संघर्ष समितिको प्रष्टोक्ति

सडक ८ मिटर बनाए सहमत, १० मिटर बनाउन खोजे आन्दोलन

नेपालगञ्ज – नेपालगञ्जको घरबारीटोलका बासिन्दा नालीसहित आठ मिटरको सडक बनाउन राजी भएका छन्। वडा कार्यालयले दश मिटरको सडक बनाउन कसरत गरिरहेका बेला स्थानीय घरधनीहरुले ७ मिटरको बाटो र ५०–५० सेन्टीमिटरको नाली बनाउन सहमति जनाएका हुन्।

महेन्द्रकुमार रुपाखेतीको संयोजकत्वमा नौ सदस्यीय संघर्ष समिति गठन गरिसकेका स्थानीय घरधनीले दश मिटरको सडक बनाउदा धेरैको उठीबास लाग्ने बताएको छ।

‘हामी विकास विरोधी होइनौँ, विकासका नाममा कसैलाई उठीबास नै लगाउनु पनि हुँदैन,’ संघर्ष समितिका संयोजक रुपाखेतीले भने, ‘नालीसहित आठ मिटरको सडक बनाउदा विकास पनि हुन्छ। धेरै नोक्सानी हुँदैन।’

धम्बोझीदेखि त्रिवेणीमोडसम्ममा करिब दुई सय घरहरु छन्। स्थानीयले गठन गरेको संघर्ष समितिमा एक सय ५ जनाले उपस्थिति जनाएका छन्। ‘वडा कार्यालयले हामीलाई विस्थापित गर्ने नीति लिएको छ, हामीले त्यसलाई मान्दैनौँ,’ रुपाखेतीले भने, ‘वडा कार्यालयले मंसिर १३ गते सडक विस्तारका लागि र्‍याली निकाल्यो। त्यसमा कोही स्थानीय बासिन्दा देख्नुभो?’

वडा कार्यालयले मेयर, उपमेयरको उपस्थितिमा त्यसदिन सडक विस्तारका लागि सचेतना र्‍याली निकालेको थियो। धम्बोझीचोकदेखि भुरे स्कूलसम्म आठ मिटर हाराहारीमै सडक छ। त्यसपछि त्रिवेणीमोडसम्म नै चारदेखि ६ मिटरको सडक छ।

वडा कार्यालयले दश मिटरको सडक बनाउदा धेरै जनाको उठीबास नै लाग्ने संघर्ष समितिले जनाएको छ। वडाध्यक्ष सुनिलसिंह हमालले नेपालगञ्ज उपमहानगरपालिकाले १२ मिटरको सडक बनाउने नीति बनाएको भएपनि आफूले घरबारीटोलमा धेरै नोक्सान हुने भएकाले दश मिटर कायम गराउन लागि परेको बताए।

संघर्ष समितिको शुक्रबार बसेको बैठकले दुई बुँदे निर्णय गरेको छ। सात मिटर सडक र ५०–५० सेन्टीमिटर नाली बनाउने र सडक विस्तारका क्रममा मठमन्दिरका संरचनाहरु नभत्काउने निर्णय गरेको छ। सडक विस्तारका क्रममा त्यहाँ पर्ने रामजानकी, राधाकृष्ण, काली मन्दिरलाई असर पर्न सक्छ। स्थानीय बासिन्दाले त्यी संरचनालाई भत्काउन नदिने जनाएका छन्।

नेपालगञ्जको घरबारीटोल पुरानो बजार हो। यो नेपालगञ्जको मुटुमा पर्छ। सडक फराकिलो बनाएर बजारलाई व्यवस्थित गर्दा त्यहीकै मानिसको आम्दानी बढ्ने एकथरीको भनाइ रहँदै आएको छ।

नेपालगञ्जमा एशियाली विकास बैंक (एडिबी)ले बनाइरहेका संरचनाहरु ‘पावरवाला’ मान्छेले आफूखुशी मापदण्ड सिर्जना गरिदिएका उदाहरणहरु छन्। एडिबीले अवरोधका बीचमा काम गर्दैन। कतिपय मानिसहरु विगतमा घर अगाडि नाली बनाउन नदिएर अहिले पछुताएका छन्।

मंसिर २१, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्