एशिया प्यासिफिक समिट विवाद

सञ्चारमन्त्री बास्कोटा फेरि खनिए मिडियामाथि

सञ्चारमन्त्री गोकुल बास्कोटा।

काठमाडौँ— विवादित एशिया प्यासिफिक समिटमा सरकारको सहभागितालाई लिएर व्यापक आलोचना भइरहेका बेला सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना मन्त्री गोकुल बास्कोटा सरकारको बचाउ गर्दै सञ्चारमाध्यमप्रति आक्रोशित बनेका छन्, तर पुरानै विषय र प्रसंगमा।

सरकारले देश र जनहितका लागि उपलब्धिमूलक काम गरे पनि सञ्चारमाध्यमले तथ्यलाई बंग्याएर एकोहोरो सरकारको खेदो खनिरहेको भन्दै सञ्चारमाध्यमको जवाफदेहीतामाथि उनले प्रश्न तेर्स्याएका छन्।

चार दिन पुरानो मन्त्रिपरिषद् बैठकका निर्णयहरु पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्ने क्रममा मन्त्री बास्कोटाले समिटमा सरकारको सहयोग, सहभागिता र प्रधानमन्त्रीका गतिविधिको बचाउ मात्रै गरेनन्, सरकार सञ्चारमाध्यमसँग पूर्वाहग्रही नभएको तर सञ्चारमाध्यम फरक मिसन बनाएर सरकारको आलोचनामा उत्रिएको बताए।

‘हाम्रै बुद्धधर्मको चर्चा भयो, हिन्दु संस्कारको पनि। त्यो कुरा नलेखेर सरकारको खेदो र खैरो मात्रै किन खनेको हो, बुझ्न सकिएन। भक्तमान प्रकरण जस्तो नहोस्। यसले आफैँलाई लज्जित गराउनु पर्ने हो। मिडिया पनि जवाफदेहीता हुनु पर्छ,’ उनले भने, ‘मिडिया पनि जनताको सम्पत्ति भएको हुँदा सुसूचित हुन पाउने हक उनीहरुको हुन्छ। मिसन नै अर्को बनाउनु भएको छ भने त के गर्नू। त्यसमा पनि विभाजन छ । कुनै मिडियाले गज्जव भनेर फोटो छाप्छ कसैले त्यसैलाई छुटाउँछ।’

गिरिजाप्रसाद कोइराला र कृष्णप्रसाद भट्टराई लिँदा विवादित नबनेको पुरस्कार प्रधानमन्त्री केपी शर्मा ओलीले लिँदा किन विवाद भन्ने प्रश्न मन्त्री बास्कोटाले गरेका थिए।

‘त्यही पुरस्कार लिन जाँदा गिरिजाबाबु शान्तिका दूत भेटिनु भयो । तर केपी ओली जाँदा मानौ अपराधी गए जस्तो व्यवहार पनि त गरिएको छ। यो दृष्टिकोणको कुरा हो। कसैकसैले निहुँ नपाएपछि यस्तो गरेका छन्’, उनले भने।

मन्त्री बास्कोटाले सरकारबाट काम हुँदै गरेको भएपनि कति समयमा आशा गरेको भन्ने कुरा निश्चित नभएको बताए। नेपाल धर्मनिरपेक्ष राज्य भएको र धार्मिक स्वतन्त्रताको सबैले रक्षा गर्नु पर्ने भनाई राखेका मन्त्री बास्कोटाले समिट आयोजना गर्ने अधिकार आयोजकलाई रहेको र त्यसमा सरकारले आफ्नो देशको हितमा सहयोग गरेको उनले दावी गरे।

‘पाकिस्तानी पूर्व प्रधानमन्त्री युसुफ राजा गिलानी कुन धर्मका हुन्? उहाँ यही सम्मेलनमा भेटिनु भएको होला ? त्यसैले जसलाई जे लहड चल्छ त्यो गर्न त भयो तर सरकारले राम्रो मात्रै काम गर्ने छ,’ मन्त्री बास्कोटाले भने। बास्कोटाले बिहीबार पनि अघिल्लो साता जस्तै निर्मला पन्तका हत्याराको खोजीमा सरकारले कुनै कसुर बाँकी नराखेको जिकीर गरे ।

यसअघि प्रधानमन्त्री ओलीले एक टेलिभिजन कार्यक्रम ‘जनतासँग प्रधानमन्त्री’ मा आलोचना गर्ने वुद्धिजीवीहरुलाई जवाफ दिनु प¥यो थला पर्ने संभावना रहन्छ भन्ने प्रतिक्रिया दिएका थिए। प्रधानमन्त्रीको उक्त अभिव्यक्ति पनि विवादित बनेपछि मन्त्री बास्कोटाले त्यसको पनि बचाउन गरेका छन्। ‘प्रधानमन्त्रीज्यूले थला पार्छु भनेको होइन, तथ्यमा उभिएर बहस गरौं भन्नुभएको हो। सबैले तथ्यमा उभिएर तर्क गरौं,’ उनले भने ।

मंसिर २०, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्