बाँकेका जनप्रतिनिधिको गाडी मोह

कोही स्कोर्पियो गाडी फेरीफेरी चढ्छन्, कोही एउटै मोटरसाइकलमा सन्तुष्ट

बैजनाथ गाउँपालिकाका अध्यक्ष मानबहादुर रुचाल। र, उपमहानगरपालिकाको गाडी।

नेपालगञ्ज – बाँकेको राप्तीसोनारी गाउँपालिकामा गाडीको विषयलाई लिएर लामो समयसम्म अध्यक्ष र उपाध्यक्षका बीचमा बोलचाल नै बन्द भयो। भाडामा लिएको एउटा सवारीसाधनलाई अध्यक्षले मात्रै प्रयोग गरेपछि विवाद भएको थियो।

अध्यक्ष र उपाध्यक्षको एक अर्कालाई देख्ने बित्तिकै ‘मुन्टो बटार्ने’ अवस्थाले काम कारबाहीमा असर पर्यो। जबकी दुवै जना एउटै पार्टीबाट निर्वाचित भएका थिए। अति नै भएपछि गाउँपालिकाले अर्को गाडी पनि भाडामा ल्याइयो। जेठदेखि त्यहाँ दुई वटा गाडी भाडामा चलेका छन्। अध्यक्ष र उपाध्यक्षले एक–एक वटा गाडी चढेका छन्।

त्यहाँ अझ रमाइलो त के भएको छ भने भर्खरै गाउँपालिकाले एउटा नयाँ गाडी किनेको छ। त्यो नयाँ गाडी चढ्नका लागि न अध्यक्षले मानेका छन्, न त उपाध्यक्षले नै। दुवै जना भाडाकै गाडी चढ्ने अडानमा छन्।

अध्यक्ष र उपाध्यक्षलाई किन भाडाकै गाडी प्यारो? स्रोतले भन्यो, ‘गाउँपालिकाले किनेको गाडीमा सरकारी नम्बर प्लेट लाग्छ, त्यो गाडी बिदाको दिन, आफ्नो निजी काम (कार्यक्रमहरु) मा लिएर जान पाइँदैन। भाडाको गाडी त जतासुकै लैजान पाइने भएकाले अध्यक्ष र उपाध्यक्ष दुवैले भाडाकै गाडी रोजेका छन्।’

कहिले गाडी नभएर झगडा त कहिले नयाँ गाडी आएपनि नचढ्ने अडान। यी दुवै घटनाले राप्तीसोनारी गाउँपालिका चर्चामा रहेको छ। अब तीन वटा गाडी त राख्न सकिँदैन। भाडाको एउटा त फिर्ता गर्नैपर्छ।

स्रोतले भन्यो, ‘अध्यक्ष र उपाध्यक्षले मिलाउनु होला। एउटा गाडी भाडामा लिँदा मासिक एक लाख २५ हजार रुपैयाँभन्दा बढी खर्च हुने गरेको छ।’

राप्तीसोनारीमा गाडीको चाङ लागिरहँदा बैजनाथ गाउँपालिकामा गाडीको सुरसार नै छैन। गाउँपालिकाका प्रमुख मानबहादुर रुचाल नै निजी मोटरसाइकल चढ्छन्। विकास गर्ने पैसाले गाडी किनेर नचढ्ने अडानमा छन्, रुचाल।

भे४प ७६२७ नम्बरको निजी मोटरसाइकल नै चढेर रुचालले गाउँपालिकाको काम गरिरहेका छन्। अध्यक्षले नै निजी मोटरसाइकल चढेर हिँडेपछि अरुका लागि गाडी या मोटरसाइकल खरिद गर्ने प्रश्न पनि आएन। अहिले आएर बैजनाथले वडासचिवसम्मलाई मोटरसाइकल दिने कि भन्ने सोच बनाएको छ।

खजुरा गाउँपालिकाले पनि गाडी खरिद गरेको छैन। न त वडाध्यक्षलाई मोटरसाइकल नै दिएको छ। गाडी किन्ने निर्णय गरेर पनि गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपति पछि हटेका थिए। वडाध्यक्षहरुलाई मोटरसाइकल खरिदका लागि छुट्याइएको ३० लाख रुपैयाँ पनि प्राविधिक शिक्षालय स्थापनाका लागि दिइएको छ।

नेपालगञ्ज उपमहानगरपालिका र कोहलपुर नगरपालिकामा आफ्नै गाडी छन्। मेयरलाई कुन चाहिँ गाडी चढ्ने रोजीछाडी नै छ। नेपालगञ्ज उपहानगरपालिकालाई एक विदेशी दाताले जाँदाजाँदै भर्खरै बिजुलीबाट चल्ने सानो गाडी दिएको छ। मेयर धवलशमशेर राणा बजारभित्र त्यही गाडीमा देखिने गरेका छन्। यो गाडी वातावरणमैत्री छ।

डुडुवा, नरैनापुर, जानकी गाउँपालिकाका प्रमुख पनि भाडामा लिएको स्कोपियो चढ्छन्। जिल्लाका आठमध्ये धेरैजसो स्थानीय तहले वडाध्यक्षलाई मोटरसाइकल दिएका छन्। गाउँपालिकामा एउटा गाडी त आवश्यक नै पर्ने सम्बद्धहरु बताउँछन्।

मंसिर २१, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्