चिसो बढ्यो

मौसमविद भन्छन्, ‘न्यूनतम तापक्रम आज पनि घट्छ’

काठमाडौँ – काठमाडौँ उपत्यकासहित देशभरको तापक्रम घट्दो क्रममा रहेकोले चिसो अझै बढ्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

काठमाडौँ उपत्यकामा शुक्रबार बिहान ६ बजेको न्यूनतम तापक्रम ५.८ डिग्री मापन भएकोमा यो अझै घट्न सक्ने अनुमान मौसमविदले गरेका छन् । मौसमविद विभूति पोखरेलले बिहिबारको जस्तै शुक्रबार पनि न्यूनतम तापक्रम घट्ने जानकारी दिइन् ।

बिहीबार बिहान यो वर्षकै कम तापक्रम ५.५ डिग्री सेल्सियस मापन भएको थियो । मौसमविद पोखरेलले दिउँसो पनि अधिकतम तापक्रम घट्दै गएकाले चिसो बढी महसुस हुने बताइन् ।

शुक्रबार दिउँसो काठमाडौँको अधिकतम तापक्रम १८ देखि २० डिग्रीसम्म पुग्ने अनुमान गरिएको छ । गएको वर्ष जाडोको बेला केही दिन काठमाडौँ उपत्यकाको तापक्रम न्युनतम शून्य डिग्री रहेकाले यो वर्ष पनि यस्तै अवस्था आउन सक्ने मौसमविदले बताएका छन् ।

काठमाडौँ उपत्यकाको तापक्रम न्युनतममा माइनस तीन डिग्रीसम्म पुगेको इतिहास पनि रहेको छ ।

शुक्रबार देशका पूर्वी पहाडी क्षेत्रका केही भूभागमा आंशिक बदली रहने, उच्च पहाडी भूभागमा सामान्य हिमपात हुन सक्ने तर पानी पर्ने सम्भावना भने नरहेको मौसमविदले बताएका छन् ।

मंसिर २१, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्