किर्ते जालसाजीको आरोपमा पक्राउ परेका महन्थ सार्वजनिक

पक्राउ परेका महन्थ बैकुण्ठ दासलार्इ सार्वजनिक गर्दै प्रहरी।तस्बिर-देश सञ्‍चार

जनकपुरधाम-जनकपुरधामको संस्कृत विद्यालय अन्तर्गत हजारी जनक विद्यापीठ भोग चलनमा गुठी नाममा रहेको जग्गा किर्ते जालसाजी गरेर बेचेको आरोपमा पक्राउ परेका रत्नसागर मन्दिरका महन्थ बैकुण्ठ दासलाई विहीबार सार्वजनिक गरेको छ। जनकपुरधाम वडा नं. ८ स्थित गुठीको जग्गाको नक्‍कली जग्गा धनी दर्ता श्रेस्ता बनाई आफ्नो हो भनी बेचेको आरोपमा उनलाई काठमाण्डौंबाट पक्राउ गरि सार्वजनिक गरिएको हो।

जिल्ला प्रहरी कार्यालय धनुषाले बिहिवार दिउँसो पत्रकार सम्मेलन गरी दासले अरुको नाममा हुनेगरी जग्गा धनी बनाई नक्कली लालपुर्जा बनाएर आफ्नो जग्गा भन्दै बेचेको आरोपमा जिल्ला अदालतमा मुद्दा परेपछि उनको नाममा वारेन्ट जारी भएको थियो।

सोही क्रममा फरार रहेका महन्थ बैकुण्ठ दासलाई काठमाण्डौंस्थित बागबजारको होटेल तिरुपतिबाट पक्राउ गरिएको प्रहरी उपरिक्षक गोविन्द थपलियाले जानकारी दिएका छन्।

जनकपुरधाम उपमहानगरपालिका वडा नं. ८ को सिट नं. १३५४–१४ किता नं.६२ को क्षेत्रफल ०–२–११ र सिट नं. १३५४–१५ किता नं. २८ को क्षेत्रफल २–८–१४ भएको जग्गाको स्वामित्व ग्रहण गर्ने तथा सरकारी छाप दस्तखत किर्ते कार्यमा संलग्न रहेको जनकपुरधाम उप–महानगरपालिका वडा नं. २३ का अशोक शर्माको बयानका आधारमा बैकुण्ठ दासलाई पक्राउ गरिएको हो।

प्रहरी हिरासतमा रहेका शर्माले प्रहरीलाई दिएको बयानअनुसार रत्‍नसागर मठका महन्त बैकुण्ठ दासको समेत किर्ते जालसाजी मुद्दामा धनुषा जिल्ला अदालतले वारेन्ट जारी गरपछि प्रहरीले उनको खोजी सुरु गरेको थियो।

वारेन्ट जारी भएको एक सातापछि उनी लुकिछिपी बस्दै आएको समयमा अपराध अनुसन्धान महाशाखा काठमाण्डौंको समन्वयन तथा धनुषा प्रहरीको सक्रियतामा पक्राउ गरिएको प्रहरी उपरीक्षक थपलियाले जानकारी दिए। बुधवार साँझ पक्राउ परेका दासलाई बिहिबार एयरबसबाट जनकपुरधाम ल्याईएको थियो।

२०६७ सालमा शिक्षा कार्यालयका एक कर्मचारीलाई भूमिगत समूह परिचालन गरेर हत्या गर्ने कार्यमा समेत संलग्न रहेको आरोप लागेका महन्थ दास पछि अदालतबाट धरौटीमा रिहा भएका थिए। यसैगरी जिल्ला प्रशासन कार्यालय धनुषामा भारतीय नागरिक बैकुण्ठ दासले नक्कली नागरिकता बनाएको समेत उजूरी परेको थियो।

पक्राउ परेका महन्थ बैकुण्ठ दासलार्इ सार्वजनिक गर्दै प्रहरी।तस्बिर-देश सञ्‍चार

मंसिर २०, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्