पुलचोकको मन्त्री निवास भैँसेपाटी सर्ने!

काठमाडौँ—सरकारले ललितपुरको पुल्चोकस्थित मन्त्रीनिवासलाई भैंसेपाटीमा सार्ने भएको छ। विशिष्ट पाहुनाका लागि मन्त्रीनिवासका भवनहरु प्रयोगमा ल्याउनु पर्ने भन्दै मन्त्रीहरुको निवास भैँसेपाटीमा व्यवस्था गर्ने निर्णयमा सरकार पुगेको हो।

गत मंसिर गत १७ गते सम्पन्न मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले बिहीबार आफ्नो मन्त्रालयमा पत्रकार सम्मेलन गरी जानकारी दिएका हुन्।

राष्ट्रियसभा अध्यक्ष, उपध्यक्ष, उपसभामुख तथा मन्त्रीहरुका लागि २७ वटा र प्रदेश प्रमुख तथा मुख्यमन्त्रीहरुका लागि १४ वटा अवास तथा सम्पर्क कार्यालय भवन  बनाउने निर्णयमा सरकार पुगेकाे हाे।

मन्त्री बास्कोटाका अनुसार सरकारले महाकवि लक्ष्मीप्रसाद देवकोटाको आवासलाई संग्रहालय बनाउने निर्णय गरेको छ।

महाकवि देवकोटाको आवास संरक्षण विहिन भएको भन्दै गुनासो आइरेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीको पूर्व घोषित कार्यक्रमअनुसार देवकोटा निवासलाई संग्रहालय बनाउने निर्णयमा सरकार पुगेको हो।

सरकारी निर्णयमा नेपाल र श्रीलंकाबीच संयुक्त हुलाक टिकट प्रकाशन गर्ने समझदारीपत्रमा हस्ताक्षर गर्ने परेको छ।

यस्तै विवादित संस्था युनिभर्सल पिस फेडेरेसनबाट प्रधानमन्त्री ओलीले प्राप्त गरेको एक लाख अमेरिकी डलर सहितको ‘लिडरसिप एन्ड गुड गभर्मेन्स’ अवार्डमा सोही बराबरको रकम थपेर राष्ट्रिय प्रतिभा पुरस्कार कोष स्थापना गर्ने निर्णयमा सरकार पुगेको छ।

यस्तै सरकारले स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकमा रमेशकुमार पोखरेललाई नियुक्त समेत गरेको छ।

मंसिर २०, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्