बाबरी मस्जिद ढलेको २६ वर्ष

२६ वर्षपछि पनि भारत डराइरहेको डिसेम्बर ६

बाबरी मस्जिद ढलेको पूरा २६ वर्ष भयो, तर मस्दिज ढल्दाको त्रास अझै बाँकी छ । र यो डर र त्रासको वातावरण जीवित राख्ने श्रेय देशका (भारतका) महान राजनीतिज्ञलाई जान्छ, निःसन्देह ।

सन् १९९२ को डिसेम्बर ६ भारतको इतिहासमा यस्तो दिन हो, जसले देशको राजनीतिलाई यस्तो मोड दियो, कारण हामी २६ वर्षमा भारत धेरै पछि गयो ।

भारतको विभाजनपछि निकै पछि छोडिएका मुद्दाहरुले अहिले भारतीय समाजलाई प्रभावित गरिरहेका छन् । धर्म–निरपेक्षता संविधानमा मात्रै नभएर भारतीय नागरिकको रगतमा थियो ।

तर डिसेम्बर ६, १९९२ पछि सहिष्णुताको स्थानमा साम्प्रदायिकताको विषले ठाउँ बनाएको छ ।

२६ वर्षपछि अर्थात डिसेम्बर ६, २०१८ मा आइपुग्दा वातावरण यस्तो बन्दै गएको छ कि भारतमा पूरै हिन्दु धर्मलाई अयोध्या मन्दिरमा सीमित गर्ने प्रयास भइरहेको छ ।

हिन्दु हुनुको परिभाषा फेर्‍यो


भारतलाई सञ्चालित गर्ने केही व्यक्तिले त हिन्दुको परिभाषा समेत फेरेका छन् । उनीहरुको नजरमा अहिले त्यो मात्रै हिन्दु हो, जो अयोध्या मन्दिर निर्माणमा विश्वास राख्छन्, र मन्दिरको निर्माण पनि त्यहि शर्तमा जो उनीहरुले राखेका छन् ।

हरेक वर्ष डिसेम्बर ६ ले पुरानो नमिठो सम्झना आलो बनाउँछ । म त्यो दिन अयोध्या पुगेको थिएँ र पूरै घटना प्रत्यक्ष देखेको पनि थिएँ, जुन कुरा मैले सिबिआई अदालतमा पेश गरेको ८८ पृष्ठ लामो बयानमा उल्लेख गरेको छु ।

सायद पागलपनको सीमा नाघिएको थियो, सबै कानुनी व्यवस्थाहरु आगोमा मिले । केही मानिसको अनुहारको खुशी र केहीको अनुहारमा डर । झण्डै चार घण्टा भित्रै १६ औँ शताब्दीमा बनेको बलियो मस्दिज ध्वस्त हुनु, एउटा डरलाग्दो घटना थियो ।

त्यसपछि हरेक वर्ष डिसेम्बर ६ मा विश्व हिन्दु परिषदले अयोध्यामा शौर्य दिवस मनाउने गरेको छ । भारतीय जनता पार्टीका कुनै न कुनै नेता त्यसमा सहभागी हुन पक्कै पुग्छन् ।

कम हुँदै उत्साह


तर बिस्तारै मानिसहरुको उत्साह कम हुँदै गएको देखिएको छ । वर्ष बित्दै गए, सायद छैटौँ वा सातौँ वर्षगाँठपछि लालकृष्ण आडवाणी शौर्य दिवसमा सामेल हुन प्रमुख अतिथि बनेर गएका थिए ।

त्यो दिन पनि म त्यहाँ उपस्थित थिएँ । आडवाणी जीलाई सायद जीवनको सबैभन्दा ठूलो झड्का तब लाग्यो होला जब जनसभामा पाँच सयदेखि सात सयको हाराहारीमा मात्रै मानिस जम्मा भए । सर्वसाधारण भन्दा धेरै त प्रहरी र सञ्चारमाध्यमका प्रतिनिधि थिए ।

यो त्यही अयोध्या थियो, जहाँबाट आडवाणी जीले एक ऐतिहासिक रथ यात्रा निकालेर अयोध्या आन्दोलनलाई एक उचाईमा लगेका थिए । त्यहाँ उनलाई सुन्नका लागि निकै नगन्य मात्रै पुगे । जबकी सामान्य कार्यक्रममा अयोध्यामा चारदेखि पाँच हजार साधु जम्मा हुनु सामान्य कुरा हो ।

त्यो दिन र आजको दिन, अयोध्याको शौर्य दिवस साँच्चिकै फिका बनेको छ, यो एक औपचारिकता मात्रै बनेको छ ।

पागलपन फेरि पैदा गर्ने प्रयास


डिसेम्बर ६ का कारण देशका अधिकांश क्षेत्रमा हिंसा भड्किएको थियो, बिस्फोट भइरहेको थियो । र केही राजनीतिज्ञले त्यसलाई कारण बनाएर सरकार पनि बनाए । तर हरेक कुराको समय हुन्छ । हेर्दा–हेर्दै पुस्ता फेरियो र डिसेम्बर ६ को असर कम हुँदै गयो ।

तर दक्षिणपन्थी विचारधारका संगठनलाई यो कुरा कसरी मन्जुर हुन्थ्यो । उनीहरुले त्यो पागलपनलाई फेरि पैदा गर्ने कसम खाए ।

सायद योगी आदित्यनाथ उत्तर प्रदेशको मुख्यमन्त्रीको कुर्चीमा आसिन हुनुको कारण यही थियो ।

हालै जब विश्व हिन्दु परिषदले राम मन्दिर निर्माण सुरुवात गर्ने नाममा अयोध्यामा भेला गरे । त्यसमा हिन्दुवादी नेताहरुले खुलेआम धम्की दिए कि, यदि मन्दिर बनाउने अभियानमा कसैले अवरोध गरे वा अवरोध सिर्जना गर्ने प्रयास गरे भने फेरि अर्को डिसेम्बर ६ निम्त्याउँछौँ ।

तर उनीहरु धम्की अनुसारको अवस्था सिर्जना गर्न असफल छन्, किनकी अहिलेको समयमा डिसेम्बर ६, १९९२ जस्तो पागलपन सिर्जना गर्न सजिलो छैन । मानिसहरुको जमघट उनीहरुको अपेक्षा भन्दा कम रह्यो । आम धारणा यो थियो कि वर्तमान सरकारको अनौपचारिक समर्थन पूर्ण रुपले आयोजकमा थियो ।

२६ वर्षपछि फेरि डिसेम्बर ६ ले ढोका ढक्ढक्याएको छ, फेरि प्रहरीको तैनाथी ठूलो मात्रामा भएको छ र अयोध्याबासी तनावमा छन् ।

मन्दिरको कुरा गर्नेहरुले भुल्छन् कि भगवान रामको दर्शनका लागि दैनिक आउनेहरु डिसेम्बर ६ का दिन डराउँछन् र भगवानको दर्शन गर्न पाउँदैनन् ।

आसपासका जिल्लाबाट आउनेहरुलाई सीमा क्षेत्रमै रोकिन्छ । हिंसाको डरका कारण डिसेम्बर ६ मा श्रद्धालुको संख्या निकै कम हुन्छ ।

नोटः सन् १९९२ को डिसेम्बर ६ मा विश्व हिन्दु परिषद र भारतीय जनता पार्टीले आयोजना गरेको र्‍यालीमा डेढ लाख भन्दा बढीको सहभागिता थियो । यो र्‍याली दंगामा परिणत हुँदा १६ औँ शताब्दीको बाबरी मस्जिद ध्वस्त भयो भने हिंसामा परेर दुई हजार भन्दा बढी मानिसको ज्यान गएको थियो ।

(यो सामग्री बिबिसी हिन्दीका लागि वरिष्ठ पत्रकार शरत प्रधानले तयार गरेको लेख अनुवाद गरेर तयार पारिएको हो ।)

तस्बिरहरु : एएफपी र बिबिसी