भारतीय कांग्रेसको माग- ८ नेपालीसहित ९ युवती बेपत्ता प्रकरणमा उच्चस्तरीय जाँच होस्

नयाँ दिल्ली– भारतीय राष्ट्रिय कांग्रेस पार्टीले राजधानी दिल्लीस्थित दिलशाद गार्डेनमा सञ्चालित संस्कार आश्रमबाट ८ जना नेपालीसहित ९ युवती बेपत्ता प्रकरणको अनुसन्धानका लागि उच्चस्तरीय समितिबाट हुनुपर्ने माग गरेको छ।
दिल्ली प्रदेश महिला कांग्रेसकी अध्यक्ष शर्मिष्ठा मुखर्जीले ८ जना नेपाली र एक बिहारकी युवतीको बेपत्ता भएको विषय गम्भीर रहेको उल्लेख गर्दै उच्चस्तरीय छानबिन समिति गठनको माग गरेकी हुन्।
दिल्ली सरकार अन्तरगतको संस्कार आश्रमबाट उद्दार गरेर राखिएका ९ युवती बेपत्ता हुनु अस्वाभाविक र गम्भीर रहेको बताउँदै मुखर्जीले जसको सम्पूर्ण जिम्मेवारी दिल्ली सरकारले लिनुपर्ने बताएकी छिन्।

मुखर्जीले दिल्लीमा महिलामाथि भइरहेको हिंसा तत्काल रोक्न माग गर्दै ९ जना युवतीको खोजी गरेर सार्वजनिक नगरेसम्म सडक आन्दोलन जारी राख्ने प्रष्ट पारेकी छिन्।
साथै दिल्ली प्रदेश महिला कांग्रेसले दिल्लीका उपमुख्यमन्त्री मनिष सिसोदियाको राजीनामा माग गर्दै प्रदर्शन गरेको छ। दिल्ली सरकारको महिला तथा बाल विकास मन्त्रालय सिसोदियाकै मातहतमा आउँछ।
बिहार राज्यकी एउटी र नेपालका ८ युवती गत १ डिसेम्बरको रातबाट दिल्लीको दिलशाद गार्डेनस्थित संस्कार आश्रमबाट बेपत्ता भएका हुन्।
बेपत्ता भएका नेपाली किशोरीहरुमा १८ देखि २२ वर्षसम्मका रहेका छन्। उनीहरु ३ जना नुवाकोटकी, २ जना काभ्रेका, तेह्रथुम, मकवानपुर र सिन्धुपाल्चोकका १–१ जना रहेका छन्।
नयाँ दिल्लीस्थित नेपाली राजदूताबासले नेपाली युवतीको घरफिर्ती प्रक्रिया र संरक्षणका लागि तदारुकता नदेखाउँदा ८ जना युवती बेपत्ता भएका हुन्।
बेपत्ता ९ युवतीको खोजी गर्न माग राखेर बिहीबार सुरु भएको आन्दोलनलाई विभिन्न राजनीतिक दल र संघ–संस्थाले शुक्रबार पनि निरन्तरता दिएका छन्।