एशिया प्यासिफिक समिट विवाद

प्रधानमन्त्री ओलीको आलोचकप्रति प्रतिकार – मैले जवाफ दिँदा थला पर्ने सम्भावना रहन्छ

एसिया प्यासिफिक समिटमा सम्मान ग्रहण गर्दै प्रधानमन्त्री केपी शर्मा ओली । तस्बिर : सुलभ श्रेष्ठ/देश सञ्चार

काठमाडौँ- विवादित एशिया प्यासिफिक समिटमा सरकारको सहभागिता र सम्मानको आलोचना चुलिएका बेला समिट समाप्त भएपछि सम्भवतः पहिलो पटक प्रधानमन्त्री केपी शर्मा ओलीले त्यसको प्रतिकार गर्दै आलोचना गर्नेहरुलाई चुनौती र चेतावनी दुवै दिएका छन्।

व्यापक आलोचनाकाबीच राजधानीमा सोमबार सकिएको तीनदिने समिटपछि मौन रहेका प्रधानमन्त्री ओलीले बुधबार प्रसारित ‘जनतासँग प्रधानमन्त्री कार्यक्रम’मा आफू नेतृत्वको सरकार र आफ्नो आलोचनाबारे पहिलोपटक मुख खोल्दै भनेका छन्, ‘कुनैकुनै वुद्धिजीवीका टिप्पणी अन्त्यन्तै असभ्य र तल्लोस्तरका देख्छु। त्यस्ता वुद्धिजीवीहरुलाई एक पटक अर्थात सञ्चारमाध्यममा आउनुभन्दा पहिले मसँग भेट्नु भन्छु। मैले जवाफ दिँदा उहाँहरु थला पर्ने सम्भावना हुन्छ। त्यसकारण म थला पार्न चाहन्न। उहाँहरुलाई म जान्दछु।’

क्रिश्चियन धर्म प्रचारक संस्थाले आयोजना गरेको समिटमा विरोधबाबजुत सरकारले सक्रिय सहभागिता जनाएको, पाहुनाका स्वागतका लागि बालुवाटार छोडेर प्रधानमन्त्री स्वयम् होटलमा बसेको, कुटनीतिक मर्यादा विपरित मन्त्रीहरु विमानस्थलमा खटिएको र विवादस्पद संस्थाबाट सम्मान ग्रहण गरेको विषय व्यापक आलोचित छ। प्रधानमन्त्री ओलीले आलोचकलाई लक्षित गर्दै प्रश्न गरेका छन्, ‘मसँग एकपटक वादविवाद गर्न अथवा सत्यहरुको सम्बन्धमा बहस गर्न इच्छा गर्नु भएको हो कि हैन?’

समिटमा सरकारको सहभागितालाई आलोचना गर्नेहरु असभ्यरुपमा प्रस्तुत भएको प्रधानमन्त्री ओलीको भनाइ छ। ‘उहाँहरु असभ्य ढंगबाट बोल्नु भएको छ । उहाँहरुको असलियतहरु बाहिर आउँदा के हुन्छ? त्यो अलि बिचार गरे हुने हो,’ उनले चेतावनी दिए।

उक्त समिटमा सरकारी सहभागितालाई लिएर पार्टीका झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ, भीम रावल, घनश्याम भुषाल लगायत सत्तारुढ दलकै नेताहरुले सार्वजनिकरुपमै विरोध जनाएका थिए, सर्वसाधारण र सञ्चारमाध्यमसँगै। प्रधानमन्त्री ओलीले आलोचकको अभिव्यक्तिको कटाक्ष गर्दै भनेका छन, ‘सरकारकै भत्ता खाने, पेन्सन खाने र सुविधा लिने अनि जथाभावी गैरजिम्मेवारढंगले बोल्ने, गोपनीयताको वास्ता नगर्ने र अत्यन्तै अनुत्तरदायीरुपमा झुठो प्रचारप्रसार गर्ने प्रवृति देखा छन्।’

प्रधानमन्त्री ओलीले आलोचकलाई तत्कालै जवाफ दिन नचाहेको तर प्रश्न सोध्न चाहेको समेत बताएका छन्। उनले भनेका छन्, ‘किनेको जस्तो वा पारिश्रमिक दिएको जस्तो भन्दै निकै अपमानजकढंगले बोलिएको छ। म उहाँहरुलाई जवाफ दिइहाल्न चाहन्न। उहाँहरुलाई सोधिराख्न चाहिँ चाहन्छु।’

प्रधानमन्त्री ओलीले धर्मनिरपेक्ष राज्यमा संसारका कुनै पनि मुलुकका पाहुनालाई ‘अतिथि देव भव’ भन्दै स्वागत गर्ने र पाहुनालाई धर्म अनुसार नछुट्याउने गरेको बताए। ‘भ्रमण वर्ष २०२० मा भन्दा दोब्बर पयर्टक भित्राउने लक्ष्य छ। त्यसमा धर्म सोधिने छैन। भिसा चेक गर्दा धर्म सोधिँदैन। त्यसकारण धार्मिक विवाद र असहिष्णुता वा धार्मिक घृणा फैलाउने खालका कुनै पनि क्रियाकलाप बाञ्छनीय हुँदैनन्,’ उनले भने, ‘हाम्रो सामाजिक परम्परा, संविधान र हाम्रा आवश्यकताहरुसँग मेल खाने कुरा होइनन् ती।’

सम्मेलन आयोजनाको सान्दर्भिकता


अन्य कयौँ मुलुकमा प्रतिबन्ध लगाइएको सम्मेलन नेपालमा धर्मप्रचारकै लागि गरिएको भन्दै त्यसका नेपाल आयोजक एकनाथ ढकाल र उनलाई साथ दिने प्रधानन्त्री ओलीको चौतर्फी टिप्पणी भएको छ। तर प्रधानमन्त्री ओलीले नेपालमा ठूलो तहमा गरिएको सम्मेलनको औचित्य रहेको प्रधानमन्त्री ओलीले दाबी गरे। ‘सम्मेलनका लागि ४५ मुलुकका मानिस आए, १२/१५ देशका राष्ट्रप्रमुख र सरकार प्रमुख आए। सभामुख आए। यसमा इस्लाम, बुद्ध, इसाई र हिन्दु लगायत धर्मालम्बीहरु थिए। उनीहरुलाई हामीले अतिथिको रुपमा स्वागत गर्‍यौ, ‘उनले भने, ‘कार्यक्रमको विषय वा एजेण्डा पनि साझा चुनौती र समाधानमा केन्द्रित थिए।’

प्रधानमन्त्री ओलीले आफ्नो भाषणभित्र नेपालको वास्तविकता र अवधारणा राखेको र त्यसमा कसैलाई आपत्ति भए आफूसँग बहस गर्न आउन सक्ने चुनौती दिए।  ‘मेरो बोलाइमा कुनै खोट देखिन्छ भने म बहस गर्न तयार छु। मैले त्यहाँ दुई वटा प्रवचन दिएको छु त्यसमा कतै टिप्पणी गर्नु छ या भन्नु छ भने बहसका लागि म तयार छु,’ उनले भने।

धर्ममा छनौटको अधिकार


प्रधानमन्त्री ओलीले नेपाल धर्मनिरपेक्ष राज्य भइसकेको र धर्ममा छनौटको अधिकार संवैधानिकरुपमा सबैलाई भइसकेको बताएका छन्। ‘बुद्ध धर्मावलम्बीले बुद्धम शरण गच्छामीबाट आफ्नो भनाई सुरु गर्लान्, हिन्दुले सर्वे भवन्तु सुखिन: भन्लान् अन्य धर्मालम्बीले अरु। त्यो उनीहरुको छनौटको विषय हो। आस्था केमा राख्ने त्यो निजी विषय हो,’ प्रधानमन्त्री ओलीले थपे।

नेपालमा कसैको धर्म कुनै हिसाबले परिवर्तन गराउन नपाउने संवैधानिक व्यवस्था भएको भन्दै उनले एशिया प्यासिफिक समिट शीर्षक, उद्देश्य, प्रकट विचारहरु, छलफलहरु आलोचना गरिएजस्ता नभएको दाबी गरे। प्रधानमन्त्री ओलीले समिट आयोजकले आफूलाई प्रदान गरेको पुरस्कार आफूलाई नभई नेपाली जनताको योगदानका लागि भएको बताएका छन्। ‘मैले जुन पुरस्कार पाएँ त्यो नेपाली जनताको बलिदानका निम्ति थियो र तत्कालै मैले त्यसै अनुसार समर्पित गरेको छु। यसमा पनि टिकाटिप्पणीको कुनै तुक छैन,’ उनले भने।

नेपालको उपलब्धिलाई समर्थन


प्रधानमन्त्री ओलीले समिटमा सामेल भएका सम्पूर्ण राष्ट्रहरुका प्रतिनिधिले नेपालको उपलब्धीप्रति समर्थन गर्नु आफैँमा सकारात्मक भएको बताएका छन्। ‘हाम्रो उपलब्धीलाई सम्मेलनमा सबैले समर्थन गरे, नेपालको उपलब्धीबाट सिक्नु पर्छ भने। केहीलाई नबुझेर र जानीजानी बंग्याएर गरिएको विरोधसँग यो तालमेल खाएन भन्ने लागेको होला। दुनियाँ केही बुझ्दैन, यहाँ मात्रै दुई चार जनाले देखेको छ भन्ने होइन’, उनले भने।

नेपालले पर्यटन र अर्थतन्त्रको विकासको बाटोमा हिँडेको भन्दै त्यसमा सहयोग पुग्ने यस्ता सम्मेलनको विरोधहरु गर्नेहरु विकास नचाहने समेत भएको प्रधानमन्त्री ओलीको बुझाइ छ। ‘मुलुकमा पर्यटन र अर्थतन्त्रलाई माथि पुर्‍याउनु छ। पयर्टन र अर्थतन्त्रलाई अघि बढाउने प्रयासमाथि हमला गर्ने हिसावमा आलोचना भएको छ त्यो ठिक होइन। नेपालमा सबै धर्मालम्बीले असुरक्षित अनुभव गर्ने खालका टिप्पणी गर्न मिल्दैन,’ उनले भने।

प्रधानमन्त्री ओलीले आलोचनाबाट मुक्त बन्न नसकेको अर्को सामाजिक योगदानमा आधारित सुरक्षा कार्यक्रम सञ्चालन हुनु नयाँ युग सुरुवात हुनु भएको अभिव्यक्ति दोहोर्‍यााएका छन्। बहुदलीय व्यवस्थामा सरकारले जति प्रगती हुन्छ त्यति कतिपय शक्तिहरुको अस्तित्व खतरामा पर्ने हो कि भन्दै त्यसको रक्षाका लागि विरोध भएको उनले बताए। ‘सरकारले धमाधम आफ्ना विकासका काम अघि बढाउँदा कसैमा छटपटी र पीडा छ अव हाम्रो भविष्य के होला भनेर। यस्ता कुरामा चिन्ता नगरौ । मिलेर देश बनाऔँ,’ उनले भने।

मंसिर २०, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्