किन खुलेन मलेसियाको रोजगारी ?

श्रममन्त्री बिष्टविरुद्ध चौतर्फी दबाब, पूर्वमन्त्रीदेखि आफ्नै पार्टीका सांसद व्यवसायीको पक्षमा

काठमाडौं–श्रम समझदारी भएको एक महिनाबितिसक्दा पनि मलेसियाको रोजगारी नखुलेको भन्दै श्रम रोजगार तथा समाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्टविरुद्ध चौतर्फि दवाव बढ्न थालेको छ। प्रतिपक्षी दलका प्रभावशाली नेतादेखि पार्टीभित्रै सांसद र पूर्वमन्त्री समेत श्रममन्त्री विष्टलाई मलेसियाको रोजगारी तत्काल सल्टाउन दवाव दिन थालेका छन्।

व्यवसायीलाई मत्लव नै नगरी श्रम मन्त्री विष्टले काम गर्न थालेपछि व्यवसायीहरु आफ्ना नेतालाई गुहार्न पुगेका थिए। व्यवसायीको लभिङपछि नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइराला, राप्रपा नेपालका अध्यक्ष कमल थापा, पूर्व श्रममन्त्री तथा जिफन्टका समेत पूर्वअध्यक्ष रहेका सांसद मुकुन्द न्यौपाने, पूर्व श्रममन्त्री तथा नेकपाका नेता लेखराज भट्ट र वैदेशिक रोजगार व्यवसायी संघका पूर्व अध्यक्ष समेत रहेका नेकपाका सांसद एलपी सावाले व्यवसायीलाई साथ दिएका हुन्।

पूर्वमन्त्री तथा सांसद न्यौपाने, भट्ट र सावा बुधबार व्यवसायीको साथमा श्रम मन्त्रालय पुगेर मन्त्री बिष्टसँग यस विषयमा कुरा गरेका थिए। उनीहरुले मन्त्री विष्टलाई मलेसियामा देखिएको वैदेशिक रोजगारीको बारेमा र व्यवसायीलाई मर्का परेको विषयमा कुरा उठाएको एक व्यवसायीले बताए ।

तर सांसदसहितको व्यवसायीको टोलीलाई श्रममन्त्री विष्टले रोकिएको मलेसियाको रोजगारी छिट्टै खुल्ने र आफूले मलेसियासँग निरन्तर कुरा गरिरहेको बताएको मन्त्रालय श्रोतले जानकारी दियो। एमओयुको सहमती अनुसार नै मलेसियाको रोजगारी खुल्ने र बाहिर आएको हल्लाको पछि नलाग्न मन्त्री बिष्टले व्यवसायीहरुलाई भनेका छन्।

कुटनीतिक विषय पनि भएका दुई पक्षकै सहमतीमा मलेसियासँग गरिएको एमओयु सार्बजनिक नगरिएको मन्त्री बिष्टले व्यवसायीलाई बताए । तर यसबाट तर्सिनु नपर्ने मन्त्री बिष्टले बताए।

कोइरालाले लेखेका छन्, ‘मलेसियासँगको श्रम सम्झौता पछि पनि नियोजित रुपमा मलेसिया पठाउने काम अझै अगाडि नबढ्नु दुर्भाग्य हो। बिभागिय मन्त्री तथा सरकारको कमजोरी पनि हो । श्रममन्त्रीले निहित स्वार्थका लागि सम्झौताका विरुद्ध गएर भेण्डर चेन्ज गरी आफू निकटलाई दिन लागि परेको समाचार सार्बजनिक भइरहेको सन्दर्भमा तत्कालै यसको छानविन होस् र पूर्व सहमती अनुसार मलेसिया पठाउने प्रक्रिया तत्कालै गरियोस् ।’

पूर्वउपप्रधान तथा परराष्ट्रमन्त्री समेत भइसकेका राप्रपा नेपालका अध्यक्ष कमल थापाले प्रधानमन्त्रीलाई यस विषयमा छानविन गर्ने कि भनेर सोधेका छन् । उनले लेखेका छन्, मलेसिया सरकारसँग समझदारीपछि नेपाली श्रमिकहरु उत्साहित भए। तर, समझदारीपछि अझै मलेसियामा रोजगारीको अवसर नखोल्न÷बन्दरहनु कुटनीतिक कमजोरी देखिन्छ, यसबाट आशंका पैदा भएको छ। भेन्डर परिवर्तन गरी आफ्नालाई दिन मलेसिया नखोलेको संचारमाध्यममा आएको छ । प्रमले छानविन गर्नुहुन्छ कि ?’

 

अडानमा मन्त्री बिष्ट

भेन्डर परिवर्तन गरेर आफू निकटलाई दिन लागेको आरोप खेपिरहँदा पनि मन्त्री बिष्ट भने यो निर्णयबाट पछि नहट्ने अडानमा छन्। बुधबार आफ्नै कार्यकक्षमा भएको छलफलमा मन्त्री बिष्टले भने, ‘कसले के भन्छ भन्ने कुरा छाड्दिनुस्, सरकारले अफ्नो हिसावले काम गर्छ र त्यो सबैको हितमा हुने गरेर काम गर्छ तपाईहरु बाहिर आएको हल्लाबाट आत्तिनु पर्दैन।’

पूर्वमन्त्री तथा सांसदसहित पुगेको टोलीलाई पनि पहिलेकै संस्था मार्फत मलेसिया पठाउन नसकिने बताएका छन्। सञ्चालक गोविन्द थपलिया र राम श्रेष्ठविरुद्ध मुद्दा समेत चलिरहेको छ । उनीहरु मार्फत कुनै पनि हालतमा नपठाउने मन्त्रीले दोहो¥याएका छन्।

गत जेठमा मन्त्रीले यी संस्था खारेज गर्ने निर्णय गर्दा व्यवसायीले पनि समर्थन गरेका थिए। तर अहिले यी संस्था मार्फत नै भएपनि छिटो मलेसियाको रोजगारी खुलाउनु पर्ने पक्षमा व्यवसायी फर्किएका छन्।

घुर्क्याउँदा नटेरेपछि नेता लिएर पुगे

गतसाता नै वैदेशिक रोजगार व्यवसायी संघले बुधबार (आज) सम्ममा मलेसियाको रोजगारी नखुले पनि भिसाको लागि प्रक्रिया अगाडि बढाउने चेतावनीपूर्ण विज्ञप्ती सार्वजनिक गरेका थिए। कलिङ भिसा आएका कामदारलाई तत्काल मलेसिया पठाउने बाटो खोल्न व्यावसायीको माग थियो । तर व्यवसायीको माग मन्त्री बिष्टले सुनेको नसुनै गरिदिए।

योबिचमा पनि मलेसियाको रोजगारी खुल्ने टुंगो नभएपछि व्यवासायी आफ्नो पक्षमा रहेका नेताको सहारामा श्रममन्त्री बिष्टलाई भेट्न पुगेका थिए। तर उनीहरुसहित जाँदा पनि मन्त्री बिष्टले पूरानै कडा शैलीमा जवाफ दिएपछि संघ नैतीक दवावमा परेको छ।

वैदेशिक रोजगार व्यवसायी संघका पदाधिकारी व्यवसायीभित्रैबाट पनि चर्को आलोचना खेपिरहेका छन्। छलफल पहिले श्रम मन्त्रालयको बाहिर भेटिएका एक व्यवसायीले भने, ‘अहिले त वैदेशिक रोजगारी लास्टै खराव भइसक्यो, हामी व्यवसायीहरु नै मिल्न सकेनौं। पहिल्यैदेखि मिलेर गएको भए आज एउटा निकासमा पुग्न सकिन्थ्यो। हामी आफ्नै कारणले सकिने भयौं।’

मंसिर १९, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्