पत्रकार जमाल खाशोग्गी हत्या प्रकरण

साउदी युवराजमाथि बर्सिए अमेरिकी सिनेटर, भने–सन्की, पागल र खतरनाक

पत्रकार जमाल खाशोग्गीको हत्यामा साउदी अरेबियाका क्राउन प्रिन्स (युवराज) मोहम्मद बिन सलमान (एमबिएस) को संलग्ता नरहेको भन्नेमा आफूहरुलाई थप विश्वास लाग्ने अवस्था बनेको अमेरिकाका सिनेटरले बताएका छन् ।

अमेरिकी पत्रिका द वासिङ्गटन पोस्टमा लेख्दै आएका पत्रकार खाशोग्गीको गएको अक्टोबर २ मा टर्कीको स्थानबुलस्थित कन्सुलर कार्यालयमा भएको हत्याको सम्बन्धमा अनुसन्धान गरेको अमेरिकी गुप्तचर निकाय सिआइएले आफ्नो अनुसन्धानका बारेमा सिनेटरलाई ब्रिफिङ्ग गरेको हो । त्यसपछि सिनेटरहरुले घटनामा युवराज एमबिएसको संलग्नता रहेको तर्फ संकेत गरेका हुन् ।

सिनेटर लिन्डसी ग्राहमले आक्रमक रुपमा भनेका छन्, ‘म अब यो विश्वासमा पुगेको छु कि खाशोग्गीको हत्या क्राउन प्रिन्स एमबिएसकै निर्देशनमा भएको हो ।’

सिनेटर लिन्डसी ग्राहम

साउथ क्यारोलिनाका रिपब्लिकन सिनेटर ग्राहमले साउदी क्राउन प्रिन्सलाई ‘क्रेजी’ (पागल वा सन्की), खतरनाक तथा काम नलाग्ने व्यक्तिको रुपमा परिभाषित गरेका छन् ।

साउदी अरेबियाले पत्रकार खाशोग्गीको हत्या प्रकरणमा ११ जनामाथि आरोप दर्ता गरेको छ । तर हत्यामा क्राउन प्रिन्स वा अरु कोही पनि राजपरिवारका सदस्याको कुनै पनि रुपमा संलग्नता नरहेको बताउँदै आएको छ ।

हत्या भएका पत्रकार खाशोग्गी साउदी अरेबिया, खासगरी क्राउन प्रिन्स एमबिएसका तीव्र आलोचक हुन् । यहि कारण एमबिएसकै निर्देशनमा हत्या भएको आरोप लाग्ने गरेको छ ।

सिआइए पनि एमबिएसको संलग्नता रहेको निष्कर्षमा पुगेको खबर आएका थिए । तर पनि विदेश मन्त्रालयले त्यसबारे ठोस निष्कर्ष नआएको भन्दै खबरहरु खारेज गरेको थियो ।

यस्तै अमेरिकी राष्ट्रपति ट्रम्पले पनि कुनै पनि अवस्थामा साउदी अरेबियासँगको रणनीतिक सम्बन्ध कायम रहने भन्दै क्राउन प्रिन्सको साथ दिए । सिनेटर बब मेनेन्डेज, बब कोर्कर, रिचार्ड सिल्बीसहितले कुनै पनि हालतमा अपराधिको छुट स्वीकार्य नहुने बताएका छन् ।

मंसिर १९, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्