भारतीय रुपैयाँको मात्रै कारोबार हुने नरैनापुरमा अब गाउँकै बैंकबाट भत्ता

नेपालगञ्ज – बाँकेको कर्णाली भनेर चिनिने नरैनापुरका जेष्ठ नागरिकले स्थानीय बैंकबाटै सामाजिक सुरक्षा भत्ता लिन सुरु गरेका छन् ।

‘एक गाउँपालिका, एक बैंक’ को नीति अनुरुप गाउँपालिकामै बैंक पुगेपछि त्यहीबाट जेष्ठ नागरिकले सामाजिक सुरक्षा भत्ता बुझ्न सुरु गरेका हुन् । गाउँपालिकाका प्रमुख मोहम्मद इस्तियाक अहमद साहले कटकुइयाका ८६ वर्षीय अस्ताफा खाँलाई चेक दिएर गाउँकै बैंकमार्फत सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरेका छन् ।

नरैनापुरमा सनराइज बैंक पुगेको छ । बाटो, विजुली बत्ती, इन्टरनेटको सुविधा नरहेकाले नरैनापुरमा बैंक पुगेका थिएनन् । यो समस्या त अहिले पनि छदैछ ।

गाउँपालिकाका २ हजार ७ सय ९० जनाले सनराइज बैंकमा खाता खोलेपछि बैंकमार्फत् भत्ता वितरणको काम सम्भव भएको प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेतले बताए । पहिलो चौमासिकमा १ करोड ५४ लाख रुपैयाँ वितरण गरिने बस्नेतले जानकारी दिए ।
पहिलो चेक बुझेका बृद्ध खाँले स्थानीय बैंकबाट नै पैसा पाउने भएपछि सजिलो हुने प्रतिक्रिया दिए ।

भत्ता वितरण एक सातासम्म चल्नेछ । ‘विद्युत, इन्टरनेट नभएको ठाउँ, त्यसमा पनि लेखपढ गर्न जान्ने मान्छे नगण्य भएको ठाउँमा हामीले निकै कसरत गरेर बैंकमार्फत् सामाजिक सुरक्षा भत्ता वितरणको काम सम्भव बनाएका छौं, अध्यक्ष साहले थपे, ‘यो काममा सहयोग पु¥याउने स्थानीय, कर्मचारी, बैंक, जनप्रतिनिधि सबैलाई धन्यबाद दिन्छौं ।’

नरैनापुरमा भारतीय रुपैयाँकै कारोबार हुन्छ । सीमावर्ती गाउँको सबै कारोबार भारतीय बजारमा हुने भएकाले स्थानीय भारतीय पैसा नै चलाउँछन् । गाउँमा बैंक पुगेपछि त्यसमा केही सुधार आएको छ । आफन्तीहरुले बाहिरबाट पठाएको पैसा बैंकमार्फत जान थालेको छ ।

मंसिर २१, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्