स्वरसम्राट नारायणगोपालको २८ औँ स्मृति दिवस आज

काठमाडौँ – स्वरसम्राट नायरायणगोपाल गुर्वाचार्यको २८ औँ स्मृति दिवस बुधबार विविध कार्यक्रम गरी मनाईँदै छ । नेपाली सुगम संगीतका अजम्बरी गायक नारायणगोपालको सम्झनामा विभिन्न कार्यक्रम हुँदैछन्न् ।

वि सं १९९६ सालमा काठमाडौँको किलागलमा जन्मिएका नारायण गोपालको २०४७ साल मंसिर १९ गतेका दिन निधन भएको थियो । विक्रम सम्वत २०२० सालमा रेडियो नेपालबाट माणिकरत्न स्थापित र प्रेमध्वज प्रधानको संगीतमा गीत गाएर स्वर परीक्षा पास गरेका नारायण गोपालले एक सय ३५ भन्दा धेरै गीत गाएका छन् ।

उनले आधुनिक मात्र नभएर डेढ दर्जन जति नेपाली चलचित्रका लागि पनि गीत गाएका छन् । उनले गाएको ‘म त लाली गुराँस भएछु’, ‘एउटा मान्छेको मायाले कति’, ‘लौ सुन म भन्छु मेरो राम कहानी’ लगायतका गीत अहिले पनि उत्ति नै रुचाइएका छन् ।

नारायण गोपाल संगीत कोषले हरेक वर्ष प्रदान गर्दै आएको स्वरसम्राट स्मृति सम्मानबाट यो वर्ष डा. दीर्घ सिंह बम, निर शाह, डा. विश्वम्भर प्याकुरेल र दिनेश अधिकारीलाई प्रदान गरिँदै छ । विसं २०४९ सालदेखि दिन थालिएको पुरस्कारबाट पहिलो पटक लोक गायक झलकमान गन्र्धव सम्मानित हुनुभएको थियो ।

उनको सम्झनामा नारायण गोपाल संगीत कोषले उनकै निवास महाराजगञ्जको मिलिजुली टोलमा विशेष कार्यक्रम गर्दैछ । यस्तै सांस्कृतिक संस्थान, कलानिधि इन्दिरा संगीत विद्यालय पुल्चोक, भरतपुरको नारायणी कलामन्दिर, पोखरा, सिन्धुलीसहितका ठाउँमा विशेष कार्यक्रम हुँदैछन् ।

मंसिर १९, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्