वाइडबडी छानबिनबारे सांसद भट्टराईसँग संवादः

‘निगमका महाप्रबन्धक कंसाकारलाई बर्खास्त नगरे मन्त्री अधिकारीको भूमिकामै शंका’

नेपाल वायु सेवा निगम यतिबेला दुई वटा वाइडबडी जहाज खरिद प्रकरणमा मुछिएको छ। आर्थिक वर्ष २०७२/०७३ को बजेट भाषणमै दुई वटा वाइडबडी जहाज खरिद गर्ने घोषणा गरियो। त्यही घोषणापछि जहाज खरिदको प्रक्रिया पनि सुरु भयो। तर, अहिले खरिद प्रक्रियाका हरेक विषयमा प्रश्न उठेका छन्। संसदको सार्वजनिक लेखा समितिले अहिले यो विषयमा छानबिन गरिरहेको छ। समितिले नेपाल वायु सेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारको राजीनामा माग्नेदेखि अध्यक्ष मदन खरेलको भूमिकामाथि समेत प्रश्न उठाएको छ।

समितिले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री र सचिवसँग पनि सोधखोज गरिसकेको छ। मन्त्री रबिन्द्र अधिकारीलाई पनि लेखा समितिले च्यापिरहेको छ। बुधबार बसेको बैठकमा लेखा समिति सदस्य तथा नेकपाका सांसद विशाल भट्टराईले छानबिनमा दायाँबायाँ नगर्न मन्त्रालय र प्राधिकरणका अधिकारीहरुलाई चेतावनी नै दिए। कंसाकारलाई त तत्कालै राजीनामा दिन र नभए तत्काल उनलाई हटाउन मन्त्रीसँग माग गरेका छन्। वाइडबडी छानबिनको प्रक्रिया र लेखा समितिले पत्ता लगाएका त्रुटीबारे नेकपाका सांसद विशाल भट्टराईसँग देश सञ्चारका उजिर कार्कीले गरेकाे कुराकानी:

वाइडबडीको विषयमा के गर्दैछ लेखा समिति?

खासगरी राष्ट्रिय ध्वजाबाहक कम्पनी नेपाल एयरलाइन्स अहिले दुई वटा एयरबस खरिद प्रकरणमा असाध्यै नराम्ररी मुछिएको देखिएको छ। हुन त नेपालमा आर्थिक अनियमितता हुने अनियमितता भयो, आर्थिक घोटाला भयो भन्ने आरोप लाग्ने चलन नै छ। त्यही भएर हाम्रा संस्थाहरु डुब्ने काम पनि भयो। वास्तवमा हामीले अहिलेसम्म प्रगति गर्न पनि नसकिरहेको अवस्था छ । यस पटक चाहिँ पाँच जना मन्त्री कुनै न कुनै रुपमा सामेल हुनुहुन्छ। ५–६ जना सचिवहरु हुनुहुन्छ। यो लामो प्रक्रियाबाट आएको छ।

आर्थिक वर्ष २०७२/०७३ को बजेट वक्तव्यमै नेपाल सरकारले संसदबाट पारित गरेरै नयाँ जहाज खरिद गर्ने वाइडबडी विमान भनेर निर्णय नै भएको छ। यसैलाई टेकेर विभिन्न प्रक्रियाबाट जहाज खरिद गर्ने काम भयो। तर त्यसमा थुप्रै त्रुटीहरु भएका रहेछन्। नियतवश भए वा नजानेर भए । आर्थिक हिसावले गलत नियत राखेर गरियो या नजानेर भयो। यहि क्रममा हामी छानविनका क्रममा छौं । अहिले हेर्दा के देखिन्छ भन्दा यसमा धेरै वटा त्रुटीहरु छन् भन्न सकिन्छ।

के–के त्रुटीहरु पत्ता लगाउनु भयो?

जहाज खरिद प्रक्रियामा सबैभन्दा महत्वपूर्ण कुरा के हो भने ग्लोबल टेन्डर गरेर सबैका लागि खुल्ला गरेर गर्नु पर्ने हो। एक हजार घण्टा उडान भएको एयरबस जसरी तोकेर गरियो नि त्यसले के देखाउँदो रहेछ भने निश्चित कम्पनीलाई मात्रै खुल्ला गरेको, यसले मात्रै गर्न सक्छ भनेर गरिएको छ। बेच्ने कम्पनी त्यही अनुसार छनोट गर्न खोजिएको छ। दोश्रो कुरा मूल्यको सन्दर्भमा पनि कुनै प्रकारको बार्गेनिङ गरिएको छैन। एक सुको पनि मूल्य घटाउने प्रयत्न गरिएको छैन। खरिद प्रक्रियामा पनि बीचको एउटा दलाल कम्पनी खडा गरिएको छ। ठिक छ, एयरबस नै किन्ने भइसकेपछि किन हामीले बीचको दलाल खोजिरहनु पर्यो र!

सिधै एयरबस कम्पनीसँग गएर किन्दा भइगयो नि। त्यो कुरामा पनि त्रुटी भएको छ। कहिले भाडामा ल्याएको भनिएको छ, कहिले यसको स्वामीत्व नै नेपाल एयरलाइन्ससँग छैन कम्पनीसँगै छ भनिएको छ। यस्ता भुप्रै कुराहरु देखिएका छन्। त्यस कारणले गर्दा यसमा हाम्रो गम्भीर आपत्ति छ। गम्भीर खोजबिन छ। यसको सत्यतथ्य सार्वजनिक गरेरै छाड्छौँ।

बुधबारको लेखा समिति बैठकमा तपाई कडै रुपमा प्रस्तुत हुनु भयो भन्ने कुरा आइरहेको छ के थियो त्यस्तो कारण?

मैले त्यो बैठकमा दुई तीनवटा कुरा उठाएँ। एउटा त्यसमा भएका त्रुटीका विषयमा मैले धेरै चर्चा गर्न चाँहिन। त्रुटी प्रशस्त मात्रामा भएकै छ। मैले के कुरा भनेको छु भने यति ठूलो प्रश्न उठिसकेको छ। अनियमितताको बारेमा आरोप छ। जनताको व्यापक अलोचना छ। यस्तो अवस्थामा तपाईसँगै अनुसन्धान गरेर तपाईसँगै सोधेर, तपाईसँग फाइल मागेर निर्णय मागेर माइन्यूट मागेर छानबिन गर्नुपर्छ भने तपाईले त्यो पदमा नैनीक रुपमा बसिरहनु उचित भएन।

त्यस कारण महाप्रबन्धक सुगतरत्न कंसाकारले नैतिक रुपमा त्यो पद छाडेर छानबिनलाई सहयोग गर्नु पर्यो। यदि उहाँले छाड्न चाहनुहुन्न भने मैले बैठकमै भनेको छु, ‘मन्त्री ज्यू, तपाई हटाइदिनुस्, उहाँलाई’ मैले उहाँकै अगाडि यसै भनेको छु। नछाडे कंसकारलाई बर्खास्त गर्नुपर्छ। २५ अर्ब रुपैयाँ नेपाली जनताको करबाट जम्मा भएको पैसा अपचलन गर्ने अधिकार कसैलाई पनि छैन। त्यस कारण कुनै पनि हालतमा त्यो पैसा कसले कति अपचलन गरेको छ त्यो छानविन गरेर राष्ट्रको खातामा जम्मा गर्नुपर्छ।

अब के हुन्छ, कंसाकारले राजीनामा दिनु होला कि मन्त्रीले बर्खास्त गर्नुहोला ?

अब सहज बाटो खोज्ने हो भने कंसाकारले राजीनामा दिनुपर्छ। उहाँ सहज बाटोबाट जान चाहनुहुन्न भने मन्त्रीज्यूले हटाउनु पर्छ। हटाउन मन्त्रीज्यूले पनि चाहनु भएन, सक्नु भएन अथवा कुनै कारणले रोकियो भने भोलि छानबिनका क्रममा उहाँको त्रुटी देखिन्छ। सार्वजनिक रुपमा भोलि उहाँलाई अप्ठ्यारो पर्छ। त्यो अवस्था सृजना हुनुभन्दा बेलैमा पदमुक्त भएर सहयोग गर्नुपर्छ। मैले उड्डयन प्राधिकरणका प्रमुख मदन खरेल पनि बैठकमा हुनुहुन्थ्यो।

मैले उहाँलाई पनि भनेको छु –खरेलजी तपाई केका लागि साक्षी बस्न आउनु भयो अध्यक्ष पदमा? यदि तपाई साँच्चै राम्रो काम गर्न आउनु भएको थियो भने तपाई आएपछि खै बिजनेस प्लान? दैनिक १८ घण्टा उड्नु पर्ने प्लेन ८ घण्टा उडिरहेको छ। दिनमा डेढ करोड रुपैयाँ नेपाल एयरलाइन्सले घाटा व्यहोरिरहेको छ। उड्ने ठाउँको पनि ठेगान छैन। नाफाको योजना नै छैन। खाली प्लेन ल्याएको छ प्लेन चल्दैन यो दुर्दशा रहन पाउँदैन। नेपाली जनताको पैसा हो यो। मलाई लाग्छ एक दिन न एक दिन दोषीहरु अदालतको कठघरामा उभिन्छन्।

अब लेखा समितिले के गर्छ ?

लेखा समिति एकदमै व्यवस्थित रुपमा अगाडि बढेको छ यो विषयमा। सबैभन्दा पहिले हामीले सुगतरत्न कंसाकार र मदन खरेललाई नै नेपाल एयरलाइन्सका जिम्मेवारहरुलाई बोलाएर कुराकानी गर्यौं। त्यसपछि हामीले तत्कालै मन्त्रालयका सचिव र सहसचिवलाई बोलाएर कुराकानी गर्यौं। त्यसपछि हामीले मन्त्रीलाई बोलाएर कुराकानी गर्यौं। त्यही बीचमा हामीले अर्को काम के गर्यौं भने सार्वजनिक खरिद कार्यालय जसले नेपाल सरकारको सम्पूर्ण खरिद कार्यलाई नियमन गर्नुपर्छ।

त्यो निकायलाई बोलाएर हामीले के भन्यौं भने नेपाल एयरलाइन्सले खरिद गरेका दुई वटा वाइडबडी विमान खरिद प्रक्रियामा कहीकतै ऐनको उल्लंघन भएको छ कि छैन? ऐनको प्रतिकुल हुनेगरी खरिद भएको छ कि छैन? यसबारेमा तपाईले अध्ययन गरेर हामीलाई रिपोर्ट दिनुहोस् भनेर हामीले सात दिनको म्याद दिएका छौं। त्यो रिपोर्ट आउँदैछ, त्यसले पनि हामीलाई छानबिनमा सहयोग गर्छ। त्यस हिसावले भन्नुपर्दा हामी एकदमै महत्वपूर्ण स्टेपमा प्रवेश गरेका छौं। बुधबारको बैठकमा पनि हामीले झण्डै ४० बुँदामा पर्यटन मन्त्रालयलाई र नेपाल एयरलाइन्सलाई प्रश्न गरेका छौं। अहिलेसम्म भएको सबै गतिविधिलाई राखेर हामीले प्रश्न गरेका छौं। त्यसको जवाफ पनि आउँछ, त्यसपछि हामी एउटा निर्णयमा पुग्छौं।

त्यो निर्णयले सम्भवतः अहिलेसम्मका दोषीहरुलाई कारबाही पनि गर्छ। त्यसपछि भविष्यमा यो प्रकारका खरिदमा कहीकतै कसैले पनि अपचलन गर्न नसकोस्। राष्ट्रको सम्पत्तिमा बदमासी गर्न नसकोस् भनेर हामी एउटा निष्कर्षमा पुग्छौं।

अहिलेसम्म के देखिन्छ पहिलेका मन्त्रीहरु पनि संलग्न देखिन्छ?

सुरुको नीतिगत निर्णय गर्दा जो सामेल हुनुहुन्थ्यो उहाँ त स्वाभाविक रुपमा पर्नुहुन्छ। मलाई ठ्याक्कै तिथिमिति याद भएन। यति धेरै मन्त्री र सचिव परिवर्तन भए, हिसाव राखेर साध्य पनि छैन। हामीले त्यो पनि झिकाएका छौं कुन मितिमा को मन्त्री थियो? मन्त्रालयको सचिव र नेपाल एयरलाइन्सको नेतृत्वमा को थियो? तिथिमितिसहित निकाल्दैछौं। जो होस्, हामीलाई केही आपत्ति छैन। हाम्रै पार्टीको पनि हुन सक्छ अरु पनि हुन सक्छन्। यसमा त्रुटी भएको छ भने जो सुकै भएपनि कारबाही गर्नुपर्छ।

प्रधानमन्त्रीले पहिले नै भन्नु भएको थियो, प्लेन ल्याएर पनि तपाईहरु उडाउन नसक्ने के हो तपाईहरुको तालभन्दा एक जनाले जवाफ दिनु भएछ यो ट्याक्सी होइन हजुर आउने बित्तिकै चलाउनलाई भनेर रुखो जवाफ दिएको पनि सुन्नमा आयो। मुलुकको समृद्धि  र विकासका लागि प्रधानमन्त्रीको असल नियत छ। तर त्यसलाई प्रतिकुल हुने व्यवहार तलबाट भएका छन्, त्यसलाई हामी कुनै पनि हालतमा छुट दिँदैनौं।

नेपाल एयरलाइन्सप्रति तपाईहरुको बुझाईचाहिँ के हो त अब?

नेपाल एयरलाइन्स पूरानो र नाम चलेको संस्था हो। तर, यो संस्थाले भनेजस्तो काम गर्न सकेन। यसले सेवा पनि दिन सकेन र व्यापार पनि गर्न सकेन। कुनै पनि कम्पनी भनेको नाफाका लागि खोलिन्छन्। कहिल्यै यसले नाफा गर्न सकेन। जहिल्यै पनि घाटामा हुन्छ। प्लेन उड्छ खाली उड्छ। दलालहरु त्यतिकै छ्यापछ्याप्ती छन्। यस्तो अवस्थामा अब नेपाल एयरलाइन्सलाई अर्को स्टाटेजिक पार्टनर खोजेर भएपनि बलियो रुपमा अगाडि बढाउनु पर्छ।

अब के हुन्छ त खरिद प्रकरणको विषय?

छानबिनबाट प्राप्त भएको विषयका आधारमा दोषीहरु देखिए भने कारबाही हुन्छ। यदि दोषीहरु देखिएनन् भने पनि आगामी दिनमा सही तरिकाले चलाउन मार्गदर्शन गर्ने काम संसदीय समितिले गर्छ। र, म यो पनि भन्छु कि वर्तमान संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रबिन्द्र अधिकारी देशले आशा गरेको नेता पनि हुनुहुन्छ।

उहाँले यस कुरामा दुर्नियत राख्नु भएको छैन भन्ने कुरामा म कन्मिन्स छु। तर, म एउटा आग्रह के गर्छु भने उहाँले यो छानबिनलाई पूर्णरुपमा सहयोग गर्नुपर्छ र आफू मातहतका कोही मान्छे संलग्न छन् भने तीनलाई बचाउने मेलोमा लाग्नु हुँदैन। हाम्रो छानबिन समितिले छानबिन गरेर जुन प्रतिवेदन ल्याउँछ त्यसलाई पूर्ण रुपमा कार्यान्वयन गर्न म सरकारलाई अग्रीम आग्रह पनि गर्न चाहन्छु।

मंसिर २०, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्