चक्लाबन्दी गरेर मकैको बिउ उत्पादन

दाङ– दाङमा पहिलो पटक जग्गा चक्लाबन्दी गरेर मकै खेती गरिएको छ । टुक्रा टुक्रा परेको जमिनलाई एकीकृत गरेर जिल्लाको राजपुर गाउँपालिका वडा नम्बर १ रसरी खोलामा दश विद्या जमिन चक्लाबन्दी गरेर मकै खेती गरिएको प्रधानमन्त्री कृषी आधुनिकिकरण परियोजना मकै सुपरजोनका प्रमुख महेश रेग्मीले जानकारी दिए ।

२० हेक्टर जमिन चक्लाबन्दी गरेर मकै खेती गर्ने लक्ष्य राखिएको छ । हिउँदे र बसन्ते मकै खेती गर्न जग्गा चक्लाबन्दी गर्न परियोजनाले सहयोग गरेको हो ।

रसरी खोलामा चक्लाबन्दी गरेर रामपुर म्पोजिट जातको मकैको बिउ उत्पादन थालिएको छ । राजपुर गाउँपालिका वडा नं. २ मटेरीयामा रहेको सूर्याेदय कृषक बहुउद्देश्यीय सहकारी संस्थासँग सहकार्य गरेर चक्लाबन्दी कार्यक्रम अघि सारिएको प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना मकै सुपरजोनका कृषि अधिकृत पिताम्बर बस्नेतले जानकारी दिए ।

‘जग्गा टुक्राटुक्रा हुँदा यान्त्रीकरणमा जान पनि सकिदैँन् । थोरै जग्गा, साना गहरा हुँदा ट्याक्टरले जोत्न समेत नसकिने हुँदा यसबाट मुनाफा लिन सकिदैँन् । त्यही भएर जग्गा चक्लाबन्दी गर्दा खन जोत गर्न पनि सजिलो र कम लागतमा धेरै उत्पादन गर्न सकिन्छ’ कृषि अधिकृत बस्नेतले भने–‘सहकारी मार्फत समुदायमा जाँदा चक्लाबन्दी कार्यक्रम सफल पार्न सकिन्छ । यसको उदाहरण सूर्याेदय कृषक सहकारीले संस्था बनेको छ ।’

मकै खेती यान्त्रिकरण गरेर उत्पादन लागत घटाउने उद्देश्यले चक्लाबन्दी कार्यक्रम गरिएको छ ।‘मकैको बिउ उत्पादन कार्यक्रम विगतमा पनी थियो । अहिले प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनासँग सहकार्य हुँदा यान्त्रीकरणमा सहज भयो’सूर्याेदय कृषक बहुउद्देश्यीय सहकारी संस्था मटेरीयाका व्यवस्थापक प्रेम न्यौपानले भने–‘मकै खेती गर्न चाहिने कृषि औजारहरु सहकारीले अनुदानमा प्राप्त गरेको छ । किसानहरुलाई सहुलियत दरमा भाडामा दिन्छौं ।’

सहकारी संस्थालाई ५० प्रतिशत अनुदानमा कृिष यन्त्र उपलब्ध गराइएको छ । ६० हर्ष पावरको ट्याक्टर, मल्टिक्रप सिड ड्रिल (ठुलो ट्याक्टरमा जोड्ने), मकै खोसल्ने र छोडाउने मेसिन, ज्याब प्लान्टर मकै छर्ने हाते मेसिन, मकै गोड्ने मेसिन, चिस्यान मापक यन्त्र, सिपर, रोटाभेटर अनुदानमा उपलब्ध गराइएको छ । यस वर्षदेखि गढवा र राजपुर गाउँपालिकामा प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना मकै सुपरजोनले आफ्नो कार्यक्रम विस्तार गरेको हो । १३ हेक्टर जमिनमा हिउँदे मकै खेती गरिएको छ ।

मंसिर २२, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्