणका क्रममा सो आयोजनाबाट विद्युत् खरीद गर्न बङ्गलादेश सरकार तयार रहेको जनाएको थियो।

बङ्गलादेशले भारतीय कम्पनी एनभिभिएनबाट ५०० मेगावाट विद्युत् लैजाने भएको छ।तर प्रवर्द्धक जिएमआरले वित्तीय व्यवस्थापन गर्न पाएको म्याद गत असोज २ गते नै सकिएको छ। म्याद थपका लागि जिएमआरले लगानी बोर्डमा आवेदन दिएको छ।

नेपाल र बङ्गलादेश संयुक्तरुपमा विद्युत् व्यापारको सम्भावना खोज्न सहमत भएका छन्। यस्तै नेपालमा जलविद्युत् आयोजनाको विकासमा लगानीको सम्भावना, नेपाल र बङ्गलादेशबीच अन्तरदेशीय विद्युत् प्रसारण लाइनको सम्भावना र दुई देशबीच नवीकरणीय ऊर्जाका क्षेत्रमा सहयोग गर्नेसम्बन्धी निर्णयसमेत बैठकले अनुमोदन गरेको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव एवं प्रवक्ता दिनेश घिमिरेले जानकारी दिए।

यस्तै द्विपक्षीय बैठकमा विद्युत् व्यापारको सम्भावना खोज्न दुवै देशले आफ्नो दीर्घकालीन योजनाको समीक्षा गर्ने र नेपालमा लगानीयोग्य सम्भावित आयोजनाको पहिचान गर्न एक प्राविधिक टोली गठन गर्ने निर्णयसमेत गरेको छ।

सो प्राविधिक टोलीमा रहने सदस्यको नामावली एक महिनाभित्र दुवै देशले एकअर्कालाई उपलब्ध गराउने भएका छन्। सो टोलीले आयोजनाको पहिचान तथा उत्पादन गर्ने विषयमा आवश्यक परामर्श र निर्णय गर्नेछ।

यसैगरी नेपाल र बङ्गलादेशबीच अन्तरदेशीय विद्युत् प्रसारण लाइनको सम्भावनाबारे अध्ययन गर्न दुवै देशले तीन–तीन सदस्य रहने गरी संयुक्त प्राविधिक टोली गठन गर्ने भएको छ। उक्त प्राविधिक टोलीले प्रसारण लाइनको समग्र अवस्थाका बारेमा अध्ययन गर्नेछ। आगामी एक महीनाभित्र सो टोलीमा रहने सदस्यको नामसमेत एकअर्का मुलुकले उपलब्ध गराउने सहमति भएको प्रवक्ता घिमिरेले जानकारी दिए।

संयुक्त समितिको आगामी बैठकमा अन्तरदेशीय प्रसारण लाइनसम्बन्धी त्रिपक्षीय व्यवस्था गर्न आआफ्नोतर्फबाट प्राथमिकताका साथ सो विषयको उठान गर्ने सहमतिसमेत भएको छ।

बैठकमा नेपालकोतर्फबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव अनुपकुमार उपाध्याय र बंगलादेशकोतर्फबाट विद्युत् ऊर्जा र खनिज स्रोत मन्त्रालयका सचिव डा अमहद काइकाउसले नेतृत्व गरेका थिए। सोमबारदेखि शुरु भएको बैठकमा दुई देशबीचको ऊर्जा सहकार्यका विविध आयामका बारेमा छलफल भएको थियो।

सोमबारको बैठकमा संयुक्त कार्य समूहले आवश्यक प्रस्तावको तयारी गरेको थियो। गत साउन २५ गते दुई देश बीचमा ऊर्जा क्षेत्रमा आपसी सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको थियो। सोही समक्षदारीपत्रको दफा चार बमोजिम सम्झौता कार्यान्वयनमा सहजीकरण गर्न बैठक आयोजना गरिएको हो।

बङ्गलादेशले सन् २०४१ सम्म नेपालबाट करीब नौ हजार मेगावाट विद्युत् आयात गर्ने विषयलाई प्रमुख प्राथमिकतामा राखेको छ। गत भदौमा मन्त्री पुनले गरेको भ्रमणका क्रममा बङ्गलादेशी प्रधानमन्त्री शेख हसिना र त्यहाँका विद्युत् ऊर्जा, खनिज स्रोत मन्त्री नसरुल हमिदले पनि सो जानकारी गराएका थिए।

मंसिर १८, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्