काठमाडौँको तापक्रम यो वर्षकै कम, जाडो अझै बढ्ने

काठमाडौँ – काठमाडौँ उपत्यकासहित देशभर जाडो बढ्दै गएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौँ उपत्यकामा बिहीबार बिहान यो वर्षकै कम तापक्रम मापन भएको छ ।

मौसमविद विभूति पोखरेलका अनुसार काठमाडौँ उपत्यकामा बिहीबार बिहानको न्युनतम तापक्रम ५.६ डिग्री मापन भएको र यो यस वर्षकै कम हो । यस्तै दिउँसो अधिकतम तापक्रम पनि घट्दै गएकाले जाडो बढेको छ ।

दिउँसोको अधिकतम तापक्रम काठमाडौँमा १८ देखि २० डिग्रीसम्म पुग्ने अनुमान गरिएको मौसमविद पोखरेलले जानकारी दिइन् । बुधबारको तुलनामा न्युनतम तापक्रम ०.४ डिग्री घटेको हो र अझै तापक्रम घट्ने क्रम जारी रहने भएकाले जाडो थप बढ्ने मौसमविदको भनाई छ ।

गएको वर्ष जाडोको बेला केही दिन काठमाडौँ उपत्यकाको तापक्रम न्युनतम शून्य डिग्री रहेकाले यो वर्ष पनि यस्तै अवस्था आउन सक्ने उनको भनाई छ । काठमाडौँ उपत्यकाको तापक्रम न्युनतममा माइनस तीन डिग्रीसम्म पुगेको इतिहास पनि रहेको छ ।

बिहीबार काठमाडौँ उपत्यकासहित देशभरका पहाडी क्षेत्रको मौसम आंशिकदेखि पूर्ण बदली हुने र मध्य तथा पश्चिमका केही पहाडी क्षेत्रमा पानी पर्ने सम्भावना पनि छ ।

यसैगरी उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना रहेको मौसमविदले बताए । तराई क्षेत्रको मौसम भने सामान्यतया सफा रहने छ ।

मंसिर २०, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू