आश्रयको दिने बहानामा अपराध!

बेपत्ता भएका ८ नेपाली युवती राखिएको संस्कार आश्रम नै ‘मानव बेचविखनमा संलग्न’

फाइल तस्बिर

नयाँ दिल्ली– भारतको राजधानी दिल्लीस्थित दिलशाद गार्डेनमा सञ्चालित संस्कार आश्रमबाट ८ जना नेपाली युवती बेपत्ता पारिएपछि सम्बन्धित निकायले गम्भीर र सुक्ष्म ढंगले अनुसन्धान सुरु गरेका छन्।

गएको डिसेम्बर १ तारिखबाट ८ जना नेपाली युवती बेपत्ता भएको घटना सार्वजनिक भएपछि जीटीबी एन्कलेव पुलिसले मुद्दा दर्ता गरी अनुसन्धान सुरु गरेको हो।

दिल्ली महिला आयोगले विस्तृत अनुसन्धानको माग गर्दै आफ्नो तर्फबाट आवश्यक अध्ययनको काम प्रारम्भ गरिएको जानकारी दिएको छ।

‘आश्रमका सञ्चालकहरु नै कोठी सञ्चालकसँग मिलेको देखिएको छ, उद्दार गरिएका महिला संरक्षण गर्ने बहानामा मानव बेचविखनमा संलग्न रहेको देखिएकाले नै हामीले सुक्ष्म ढंगले अनुसन्धानको माग गरेका हौँ,’ आयोगकी एक सदस्यले देश सञ्चारसँग भनिन्।

आयोगका अनुसार यसअघि पनि उक्त आश्रमबाट उद्दार गरिएका महिला बेपत्ता भएको घटना सार्वजनिक भएको थियो।

दिल्ली महिला आयोगले दिल्लीका उपमुख्यमन्त्री मनिष सिसौदियालाई जानकारी दिएपछि उनले उत्तर–पूर्व जिल्लाका महिला र बाल विकास विभागका अधिकारी र आश्रमका अधिक्षकलाई पदबाट बर्खास्त गरेका छन्। साथै उनीहरुमाथि अनुसन्धानको प्रक्रिया प्रारम्भ भइसकेको जनाइएको छ।

जीबी रोडका कोठा नम्बर ६४ र ५६ बाट दिल्ली महिला आयोगले अपराध शाखाको सहयोगमा २४ र २५ नोभेम्बर २०१७ मा दिन २ पटक छापा हानेर १७ जनाको उद्दार गरिएको थियो।

त्यसमध्ये १४ जना नेपाली किशोरी थिए। उनीहरुलाई उद्दार गरिएपछि उनीहरुको आफन्तलाई बुझाउनका लागि तत्कालका सरकारी महिला आश्रय गृह (नारी निकेतन र निर्मल छाँया कम्प्लेक्स) मा राखिएको थियो।

त्यसपछि उनीहरुलाई क्याटेलिस्ट नामक आश्रय गृहमा राखिएको थियो। त्यस दौरान क्याटेलिस्ट आश्रय गृहबाट नै ४ किशोरीहरु बेपत्ता भएका थिए। उनीहरुको अहिलेसम्म अत्तोपत्तो छैन।

बाँकी रहेका १० जना मध्ये २ जनालाई कोर्टको माध्यमबाट आफन्तलाई बुझाइएको थियो। ८ किशोरीहरुलाई गत ४ मे २०१८ देखि संस्कार आश्रममा पठाइएको थियो। गत १ डिसेम्बरको रातदेखि उनीहरु बेपत्ता भएका हुन्।

बेपत्ता भएका नेपाली किशोरीहरुमा १६ वर्षदेखि २२ वर्षसम्मका रहेका छन्। उनीहरुमध्ये ३ जना नुवाकोटका, २ जना काभ्रेका तथा तेह्रथुम, मकवानपुर र सिन्धुपाल्चोक १–१ जना रहेका छन्।

यो पनि पढ्नुहोस्ः

मंसिर २०, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्