सारेगमकी टप–११ मेनुका भन्छिन्, ‘अब अर्को सिजनको तयारीमा जुट्छु’

गायिका मेनुका पौडेल।

झापा – नेपाल प्रदेशको पूर्वीद्वार काँकरभिट्टाबाट हल्दिबारी–४ स्थित आफ्नो घर फर्किंदै गर्दा बिहीबार प्रतिभावान् गायिका मेनुका पौडेल निकै उत्साहित देखिन्थिन्।

नेपाल र भारतका लाखौँ प्रतियोगीहरुलाई पछि पार्दै उत्कृष्ट ११ मा पुगेकी मेनुका खुशी पनि थिइन्। तर, प्रतिष्पर्धामा अझै अगाडि जान चाहेको उनको भाव पनि प्रस्तुत भएको थियो।

‘मैले अब पढाईलाई अघि बढाउनु छ, अनि अर्को वर्षको सारेगमको सिजनको तयारीमा पनि लाग्नुछ,’ मेनुकाले काँकरभिट्टामा देश सञ्चारसँग भनिन्, ‘अर्को वर्षको प्रतिष्पर्धामा भिड्ने योजनाका साथ अघि बढ्दै छु।’

मेनुकाले भारतीय टेलिभिजन रियालिटी सो ‘सारेगम’मा पहिलोदेखि अन्तिमसम्म नै उत्कृष्ट प्रस्तुति दिएको बताइन्। आफूले मेहनत गरेको उल्लेख गर्दै उनले निर्णायक मण्डलका सबैबाट राम्रो प्रतिक्रिया पाएको बताइन्।

यसैबीच, बिहीबार झापाको काँकरभिट्टा आइपुगेकी मेनुकालाई नगरबासीहरुले स्वागत गरेका छन्। मेचीनगर–६ का वडाध्यक्ष ललित तामाङ, १० का वडाध्यक्ष सुवेश पनेरु, कृष्ण कनाल, प्रदीप अधिकारी लगायतको अगुवाईमा काँकरभिट्टामा मेनुकालाई स्वागत गरिएको हो।

मंसिर २०, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्