करेन्ट लगाएर माछा मार्दा पक्राउ परेका ६ जना जरिवाना तिरेर छुटे

दाङ – करेन्ट लगाएर माछा मार्ने ६ जनालाई प्रतिव्यक्ति चार हजारको दरले जरिवाना गरेर छाडिएको छ। वडा प्रहरी कार्यालय लमहीले ६ जना व्यक्तिलाई राप्ती नदीमा करेन्ट लगाएर माछा मार्दै गरेको अवस्थामा पक्राउ गरेको थियो।

प्रहरीले जलचर ऐन–२०१७ अनुसार कारबाही गर्न जिल्ला प्रशासन कार्यालयमा पठाएको थियो। लमही नगरपालिका वडा नम्बर–६ ढिकपुर निवासी तीन महिला र तीन पुरुषलाई करेन्ट लगाएर माछा मार्दै गरेको अवस्थामा पक्राउ गरिएको थियो।

उनीहरुलाई जलचर संरक्षण ऐन अन्तर्गत मुद्दा चलाइएको र जिल्ला प्रशासन कार्यालय दाङबाट जनही ४ हजारका दरले जरिवाना तिरेर रिहा गरिएको वडा प्रहरी कार्यालय लमहीका प्रमुख अरुणकुमार सिंहले जानकारी दिए।

ढिकपुर निवासी सुन्दरप्रसाद चौधरी, चन्द्रदेव चौधरी, रामप्रसाद चौधरी, रेखा चौधरी, गीता चौधरी र मायावती चौधरी पक्राउ परेका थिए।

मंसिर २०, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्