नेपाली विद्यार्थीको सिड्नीमा निधन

सिड्‍नी- मोरङको मिक्लाजुङ गाउँपालिका–७ घर भई हाल सिड्नीमा अध्ययन गरिरहेका नेपाली विद्यार्थी मिलन तामाङको मष्तिष्कघातका कारण बुधबार निधन भएको छ।

२० वर्षीय तामाङको सिड्नी, वेष्टमिडस्थित वेष्टमिड अस्पतालमा उपचारका क्रममा निधन भएको थियो। उनी तीन महिना पहिले अध्ययनको शिलशिलामा सिड्नी आएका थिए।

वेष्टमिड अस्पतालमा रहेको उनको शवलाई आफन्तजनको आग्रहअनुसार नेपालमैँ लैजाने प्रयत्न भए पनि केही कानुनी तथा आर्थिक समस्याका कारण लैजान कठिनाइ भएको बुझिएको छ। उनको शवलाई नेपालमैँ लैजानका लागि अस्ट्रेलियाका केही संघ÷संस्थाहरूले रकम संकलन गर्ने अभियान शुरु गरिसकेका छन् ।

नेपालस्थित उनका आफन्तसँग समन्वय गरेर आर्थिक संकलन अभियान अगाडि बढाएको तामाङ सोसाइटी अफ न्यूसाउथवेल्सले एक विज्ञप्तिमार्फत् जनाएको छ।

देशसञ्चारसँग कुरा गर्दै सोसाइटीका निवर्तमान अध्यक्ष तथा सल्लाहकार दिल तामाङले सिड्नीमा रहेका अन्य केही संस्थाहरूले पनि आर्थिक संकलन अभियान शुरु गरेको तथा त्यहाँबाट उठेको रकमलाई पनि तामाङ सोसाइटी अफ न्यूसाउथवेल्समार्फत् नै शव नेपाल पठाउनका लागि उपयोग गरिने बताए।

यसका अलावा एनआरएनए सोसल वेलफेयर फण्डबाट पनि केही आर्थिक सहयोग प्राप्त हुने प्रतिवद्धता आइसकेको जानकारी तामाङले दिए।

विज्ञप्तिमा सहयोगी मनहरूले निम्नलिखित बैंक खातामा रकम जम्मा गर्न सकिने बताइएको छ।

मंसिर २१, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्