निर्मलाका बुवा यज्ञराज के गर्दैछन् अस्पतालमा? ताजा तस्बिरहरु

महाराजगञ्जस्थित टिचिङ अस्पतालमा बिहीबार यज्ञराज पन्त। तस्बिरहरु: बर्षा शाह

काठमाडौं- बलात्कारपछि हत्या भएकी १३ वर्षकी बालिका निर्मला पन्तका लागि न्याय माग्दै  देशभर प्रदर्शन भइ नै रहेको छ।

उनको बलात्कारपछि हत्या भएको बिहीबार चार महिना दश दिन भइसकेको छ। तर धेरै कारण र कुराले गर्दा न हत्यारा पत्ता लागेको छ, न त समातेका मध्य हत्यारा हुन् भनेर निर्मलाका बाबु,आमा वा अन्य कोही विश्वास मान्न नै तयार भएका छन्।

विश्वास नहुनुमा पनि प्रहरीको सुरुवातको अनुसन्धानको कार्य नै हो। प्रदर्शनको रुप धेरै भए उग्रदेखि सांकेतिक सम्म। तर, परिणाम केही हासिल भएन। त्यसपछि सुरु भयो अनशन।

त्यही क्रममा निर्मलाका बाबु यज्ञराज पन्तको मानसिक सन्तुलन सामान्य नभएको खबर सार्वजनिक भयो।

यज्ञराजलाई मंसिर ८ गते उपचारका लागि काठमाडौँ ल्याइयो। जहाजले उडाउन नमानेपछि उनलाई सडक मार्गबाट बेहोस पारेर काठमाडौँ ल्याउनुपर्‍यो।

उनलाई महाराजगञ्जस्थित टिचिङ अस्पतालमा ल्याएर उपचार गर्ने थालेको बिहीबार १२ दिन भइसकेको छ।

उनको उपचार अस्पतालमा भइरहेको छ भने बाहिर निर्मलाका लागि न्याय माग्दै पोस्ट टाँस्नेदेखि प्रदर्शन गर्नेसम्मको अभियान चलि नै रहेको छ।

बिहिबार दिउँसो उनलाई भेट्न महाराजगञ्ज स्थित शिक्षण अस्पतालमा पुग्दा उनी घाम तापिरहेका थिए।

केही बेरको बसाइपछि उनलाई नमस्ते गरेर आफूले फोन गरेको भन्दा उनले सम्झँदै भने, ‘मलाई हजुर हो कि भन्ने त लागेको थियो।’

उनले आफूसँग भएकी दिदीलाई मेरी दिदी भन्दै चिनाए। उनलाई भेट्न उनकी दिदी आएकी रहेछिन्। उनले भने, ‘निर्मलाको पीडा त छ, तर आन्दोलनमा गोली लागेका छिमेकीको बच्चा सम्झँदा मलाई अहिले केही गाह्रो भएको र धड्कन बढेको महसुस भएको छ।

‘निर्मलाले कहिले न्याय पाउलिन् भन्ने एउटै चिन्ता उनीमा छ। निर्मलाकी आमा दुर्गादेवी भने घर कञ्चनपुर फर्किसकेकी छन्। यज्ञराजले भने, ‘बच्चालाई अपहरण गरेर मारेको समाचार आएको अर्को दिन नै उनी घर गइन्। घरमा छोरीहरु छन्। उनीहरुको छुटै चिन्ता छ।

‘उनलाई कहिलेकाहिँ आफू मर्छु कि जस्तो पनि लाग्ने बताए। उनलाई हिजोआज बढी भोक लागेको अनुभव हुने गरेको छ। यस्ता किसिमका बिरामीलाई चलाइने औषधीको प्रभावले पनि भोक लाग्ने गरेको एक डाक्टर बताउँछन् ।

कुरा गर्दै गर्दा उनका फुपुका छोरा ईश्वर आइपुगे। अहिले यज्ञराजसँग ईश्वर र यज्ञराजका भिनाजु छन्। उनीहरुले नै उनको हेरविचार गरिरहेका छन्।

स्वास्थ्य ठीकै भए पनि निर्मलाको कुरा गर्नासाथ उनलाई गाह्रो हुनथाल्छ। बुधबार चस्मा लगाएकी एक नर्सलाई यज्ञराजले ‘निर्मला’ भन्दै रुन थाले।

यद्यपि उनी सामान्य छन्। करिब दुई घन्टा बसाइका क्रममा पनि उनी सामान्य नै देखिएका थिए।

उनका केही ताजा तस्बिरहरु:

मंसिर २०, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्