विवाहपञ्‍चमीमा योगीको भ्रमण निश्‍चित, सुरक्षामा कडाइ, तयारी तीव्र

जनकपुरधाम-विवाहपञ्‍चमी आउन करीब एक साता बाँकी रहँदा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको जनकपुरधाम भ्रमण सुनिश्‍चत भएको छ।  मुख्यमन्त्री योगी भेट्न लखनउँ पुगेका जनकपुरका सञ्‍चारकर्मीहरुसँग कुरा गर्दै मुख्‍यमन्त्री योगीले जनकपुरधाम भ्रमण सुनिश्‍चित भइसकेको जानकारी दिए।

उनले सञ्‍चारकर्मीहरुसँग भने, ‘ मेरो जनकपुरधामको भ्रमण रद्द भएको छैन।  रामजानकीको विवाह महोत्सवमा मेरो भ्रमण पूर्ण रुपमा सांस्कृतिक हुनेछ।’

योगी आदित्‍यनाथको भ्रमण निश्चित भएसँगै प्रदेश सरकार तथा जानकी मन्दिरले विवाह महोत्सवको  तयारीलाई तीव्र पारेको छ। वरपर रहेका मासु र मदिरा पसललाई बन्द गरिएको छ भने जन्ती आउने बाटो,स्वागत द्वार बनाउन नेपाली सेना, नेपाल प्रहरी र स्थानीहरु लागि परेका छन्।

मिथिला परम्परा अनुसार मंसीर शुक्ल पञ्‍चमी तिथिका दिन रामजानकीको विवाह सम्पन्न हुने गर्दछ भने जनकपुरमा त्रेता युगमा राम र जानकीको विवाह भएको शैलीमा नै प्रत्येक वर्ष विवाह समारोहको आयोजना हुँदै आएको छ।

प्रदेश सरकारको विशेष तयारी

विवाहपञ्चमी पर्वको सबैभन्दा ठूलो आकर्षण अयोध्याबाट आउने जन्ती नै हो। जसरी मिथिलामा विवाहको समयमा जन्तीहरुलाई आदर सत्कार गरिन्छ, त्यसरी नै आदर सत्कार गर्नका लागि प्रदेश सरकारले यस वर्ष बिशेष तयारी गरेको छ।

विवाहपञ्चमीमा जन्तीको रुपमा विशेषगरी साधु सन्त आउने गर्दछन् भने यस वर्ष जन्तीमा आउने साधुसन्तलाई धोती र तौलिया दिएर स्वागत गर्ने तयारी प्रदेश सरकारले गरेको आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादवले बताए। उनल भने, ‘ रामजानकी विवाह महोत्सवमा आउने जन्तीलाई धोती र तौलिया दिएर स्वागत गर्छौ। हामी यही तयारीमा जुटेका छौ।’

स्वागत सत्कारका लागि प्रदेश सरकारले ५० लाख रुपैयाँ खर्च गर्ने बताइएको छ। विवाहपञ्चमीलाई भव्य बनाउनका लागि प्रदेश सरकारले जानकी मन्दिर सौन्दर्यीकरण, रंगभूमि मैदान १२ विघाको सरसफाई, श्रद्धालुको लागि अस्थायी वासको व्यवस्था, अस्थायी शौचालयको व्यवस्था गरिएको छ।

योगी सहितको जन्ती, १० लाख बढी श्रद्धालु आउने अनुमान


यस पटक विवाहपञ्चमीमा १० लाखभन्दा बढी श्रद्धालु जनकपुरधाम आउने अनुमान गरिएको छ।उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको जनकपुरधाम भ्रमणलाई लिएर शंका रहेको थियो। प्रदेश सरकार स्रोतका अनुसार नेपाल सरकारले योगी भ्रमणको सम्बन्धमा प्रदेश सरकारलाई पत्र पठाई सकेको छ। अब रामजानकी विवाहोत्सवमा योगी आदित्यनाथ प्रमुख प्रतिनिधी बनेर आउने भएका छन्।

यता, राजनीतिक विश्लेषकहरुले योगीको जनकपुरधाम भ्रमण भारतमा सन् २०१९ मा हुने लोकसभा निर्वाचनलाई जोडेर हेरिरहेको बेला मुख्यमन्त्री योगी भेट्न लखनउँ पुगेका जनकपुरका सञ्‍चारकर्मीहरुले यसलाई योगीले अस्वीकार गरेको बताएका छन् ।

आदित्यनाथले जनकपुरधामका सञ्‍चारकर्मीहरुसँग लखनउमा कुराकानी गर्दै आफ्‍नो जनकपुरधाम भ्रमण विशुद्ध रुपमा सांस्कृतिक भ्रमण हुने बताएका छन्। जनकपुरधामको भ्रमणको क्रममा मुख्यमन्त्री योगी जानकी मन्दिरमा पूजाआजा गर्नुका साथै रामजानकी विवाहको स्वयम्वरमा सहभागी हुनेछन्।

यसका साथै रंगभूमि मैदान १२ विघामा उनले छोटो मन्तव्य राख्ने कार्यक्रम समेत रहेको जानकी मन्दिरका महन्थ रामरोशन दास वैष्णवले जानकारी दिए ।

सुरक्षा व्यवस्थामा कडाई


प्रदेश सरकार विवाहपञ्चमी तथा मुख्यमन्त्री योगीको लागी जनकपुरमा सुरक्षालाई लिएर गम्भीर बनेको देखिएको छ। योगीको भ्रमण समयमा ५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिने आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादवले जानकारी दिएका छन्।

यस्तै महोत्सवमा सुरक्षा व्‍यवस्था मिलाउन करीब ३ हजार ५ सय नेपाल प्रहरी परिचालन गरिने जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक गोविन्द थपलियाले बताए। साथै २ हजार ५ सय सशस्त्र प्रहरी समेत परिचालन गरिने छ।

मंसिर २०, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्