नृशंस कृत्य

रुपन्देहीमा पाँच वर्षीय बालिकामाथि सामूहिक बलात्कार, ६ जना पक्राउ

काठमाडौँ – रुपन्देहीको देवदहमा पाँच वर्षीय बालिकामाथि शुक्रबारराति सामूहिक बलात्कार भएको छ । देवदह नगरपालिका–५ पानबारी नजिकै स्थानीय पाँच वर्षीय बालिकामाथि सामूहिक बलात्कार भएको हो । बालिका बलात्कार गरेको आशङ्कामा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।

पक्राउ परेका ६ जना मध्ये देवदह ७ का १८ वर्षीय जीवन खत्री बलात्कारमा संलग्न रहेको पुष्टि भएको र अन्यको संलग्नताबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक ऋषिराम घर्तीमगरले जानकारी दिए ।

पीडित बालिकाको यौनाङ्गबाट रगत बगिरहेको अवस्थामा उनलाई उपचारका लागि लुम्बिनी अञ्चल अस्पतालमा भर्ना गरिएको छ । अस्पतालमा बालिकाको स्वास्थ्य परिक्षण भइरहेको छ ।
बालिका बेलुका घरमा नदेखेपछि बाजेले खोज्दै जाँदा केही पर पक्राउ परेका युवकसँगै चिच्याइरहेको अवस्थामा फेला परेकी थिइन् ।

पीडित बालिकाकी आमा माइतीमा सुत्केरी बस्न गएकी र बाबुसमेत सुत्केरी श्रीमती भेट्न गएको अवस्थामा घरमा वृद्ध बाजेबजैसँग रहेकी बालिकामाथि घटना भएको हो ।

मंसिर २२, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्